१२ वर्षसम्म छोरीले आमा देख्न पाएनन्
१८ फागुन, काठमाडौं । व्यापारी पवन अग्रवालको काठमाडौं खुर्सानीटारस्थित
घरमा सस्तो पारिश्रमिकमा काम गर्न बसेकी एक महिलाले 'आत्महत्या' गरेको १०
दिनसम्म शवको पोष्टमार्टम हुन सकेको छैन । विहीबार जिल्ला प्रहरी
कार्यालय हनुमानढोकामा भएको छलफलपछि बल्ल आज शिक्षण अस्पतालमा
पोष्टमार्टम हुँदैछ ।
अग्रवालको घरको स्टोर कोठामा डोरी काटिएको अवस्थामा मृत फेला परेकी ती
लगभग ३२ वर्षकी ती महिलाको नाम कमला उप्रेती हो । सिन्धुपाल्चौकको लिसंखु
घर भएकी कमलाको जीवन कहानी केही अनौठो र उदेकलाग्दो छ । कमला १२ वर्ष
अगाडि एउटी ३ वर्ष र अर्की ९ महिनाकी छोरी छाडेर घरबाट बेपत्ता बनेकी
थिइन् । उनले छाडेकी ९ महिने छोरी सुनिता उप्रेती अहिले ३ कक्षामा
पढ्छिन् भने जेठी छोरी अमृता ६ कक्षामा ।
आफूलाई जन्म दिने आमा खोज्दाखोज्दै आँशु निखि्रएपछि यिनीहरुले आफ्नी आमा
पवन अग्रवालको घरमा बसेको त पत्तो लगाए, तर सास भेटेनन्, फगत लासमात्र ।
आफ्नी आमाको त्यहीलास पनि अमृता र सुनिताले अहिलेसम्म हेर्न पाएका छैनन्
। शिशु अवस्थामै आमाले छाडेका उनीहरुलाई आफ्नी आमाको अनुहार कस्तो थियो
भन्नेसम्म जानकारी छैन । ९ महिनाकी शिशुलाई झन् के याद होस् वेपत्ता
आमाको ।कमलाका श्रीमान् डिल्लीराम उप्रेती काठको काम गर्थे । उनले घरमा
कमला हँदाहुँदै कान्छी श्रीमती भित्र्याएका थिए । डिल्लीराम
भन्छन्-'हामीवीच केही नराम्रो थिएन, दुईवटा अलग घर थिए, सौताहरु पनि
मिलेर बसेका थिए । तर, उनी अचानक हराइन् । १२ वर्षसम्म खोज्दा पनि फेला
परिनन्, अहिले एक्कासी आत्महत्या गरेको खबर आयो ।'
१२ वर्षअघि घरबाट अचानक हराएकी कमलाबारे काठमाडौंमा डेरा गरी बस्ने आफन्त
शावित्री खरेलले गतवर्ष बैसाखमा श्रीमान्डिल्लीरामलाई भनिन्- 'तिम्री
श्रीमती जिउँदै छिन्, विदेशमा पनि छैनन्, नेपालमै छन् ।' यति सुनेपछि
दुबै छोरीहरु काठमाडौं आएर शावित्रासँग रोई कराई गर्दै आमासँग भेट
गारइदिन आग्रह गरे । तर, शावित्रीले आमाछोरीको भेट गराइनन् । तर, अचानक
१० दिन अघि उनै शावित्रीले सिन्धुपाल्चौक फोन गरेर डिल्लीरामलाई भनिन्-
तिम्री श्रीमतीले आत्महत्या गरिछन्, लास बुझ्न आउनू ।' हराएकी श्रीमति र
आमाको मृत्युको खबर सुनेर १० दिन अघि काठमाडौं आएका डिल्लीराम, अमृता र
सुनिता अहिले राजधानीमै छन् ।मृतकका आफन्तले कमलाको मृत्यु रहस्यमय भएको
भन्दै महिला आयोग र अन्य महिला अधिकारकर्मी संस्थामा समेत उजुरी दिएका
छन् । तर, प्रहरीले पहिले पोष्टमार्टम गरेपछि त्यसको रिपोर्टका आधारमा
मात्रै शंकास्पद देखिए अग्रवाललगायतलाई पक्राउ गर्ने वचन दिएको र आज शवको
पोष्टमार्टम गर्ने सहमति भएको मृतकका श्रीमान् डिल्लीरामले अनलाइनखबरलाई
बताए ।
वर्षको तलब १२ हजार !
पवन अग्रवालको घरमा कमलाले काम गर्न बसेको ९ वर्ष भएको थियो । अग्रवालले
आफन्तलाई दिएको जानकारी अनुसार उनले वाषिर्क १२ हजार तलब दिने शर्तमा
कमलालाई काम लगाएका हुन् । राज्यले मजदुरको न्युनतम तलब मासिक ६
हजारभन्दा माथि तोकेको भए पनि आफूलाई धरानिया व्यापारी बताउने अग्रवालले
वाषिर्क १२ हजार तबलमा कमलालाई परिवारबाट कटाएर लगभग बन्धककै रुपमा ९
वर्ष काम लगाएको परिवारका एक सदस्यले गुनासो गरे । यसमा अग्रवाल र
शावित्रीको मिलेमतो रहेको आफन्तहरुको आरोप छ ।
आफन्तहरुको दाबीअनुसार कमलबारे शावित्रीलाई शुरुदेखि जानकारी थियो । तर,
स्रोतका अनुसार कमला ३ वर्ष काठमाडौंमा अन्यत्रै बसेकी र ९ वर्ष
अघिमात्रै आफूले उनलाई अग्रवालको घरमा पुर्याएको शावित्रीले मृतकका
परिवारलाई जवाफ दिएकी छन् । शावित्रा नाताले कमलाकी माइली काकी हुन् ।
शावित्रीले किन आमाछोरीको भेट गराइनन् ?
'मैले अग्रवालको घरमा ९ वर्षअघि काम लगाइदिएकी हुँ, अरु कुरा मलाई थाहा
छैन ।' शावित्रीको भनाइ उधृत गर्दै एकजना आफन्तले भनिन् । तर, आफ्नी आमा
देखाइदेऊ भनेर छोरीहरुले रोइ कराई गर्दा पनि गतवर्ष शावित्रीले भेट
नगराइदिएकोमा परिवारका सदस्यको ठूलो गुनासो छ । शावित्रीले अटेर नगरेको
भए ९ महिनामा आमाले छाडेकी सुनिताले यसरी आमाको मुखै हेर्न नपाउने स्थिति
नआउने पीडितको गुनासो छ ।
No comments:
Post a Comment