मुलुकमा बेरोजगार भएर विदेसिने क्रम बढिरहेका बेला प्युठानको नारीकोटगाविसबाट विदेसिने युवाको सङ्ख्या ७०० पुगेको छ । यो सङ्ख्या गाविसबाट दुबई , मलेसिया , साउदी , कतारर कुबेत जानेको मात्र हो भने भारत जानेको सङ्ख्या३०० रहेको गाविस सचिव कविराज शर्माले बताए ।
उनका अनुसार गाविसको एउटै वडा ७ बाट सबैभन्दा धेरै ९३ जना तेस्रो मुलुक गएका छन् भने वडा नं ५ बाट भारतमा ६५ जना रोजगारीका लागि विदेसिएका छन् । कमजोर शिक्षा प्रणाली र बढ्दो बेरोजगारीका कारण जिल्लाका अन्य गाविसको तुलनामा सबैभन्दा धेरै नारीकोटबाट युवाहरु विदेसिने क्रम बढ्दो छ ।
युवाहरुको विदेसिने क्रम बढ्दै जाँदा अहिले गाउँ युवाविहीन अवस्थामा रहेको स्थानीय जनकराज गिरीले बताउनुभयो । युवाविहीनताको अवस्थामा गाउँमा हुने विकासे कामसमेत प्रभावित बन्दै गएको उहाँको भनाइ छ ।
गाउँमा केही गरौँ न त भनी सहयोगी निकायसँग हात जोरेर काम गर्न खोज्दा युवाहरु नभएकाले आफैँ हच्कनुपर्ने अवस्था सिर्जना भएको स्थानीय बुुद्धिजीवी श्यामलाल पुरीले बताए ।
वैदेशिक रोजगारीबाट नारीकोटमा मात्रै वार्षिक करोडौँ रुपैयाँ रेमिट्यान्स भित्रिने गरेको छ । यसरी गाउँमा करोडौँ रकम भित्रिए पनि युवाको अभावमा लगानी गर्ने ठाउँ नबन्दा पैसा अनावश्यक खर्च हुने गरेको स्थानीय जगत पुरीले बताए ।
श्रीमानले विदेशमा मरी मेटेर पैसा कमाउने गरे पनि गाउँमा श्रीमतीले पैसाको सदुपयोग नगर्दा गाउँमा विकृति बढ्दै गएकामा स्थानीयवासीको चिन्ता छ । रासस
No comments:
Post a Comment