Saturday, September 1, 2012

डाक्टरको सल्लाहबिनै यौन शक्तिबर्द्धक औषधि

चिकित्सकको सल्लाह र प्रेस्क्रिप्सनबिना यौन शक्तिबर्द्धक औषधि खरिद
गर्नेहरू बढेका छन् ।
क्षणिक आनन्दका लागि सेवन गर्ने यस्ता औषधि जोखिमपूर्ण हुने
चिकित्सकहरूले बताएका छन् ।
औषधि पसलेका अनुसार स्थानीय मेडिकल अघि धेरैबेर उभिएपछि खुसुक्क
किन्नेहरू आउने गरेका छन् । गोप्य हुने भन्दै सीमावर्ती बजार रुपैडिहाबाट
शक्तिवर्द्धक औषधि खरिद गर्ने बढेको पसलेहरूले बताए । प्रेस्क्रिप्सन र
सल्लाहबिनै औषधि सेवन गर्दा ज्यान जानेसम्मका घटना भइसकेको डा. गोपाल
श्रेष्ठले बताए । 'यस्ता औषधि सेवन गर्दा मधुमेह र मुटु रोगीको जीवन
जोखिममा पर्न सक्छ,' उनले भने, 'तर, आकर्षक प्रचारको पछि लागेर सल्लाह
माग्न आउने धेरै छन् ।'
स्थानीय बजारमा मेडिग्रा (सेन्डेलफिल सिट्रेट) औषधि बढी बिक्री हुन्छ ।
आकर्षक प्रचारसहितको यो ट्याब्लेट धेरैले किन्ने बिक्रेताको अनुभव छ ।
गोपनीयता जोगाउन कतिपय सीमावर्ती बजार रुपैडिहाधाउँछन् । सहवास गर्नुअघि
यस्ता औषधि सेवन गर्ने पछिल्लो दिनमा बढेको चिकित्सकहरूको भनाइ छ ।
शारीरिक रूपमा तन्दुरुस्त र जवान पत्नी हुने ढल्दो उमेरका पुरुषहरू यौन
सन्तुष्टि लिन औषधि सेवन गर्ने गरेको उनीहरूको अनुभव छ । प्रतिट्याब्लेट
३० रुपैयाँमा पाइने औषधि खाने एक नियमित ग्राहकले भने, 'आफ्नो र पत्नीको
चाहना पूरा गर्न किन्ने गरेको छु ।'
सिलाग्रा पनि बजारमा बिक्री भइरहेको छ । '३ महिनामा १२ स्टिक बिक्री
भयो,' एकता डिस्टि्रब्युटर्स नेपालगन्जका प्रोप्राइटर मानबहादुर रावतले
भने । नेसनल हेल्थ केयर प्रालि वीरगन्जको उत्पादन नेग्रा तीन महिनामा ५३
ट्याब्लेटसम्म बिक्री हुने गरेको छ । यसको पनि ३०रुपैयाँ मूल्य पर्ने
गरेको बिक्रेताहरूले जनाए ।
खुला सिमानाका कारण भारतबाट गैरकानुनी तरिकाले यौन शक्ति बढाउने औषधिहरू
आयात हुने गरेका छन् । एकता डिस्टि्रब्युटर्सका प्रोप्राइटर रावतका
अनुसार खुला सिमानाका कारण भारतीय बजारबाट औषधि सेवन गर्नेको संख्या पनि
निकै बढी छ । नेपाली उत्पादन कम्पनीहरूले २५ र ५० एमजीका ट्याब्लेट मात्र
बजारमा ल्याएका छन् । भारतीय बजारबाट एकैपटक १ सय एमजीका ट्याब्लेट सेवन
गर्ने बानी परेकाले समेत नेपाली औषधिको बिक्री घटेको छ ।
भारतीय कम्पनीहरूले भियाग्रा नामक औषधि पनि बजारमा ल्याएका छन् । नेपाली
ग्राहकहरूले यसको सेवन बढी गर्छन् । डाक्टरको प्रेस्किप्सन हेरेर मात्र
यसको बिक्री भइरहेको नेपालगन्जका बिक्रेताहरूले दाबी गरे पनि खरिद गर्न
आउनेहरूले बिनाप्रेस्क्रिप्सन लगिरहेको स्रोतको भनाइ छ । उच्च रक्तचाप
भएका बिरामीहरूले सेवन गर्दा जोखिम बढ्न सक्ने भएकाले खुला रूपमा बिक्री
नगर्ने गरेको औषधि बिक्रेताहरूको दाबी छ ।
माइक्रो ल्याबेरेटोरिज बैंग्लोरका बजार प्रतिनिधि प्रवेश जोशीले
मेडिग्रा, नेग्रा, एक्साइट र हिमालय कम्पनीको टेनटेक्स फोर्ट पनि चल्तीको
औषधि भएको बताए ।
फाइदाभन्दा बढी हानिकारक मानिने यस्ता औषधिको विज्ञापनले धेरैलाई भ्रममा
पारेको छ । जसका कारण प्रयोग गर्नेको संख्या बढेको हो ।
कतिपय पसलेले चिकित्सकहरूको प्रेस्किप्सनबिनै यस्ता औषधि बिक्री गर्ने
गरेका छन् । जसका कारण औषधिहरूको दुरुपयोग भइरहेको छ । मानसिक कारणले
औषधि लिन आउने बढेको चिकित्सकको भनाइ छ । ड्रग युजरहरूले पनि बढी सेवन
गर्ने गरेका छन् ।
'आकर्षक विज्ञापन हेरेर पनि आममानिस आकषिर्त भइरहेका छन् । विज्ञापनका
आधारमा मानिसहरू सल्लाह माग्न आउँछन् र त्यस्ता औषधिको पछि लाग्छन्,' डा.
गोपाल श्रेष्ठले भने, 'यस्तो औषधि प्रयोग गर्दा अकालमा मृत्यु भएका
उदाहरण धेरै छन् ।

No comments:

Post a Comment