Friday, March 1, 2013

प्रहरीले चुल्ठो काटेपछि टि्वटरभरि कपालै कपाल !

१७ फागुन, काठमाडौं । राजधानीमा आपराधिक कृयाकलाप नियन्त्रण गर्न भन्दै
प्रहरीले लामो कपाल पाल्ने र कानमा मुन्द्रा लगाउने युवाहरुलाई पक्राउ
गर्न थालेपछि यसको बिरोध शुरु भएको छ । फेसबुक, टि्वटरजस्ता सामाजिक
सञ्जालमा सरकार र प्रहरीको व्यवहारप्रति निकै खरो आलोचना गरिएको छ । कपाल
पाल्नु र मुन्द्री लगाउनु व्यक्तिगत स्वतन्त्रता भएको युवाहरुको तर्क छ ।
पत्रकार गजेन्द्र बुढाथोकीले आफ्नो टि्वटरमा लेख्नुभएको छ – 'पछाडिको
पाटोमात्रै भए पनि अगाडि त चिल्लो भैसक्यो । पुनः लामो कपाल पाल्ने निधो
गरियो, पुलिसका बेतुके अभियानप्रति घोर असहमति जनाउन ।'
अदृश्य संसारका नाममा टि्वटरमा लेखिएको छ -'कपाल-मुन्द्रासँग रीस देखाउन
के विधि सिपालु हो हाम्रो राज्य । यो कपाल-मुन्द्राबाट सरेर
बोल्ने-सोच्ने कुरा काटिन नि सक्छ, सावधान !'
यस्तै शान्ता झाँक्रीले व्यंग्य गर्दै लेख्नुभएको छ -'छोरी मान्छेका लागि
चाहिँ कुनै योजना रहेन छ पुलिससँग ? छोरी मान्छेको पनि कपाल कलर गर्ने,
कर्ली, स्ट्रेट गरिदिए हुने नि ।'
प्रमोद न्यौपानेले लेख्नुभएको छ -'खुराफाती पुलिसहरु । गधालाई भारी नपुगे
झैं हो के । दिनभरि डण्डा बोक्यो बस्यो….केही त आखिर गर्नै पर्यो । ल भाइ
कपाल काट्दे ।'
लक्ष्मण गुरुङको टि्वटरमा लेखिएको छ -'कपालअलि अलि लामो हुँदै गाको छ ।
यही ताल हो भने मलाई नि २-३ हप्तापछि पुलिसले समाउन बेर छैन, त्यही भएर
आजै नै कपाल काटेको स्थिति ।'
गौरवले टि्वटरमा लेख्नुभएको छ-'डनहरु काठमाडौंमा खुल्लम खुल्ला हिँड्छन्
। नाम चलेका डन त राजनीतिक संरक्षणमा छन्, उनीहरुको रौं पनि हल्लाउन
सक्दैन ।'
धेरैले प्रधानमन्त्रीलाई टि्वटरमा प्रश्न गरेका छन्-'लौ सरकार, पहिला
केटाहरुले यति इन्च भन्दा लामो कपाल पाल्न नपाइने भनेर मापदण्ड
तोकिदिनुपर्यो । त्यत्तिकै लामो कपाल पाल्नेहरुलाई समाउन पाइन्छ ?'
बाबाजीले टि्वटरमा ठट्टा गर्दै लेख्नुभएको छ-'प्रहरीले किन कपाल
पाल्नेलाई समातेको भनी एकजना डीएसपी मित्रलाई सोधेको, हाम्ले जति रहर गरे
पनि पाल्न नपाउने कुरा अरुलाई किन पाल्न दिने तरे ।'
यस्तै दिनेश आचार्यले लेख्नुभएको छ- 'प्रहरी महाशय, हिजोआजका गुन्डा रफ
टफ हैनन्, सुटेटबुटेड हुन्छन् । उनीहरु सडक पेटीमा हैन, चिल्ला कारमा
हिँड्छन् ।'
लामो कपाल पाल्ने र कानमा मुन्द्रा लगाउने बिरुद्ध प्रहरीले सोमबारदेखि
राजधानीमा कार्वाही अभियान चलाएको छ । तीन दिनमा हजारभन्दा बढीलाई
नियन्त्रणमा लिएर कपाल काट्दै र मुन्द्रा फुकाल्दै प्रहरीले अभिभावकको
जिम्मा लगाइसकेको छ । युवालाई भद्र बनाउन र उपत्यकामा चोरी, लुटपाट,
डकैती र गुन्डागर्दीका घटनामा कमी ल्याउन भन्दै प्रहरीले चलाएको यो
अभियानको समर्थनसँगै बढी बिरोध पनि भैरहेको भैरहेको छ । चुल्ठे
मुन्द्रेलाई समातेर प्रहरीले राम्रो काम गरेको भन्दै धेरैले प्रशंसा पनि
गरेका छन् । प्रहरीले शुरु गरेको यस्तो अभियान सही हो कि गलत ? यस विषयमा
समाजिक सञ्जालमा चर्को बहस शुरु भएको छ ।

No comments:

Post a Comment