Friday, July 13, 2012

किशोरी यौन शोषणका प्रत्यक्षदर्शी बेपत्ता

शेरबहादुर केसी, भैरहवा, असार २९- दुई किशोरीमाथि यौन शोषणका प्रत्यक्षदर्शी किशोर १२ दिनदेखि बेपत्ता छन्। आश्रममै रहेका १३ वर्षीय किशोर मनोज थापा र १० वर्षीय प्रेम सुनार एकाएक बेपत्ता भएका हुन्। तीमध्ये थापा घटनाका प्रत्यक्षदर्शीहुन्।
रुपन्देहीको मधवलिया-४, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका प्रबन्ध निर्देशक आशिष थापाले आश्रममा रहेका बालिकालाई यौन शोषण गरेको यी किशोरबाट खुलेको हो। घटनाका प्रत्यक्षदर्शीलाई बेपत्ता गराएर मुद्दालाई कमजोर बनाउने षड्यन्त्रको रुपमा यो घटनालाई लिइएको छ। असार १८ गते बिहान ५ बजे आश्रम बाहिर निस्किएका उनीहरु त्यसपछि सम्पर्क बाहिर रहेको जिल्ला बाल कल्याण अधिकृत राज्यलक्ष्मी गुप्ताले बताइन्। ‘उनीहरुबारे खोजतलास गर्न हामीले प्रहरीमा निवेदन दिएका छौं, प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ,' उनले नागरिकलाई भनिन्।
‘हराइरहेका ती बालकका आफन्त कोही नभएकाले एकाएक हराउनुको रहस्य छ,' यौन शोषण प्रकरणको अनुसन्धान गरिरहेका रुपन्देही जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने।
रुपन्देही जिल्ला अदालतले प्रारम्भिक सुनुवाई गर्नुभन्दा केही दिनअघि प्रत्यक्षदर्शीलाई यौन शोषणको अभियोग लागेका आशिषका बाबु रमेश थापाले बेपत्ता बनाएको आशंका गरिएको छ। ‘घटनाका प्रत्यक्षदर्शीलाई गायब गरे मुद्दालाई कमजोर गराउन सकिन्छ भन्ने अभियुक्तका आफन्तलाई लागेकोहुनसक्छ- एक प्रहरी अधिकृतले भने।
प्रहरीले पीडित किशोरीको बयानसँगै प्रत्यक्षदर्शीमा थापाको बयान पनि राखेको र अदालतमा थापा उपस्थित भएर आफूले देखेको बयान दिए मुद्दा बलियो हुने भएकाले आशिष परिवारले बेपत्ता बनाएको हुनसक्ने अनुमान गरिएको हो। प्रत्यक्षदर्शीलाई मात्रै बेपत्ता गराउँदा शंका हुने भएकाले अर्को एक बालकलाई पनि बेपत्ता गराएको हुनसक्ने प्रहरी स्रोतको भनाई छ।
उनले रुपन्देही जिल्ला अदालतमा पेस गरेको दिन असार २५ गते अदालत परिसरमा छोरालाई भेट गरी छिट्टै मुद्दाको किनारा लाग्ने भएकाले अनावश्यकचिन्ता नगर्न भन्दै कुराकानी गरेको आशिषलाई लिएर अदालत पुगेका एक प्रहरीले बताए।
अदालतले सोही दिन थापालाई पुर्पक्षका लागि थुनामा राख्‍ने आदेश दिएको थियो। उनीमाथि दुई किशोरीलाई जबरजस्ती करणी गरेको र पाँच किशोरीलाई जबरजस्ती करणीको उद्योग गरेको अभियोगछ।
रुपन्देही जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक रेग्मीले आश्रमबाट दुई बालक हराएकोबारे जानकारी आएकाले आवश्यक अनुसन्धान र खोजतलास भइरहेको बताए।
अभियुक्त आशिषका बाबु रमेशले बालकहरु हराएको आफूले सुनेको तर आफ्नो व्यवस्थापनमा आश्रम नभएकाले थप जानकारी नभएको बताए। शुक्रबार नागरिकसँगको टेलिफोन कुराकानीमा उनले छोरा आशिषकुनै पनि हालतमा दोषी हुन नसक्ने भन्दै बचाउ गरे।
प्रहरीले जेठ ३० गते आश्रममा छापा हान्दा पक्राउ परेका रमेशले घटनामा संलग्न छोरा आशिषलाई कानुनी कारबाहीको लागि सघाउने प्रतिबद्धता जनाएका थिए। आश्रममा यौन शोषण भएको घटना सार्वजनिक भएपछि रुपन्देही जिल्ला बालकल्याण समितिले असार ४ गते सञ्चालक समिति नयाँ बनाई तत्कालका लागि व्यवस्थापनको जिम्मा दिएको छ। बालकल्याण समिति सदस्य बालकुमारी गुरुङको संयोजकत्वमा स्थानीय अगुवाहरु समेत रहेको १३ सदस्यीय सञ्चालक समिति गठन गरी तत्कालका लागि व्यवस्थापनको जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले नागरिकलाई बताए।
स्रोतका अनुसार, प्रशासनले नयाँ समिति गठन गरी आश्रम व्यवस्थापन गर्न थालेदेखि रमेश थापा असन्तुष्ट थिए। अहिले आश्रममा २८ बालबालिका छन्। त्यहाँ रहेका अन्य सात बालिका माइती नेपाल भैरहवामा छन्।

No comments:

Post a Comment