Monday, August 20, 2012

नेपाली विद्यार्थीमाथि आक्रमण प्रयास

नयाँदिल्ली, भाद्र ४ - दक्षिणपश्चिमी भारतीय राज्य कर्णाटकको राजधानी बैंग्लोरमा अध्ययनरत नेपाली विद्यार्थीले आफूहरूमाथि आक्रमण प्रयास भएको बताएका छन् ।
बैंग्लोरसहितका दक्षिणी सहरमा काम तथा अध्ययन गरिरहेका उत्तरपूर्वी भारतीयमाथि आक्रमण तथा धम्कीका खबर सार्वजनिक भइरहेका बेला नेपाली विद्यार्थीले आफूहरू खतरामा रहेको बताएका हुन् । उत्तरपूर्वी भारतीयसँग नेपालीहरू खासगरी मंगोल जातिको अनुहार मिल्दोजुल्दो हुने भएकाले आक्रमण प्रयास भएको विद्यार्थीले बताए ।
दक्षिणी भारतीय सहरमा भएका पछिल्ला घटनालाई पूर्वोत्तर भारतीय राज्य आसाममा बोडो आदिवासी र बंगाली मुस्लिमबीच भड्किएको दंगासँग जोडेर हेरिएको छ । सरकारले सुरक्षा आश्वासन दिए पनि डरले थुप्रै उत्तरपूर्वी भारतीय फर्किसकेका छन्।
बैंग्लोरस्थित एक कलेजमा स्नातकमा फिजियोथेरापी अध्ययन गरिरहेका नेपाली विद्यार्थी शिव -नाम परिवर्तन) ले शनिबार राति मेसबाट खाना खाएर छात्रावास र्फकंदै गर्दा अज्ञात समूहले आफूसहित तीन जनामाथि आक्रमण प्रयास गरेको ईकान्तिपुरलाई बताए ।
'छात्रावास र्फकंदै थियौं, २०/३० जनाको समूहले हामीलाई रोकिन भन्यो,' ती विद्यार्थीले भने, 'तर आक्रमणको डरले होस्टलतिर दौडियौं, उनीहरूले पछ्याए पनि हामी होस्टल छिर्न सफल भयौं ।' कलेजमा सुरक्षा प्रबन्ध कडा बनाइएकाले परिस्थिति नियन्त्रणमा आएजस्तो भएको र डर हटिसकेको उनले बताए ।
'साथीहरूमाथि आक्रमण प्रयास भएकाले डर लागिरहेको छ,' बैंग्लोरमा बीएस्सी नर्सिङ पढिरहेकी एक नेपाली विद्यार्थीले भनिन् । करिब एक दर्जन नेपाली विद्यार्थीले आफूहरू त्रसित रहेको कान्तिपुरलाई बताए ।
'घर फर्किने व्यवस्था मिलाऊ'
विद्यार्थीले आफूहरूलाई तुरुन्त घर फर्किने व्यवस्था मिलाइदिन आग्रह पनि गरेका छन् । 'उत्तरपूर्वी भारतीय राज्यका आफ्ना विद्यार्थी तथा कामदारलाई सकुशल फिर्ता लैजान सरकारहरूले विशेष व्यवस्था मिलाएका छन्, तर दिल्लीमा रहेको नेपाली दूतावास हल्ला हो भनेर हाम्रा कुरा पत्याउन तयार देखिएको छैन,' ती विद्यार्थीले भने ।
दूतावासले भने सम्पूर्ण घटनाक्रमलाई गम्भीरतापूर्वक नियालिरहेको उल्लेख गर्दै भारत सरकारले सुरक्षाको प्रबन्ध मिलाइसकेकाले घर फिर्तीका लागि आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ । 'हामीले अहिलेसम्म पाएको रिपोर्टअनुसार, आक्रमणका कुरा अफवाहमात्रै हुन्, आवश्यक परे नेपाली विद्यार्थीलाई उद्धार गर्न हामी कुनै कसर बाँकी राख्दैनौं,' भारतका लागि नेपालका कार्यवाहक राजदूत खगनाथ अधिकारीलेभने ।
दूतावासले नेपालीका लागि हेल्पलाइनसमेत स्थापना गर्न सकेको छैन । नियमित गुनासाका बाबजुद पनि वास्तविकता बुझ्न प्रभावित भनिएका दक्षिण भारतीय सहरहरूमा नेपाली दूतावासले आफ्नाअधिकारीलाई पठाएको छैन । उत्तरपूर्वेली भारतीयसँगै कयौं नेपाली डरका कारण दक्षिण भारतीय सहर छाडेर घर तथा अन्यत्र गइरहेको सुन्नमा आएका छन् ।

No comments:

Post a Comment