Saturday, April 21, 2012

जेठ १४ भित्रै संविधान जारी हुने भारतीय नेताहरूको विश्वास | मुख्य समाचार | ekantipur.com

काठमाडौ, वैशाख ९ - नेपाल भ्रमणमा रहेका विभिन्न भारतीय नेताले आगामी जेठ १४ भित्रै नेपालमा लोकतान्त्रिक नयाँ संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् ।
रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेपालको शान्ति, लोकतान्त्रिक संविधान, विकास र समृद्धि भारतीय चाहना रहेको बताए । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख एवं प्रवक्ता विजय जोलीले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा रहेको उल्लेख गरे । जोलीले भने, 'भाजपा वरिष्ठ नेता अटल बिहारी बाजपेयी प्रधानमन्त्री रहेका बेला बाह्र बुँदे समझदारी नयाँ दिल्लीमै भयो, त्यहींबाट शान्ति प्रक्रिया सुरु भयो । यसलाई भारत लगायत सारा विश्वले नजिकबाट नियालिरहेको छ ।'
नेपाल र भारतबीच सम्बन्ध सुमधुर रहेकै कारण अहिले भारतमा ५५ लाख नेपालीले रोजगारीको अवसर पाइरहेको उनले बताए । 'नेपालको शान्ति र संविधान निर्माण प्रक्रियाले कुनै हालतमा पूर्णता पाउनुपर्छ । यसमै भारतको पनि हित छ' उनले भने ।
जोलीले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको अखडा बन्न नहुने उल्लेख गर्दै नेपाल भारतविरुद्द दुरुपयोग या उपयोग नहोस् भन्ने भारतको चाहना रहेको बताए । नेपालका सबै राजनीतिक दल मिल्नुको विकल्प नरहेको भन्दै यहाँका राजनीतिक दलले जिम्मेवारीपूर्वक शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान जारी गरे भारत र भारतीय जनता खुसी हुने बताए ।
भारतीय राष्ट्रवादी कंग्रेसका महासचिव एवं सांसद तारिक अनवरले नेपालमा लोकतान्त्रिक र सशक्त संविधान निर्माण होस् भन्ने पक्षमा भारत र भारतीय जनता रहेको बताए । नेपाललाई दिँदै आएको सहयोग सुचारु गर्न भारत तयार रहेको तारिकले बताए । उनल भने, 'शान्ति प्रक्रिया टुंगिएर संविधान जारी भएपछि भारतले नेपालको विकासमा विशेष सहयोग घोषणा गर्नेछ ।'
भारतीय सत्तारुढ दल कंग्रेस आईका प्रवक्ता एवं सांसद रासिद अल्वीले भारत हमेशा नेपालको साथमा रहने विश्वास व्यक्त गरे । उनले भारतले नेपालमा बर्सेनी भारु. २ हजार करोड लगानी रहेको दाबी गर्दै भारत सरकार र जनताको निरन्तर सहयोग रहने विश्वास दिलाए । उनले नयाँ संविधान जारी भएपछि नेपालमा स्थिरता र विकास कायम हुने विश्वास राख्दै भने 'यहाँको विकास क्रमका आधारमा भारतीय सहयोग अझै बढ्न सक्छ । हाम्रो चासो शान्ति र संविधान हो ।'
रसिदले नेपालमा कुन खालको संघीय संरचना हुने, जातीय या क्षेत्रका आधारमा संघीयता हुने भन्ने विषय यहाँकै दल र जनताले निर्क्यौल गर्ने विषय भएको प्रतिक्रिया दिए । साक्षात्कारमा भारतीय युवा नेतृ, तृणमुल कंग्रेसकी सांसद तथा प्रसिद्ध अभिनेत्री शताब्दी रायले नेपालको विकासमा भारतले हर तहले सहयोग गर्ने बताइन् । भारतीय नेताहरूले राष्ट्रपति डा.रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री डा.बाबुराम भट्टराई लगात शीर्ष नेतासँग भेटेका छन् । नेपालमा नयाँ संविधान जारी भएको हेर्न भारतआतुर रहेको भेटमा आफूहरूले बताएको नेताहरूले उल्लेख गरे ।
प्रकाशित मिति: २०६९ वैशाख ९ ०३:५१Like

No comments:

Post a Comment