चारवर्षे संविधानसभाको अन्तिम बैठकमा सहभागी हुन आइतबार बिहान ११ बजे नयाँ बानेश्वरमा जम्मा भएका सभासद ठीक १२ घन्टापछि राति ११ बजे त्यहीँ खाना खाँदै थिए। अब होला कि तब होला भनेको संविधानसभा बैठक सधैंका लागि नहुने निश्चित भइसकेको थियो।
केही बेरमै संविधानसभाको आयु सकिँदै थियो र आफ्नै पद गुम्न लागेका सभासदहरू अन्तिम भोज खाइरहेका थिए। दिनभरि र पछिल्लो चार वर्ष वर्षसम्मै राजनीतिक रूपले गुल्जार नयाँ बानेश्वर मध्यरात सुनसान बनिसकेको थियो। भोजपछिपद गुमिसकेका सभासद संविधानसभा भवनबाट लुरुलुरुनिस्केका थिए।
मध्यरातमा प्रधानमन्त्री बाबुराम भट्टराईको सम्बोधन आउँदासम्म त संविधानसभा भवनबाट सबै सभासद बाहिरिसकेका थिए। आखिर उनीहरूको त्यहाँ बस्ने हैसियत गुमिसकेको थियो। आत्मविश्वास गुमेको र कामेको आवाजमा प्रधानमन्त्रीले मध्यरातमा भने, ‘हामीले असफलताबाट सिक्नुपर्छ, हरेस नखाऔं, मंसिर ७ गते संविधानसभाको दोस्रो चुनावमा जाने निर्णय गरेका छौं।'
यसरी पछिल्ला चार वर्षमा नेपाली राजनीतिमा सबैभन्दा बढी उच्चारण गरिएको तर सबैभन्दा कम महŒव पाएको संविधानसभाको आयु आइतबार राति संविधान नबनाई सकिएको छ।
पटकपटक जीवन थपिएको संविधानसभा आइतबार राति निर्धारितभन्दा दोहोरो आयु बाँचेर मर्यो। यी चार वर्षमा संविधान त बनेन नै, संविधानसभाले स्वाभाविक गतिमा काम पनि गर्न सकेन।
संविधानका विषयमा छलफल गर्न गठन गरिएको संविधानसभा बाहिरै संविधानका महŒवपूर्ण बुँदामा मोलतोल भइरह्यो। मुलुकको बन्न नसकेको सबैभन्दा महŒवपूर्ण कानुनका अधिकांश विषयका छलफल सिंहदरबार, बालुवाटार, प्रमुख दलका कार्यालय वा अन्तै भइरहे। संविधानसभा सधैं ओझेल परिरह्यो।
यी चार वर्षमा संविधानसभा भवन रहेको नयाँ बानेश्वर क्षेत्र भने ‘पोलिटिकल पावर एक्सरसाइज'का हिसाबले सधैं चर्चामा रह्यो। नयाँ संविधानमा आफ्नो जाति, वर्ग र समूहको अधिकार निश्चित गर्न आयोजित थुप्रै धर्ना, प्रदर्शन, विरोधसभा र र्याली देख्यो नयाँ बानेश्वर क्षेत्रले। संविधानसभाको आयु सकिनु केही घन्टा अघिसम्म यस्ता धर्ना र प्रदर्शन जारी थिए।
नयाँ बानेश्वर अत्यन्तै व्यस्त रह्यो आइतबार। दिनभरि कहाँ र को-कोबीच संविधानका विवादित विषयमा अन्तिम छलफल भइरहेको छ भन्ने थाहा नपाएका सर्वसाधारणमात्र होइन, प्रदर्शनकारी र सभासद पनि नयाँ बानेश्वर क्षेत्रमै रमिता बने। संविधान बनाउन चुनिएका सभासद आफैं संविधान बन्ने वा नबन्ने, बने पनि कस्तो बन्ने भन्ने थाहा पाउन एफएम सुन्दै थिए। संविधानसभा भवनमा आइतबारै अन्तिम दिन होला भन्ने लख त कसैले पनि काटेका थिएनन्। संविधानसभा भंग भए पनि यसले रूपान्तरित संसदको भूमिका खेल्नेछ भन्नेमा लगभगसबै ढुक्क थिए।
दिनभरि भूमिकाहीन व्यस्ततापछि साँझ संविधान नबन्ने छनक पाएका सर्वसाधारण र सभासदको आक्रोश यो क्षेत्रमा पोखियो। सभासद नाराबाजीमा ओर्लिए, निषेधित क्षेत्र तोड्न कस्सिएका प्रदर्शनकारी थाम्न सुरक्षाकर्मीलाई हम्मे भयो।
चार वर्षअघि औपचारिक रूपमा मुलुकको राजनीतिक केन्द्र सिंहदरबारबाट नयाँ बानेश्वर सिफ्ट भएपछि यो क्षेत्र बन्द, हडताल, विरोध, धर्ना, प्रदर्शन- सर्वसाधारणका लागि भने रमितामात्र- को मूल थलो बनेको थियो।
संविधानका मूल विषयका मूल सहमति भने संविधानसभाभन्दा डेढ किलोमिटर पश्चिम सिंहदरबार वा पाँच किलोमिटर उत्तर बालुवाटारमै भए। नयाँ बानेश्वर राजनीतिको औपचारिक केन्द्र भए पनि सिंहदरबार र बालुवाटारले संविधानसभाका सबै अधिकार आफूमै च्यापे।
संविधानसभाको अन्तिम दिन आइतबार नयाँ बानेश्वरको तापक्रम ह्वात्तै उकालिएको थियो। वायुमण्डल ३३ डिग्री ताते पनि राजनीतिको तापमान निकै चर्केको थियो। एभरेस्ट होटलदेखि मीनभवन चोकसम्म संविधानमा आफ्ना माग समावेश गर्ने समूहहरूका रमाइला कार्यक्रम दिनभरि चले। साँझ सात बजेसम्म यो क्षेत्रले कुनै तनाव र चर्काचर्की झेल्नुपरेन। सुरक्षाकर्मीको उच्च तैनाथीले भने स्थितिको गम्भीरता प्रस्ट पार्थ्यो।
नयाँ बानेश्वर चोकदेखि उत्तर सर्वसाधारणको आवतजावत रोकिएको थियो। बिहान ११ बजेका लागि तय गरिएको संविधानसभा बैठकका लागि आएका सभासदहरू निरन्तर व्यग्र हुनेबाहेक दिनभरि कुनै महŒवपूर्ण राजनीतिक क्रियाकलाप नभएको संविधानसभा भवन क्षेत्रलाई सुरक्षाकर्मीले चारैतिरबाट घेरेका थिए।
सम्भवतः चर्को गर्मीले, जातीय संघीयता हुनुपर्छ र हुनुहुँदैन भनेर प्रदर्शन गरिरहेका अधिकारकर्मी र केही हजार रमितेबाहेक समयसीमामै संविधान बन्ला/नबन्ला भनेर चासो राख्ने सर्वसाधारण घरमै टिभीअघिल्तिर झुम्मिएर घटनाक्रमबाट अपडेट भइरहेका थिए। नेपालीको बिन्दास स्वभावको जायजा यसबाट लगाउन सकिन्थ्यो- एभरेस्ट होटलपूर्व र मीनभवनचोक पश्चिम भने सर्वसाधारण केही नभएजसरी दैनिक क्रियाकलाप गरिरहेका थिए। साँझ पर्नु केही घन्टाअघि मीनभवनको तरकारी बजारमा झुरुप्प भिड थियो।
संविधान नबन्ने भएपछि भने सर्वसाधारणमा के होला भन्ने अन्योल बढेको छ।
दिनभरि त ‘स्पेसल कुल्फी' र काँक्रा-खर्बुजाको बिक्री पनि बढेको थियो। सडकमा सवारी साधनको चाप पातलो थियो तर ठप्प थिएन। संविधानसभा भवनपश्चिम बिजुलीबजार र पूर्व शान्तिनगर क्षेत्रमा भने कुल्फीवालाहरू सडकमै ठेला राखेर ‘राम्रो व्यापार' गरिरहेका थिए।
नयाँ बानेश्वर चोकपश्चिम तीनटा कार्यक्रम चलेकाथिए। जातीय संघीयता हुनु हुँदैन भन्ने विद्यार्थी संगठनहरूको एउटा र जातीय संघीयता चाहिन्छ भन्ने संस्थाका दुइटा। संविधानसभा भवन उत्तर जातीय संघीयता हुनु हुँदैन भन्दै बाहुन-क्षेत्री प्रदर्शनमा उत्रिएका थिए। पूर्वतिर जनजाति संगठनका कार्यकर्ता मादल ठोकिरहेका थिए, एकल जातीय संघीयताका पक्षमा। उनीहरू सांस्कृतिकभेषभुषामा नाचगान गरिरहेका थिए। महिलाहरुको एउटा समूह र हिन्दू राष्ट्र हुनुपर्छ भन्ने अर्को समूह पनि धर्नामा जुटेका थिए।
तीन प्रमुख दल र मधेसी मोर्चाका शीर्ष नेताहरू भने दिनभरि प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारमा वार्ता र छलफलमा व्यस्त रहे। बिहानदेखि रातिसम्मै अनवरतजस्तै चलेको वार्ताले खुसीको कुनै समाचार ल्याउन सकेन। अन्ततः दिनभरिको म्याराथन छलफलको ...क्रक्स' मध्यरातमा प्रधानमन्त्रीले सुनाएको ‘दुखद समाचार' पो बन्न पुग्यो।
दिउँसो तीन बजे निर्धारित समयभन्दा चार घन्टा ढिलो पनि बैठक नबसेको भन्दै सभासदहरू नै संविधानसभास्थलमा नाराबाजीमा ओर्लिएका थिए। बैठक सुरु गर्न माग गर्दै भएको नाराबाजीपछि कोणसभामा माओवादीका सभासद तिलक परियारले आपत्तिप्रकट गरे, ‘हामीलाई भेडाबाख्राजस्तो गरेर सहभागी नै नगराई संविधानका विषयमा छलफल भइरहेको छ।'
त्यसपछि करिब चार घन्टापछि साढे सातबजेतिर फेरि सभासदहरू नाराबाजी गर्न थाले। दिनभरि संविधानसभा भवनमा ठूला नेता आउलान् र संविधानसभाको बैठक चालु होला भनेर कुरेका सभासदहरू संविधान नबन्ने खबर सिंहदरबारबाट आएपछि झनै आक्रोशित भए। दिनभरि अन्तर्राष्ट्रियसम्मेलन केन्द्रको चौरमा बरालिएर समय काटेका सभासदले राति ढिलासम्मै शीर्ष नेताविरुद्ध प्रदर्शन गरेका थिए। थाकेर चुर भएपछि भने पद र प्रतिष्ठा गुमाएका उनीहरू घरतिर लागे।
सात बजेसम्म त संविधान जारी होला कि भन्ने आशा थियो। दिनभरि रमितास्थल बनेको नयाँ बानेश्वर साँझ शीतल हुँदै थियो, बालुवाटारको निरन्तर बैठकपछि सिंहदरबार आइपुगेका शीर्षनेताहरूको बैठकबाट सकारात्मक सूचना चुहिँदै थिए।
जब सिंहदरबारमा तीन प्रमुख दल र मोर्चा कुनै सहमतिमा पुग्न सकेनन्, संविधानसभाले संविधान दिने आशा शून्य भयो। नयाँ बानेश्वरमा अचानक प्रहरी र बाहुन-क्षेत्री प्रदर्शनकारीबीच झडप भयो। निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा निम्तिएको झडपमा प्रहरीले लाठीचार्ज गर्यो, अश्रुग्यास हान्यो, प्रदर्शनकारी पनि कस्सिए। डिएसपीसहित सुरक्षाकर्मी घाइते भए, प्रदर्शनकारी पनि घाइते भए। स्थिति अचानक तनावपूर्ण भयो।
चार वर्षदेखि गुल्जार नयाँ बानेश्वर क्षेत्र आइतबार मध्यरातदेखि अचानक सुनसान बनेको छ। राजनीतिको शक्तिहीन केन्द्रका रूपमा व्यस्तता, चर्चा र महŒवमा रहेको संविधानसभा भवन क्षेत्र नयाँ बानेश्वरले मुलुकको पछिल्लो तनाव र छटपटीमा सोमबारदेखि के भूमिका पाउला?
No comments:
Post a Comment