Thursday, May 10, 2012

तीन दलले देश कब्जा गरेः थापा

खाँदबारी, वैशाख २८ - राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका अध्यक्ष कमल थापाले ४ वर्षदेखि तीन दलले देशलाई कब्जामा राखेको आरोप लगाएका छन् । उनले लोकतन्त्र चहाने कांग्रेस र एमालेले पनि माओवादीकै जंगली सिको सिकेको बताएका छन् । संखुवासभा सदरमुकाममा हुने आमसभालाई सम्बोधन गर्न खाँदबारी आइपुगेका थापाले सिण्डिकेट प्रणाली लागू गरेर सरकार चलाइरहेको बताए । संविधानसभाको म्याद कुनै हालतमा थप्न नमिल्ने पनि उनले बताए ।
अध्यक्ष थापाले जेठ १४ मै एकपक्षीय संविधान बने पनि जनताको पक्षमा नहुने जिकिर गरे । लेनदेन र भागवण्डाको संविधान बन्छ, उनले भने, जुन रिमोट कन्ट्रोलको माध्यमबाट चल्छ । एकलौटी संविधान निर्माण भए देश नयाँ द्वन्द्वमा जाने उनले बताए ।ठूला भनिने राजनीतिक दलमा गलत नीति छ, जसका कारण विदेशीहरुले जलखेल गरिहेको छन, उनले भने, नेपाली जनताका लागि संविधान ल्याउने हो भने संविधानको पहिलो ड्राफ्ट जनतासम्म पुर्‍याउनु पर्छ र जनमत संग्रह गर्नु पर्छ ।
आफ्नो पाटी हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्रको पक्षमा रहेको बताउँदै थपे, तीन दलले जनताको भूमिका पूर्ण रूपमा निरपेक्ष पारेका छन् । राजा बिनाको संविधानको कल्पनासमेत गर्न नसकिने भन्दै ३ दलले ल्याएको संविधान अस्विकार्य हुने बताए । नेपाल अहिले अभिभावक विहीन घर जस्तै भएको छ, हचुवाको भरमा संघीयता सम्भावना छैन । भूगोल र आर्थिक पहिचानको आधारमा संघीयता हुनु पर्ने उनले बताए ।
उनले गणतन्त्रको मोह रहुन्जेल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकताको सम्भावना नरहको बताए ।
प्रकाशित मिति: २०६९ वैशाख २८ ०७:२३

No comments:

Post a Comment