साइप्रस पठाइदिने भन्दै सर्वसाधारणको एक करोड रुपैयाँ असुलेर रमेश केसीसहित तीनजना बुधबार रातिफरार भएका छन्। उनीहरुले कम्तीमा ५० जनासँग ५० हजारदेखि ४ लाख रुपैयाँसम्म असुलेको प्रहरीले जनाएको छ।
शुक्रबार उडाइदिने भन्दै आएका केसी एकाएक बुधबार रातिदेखि सम्पर्क विच्छेद भएपछि पैसा दिएका युवायुवती बिहीबार बिहान बुटवल-१२ कालिकानगरस्थित प्रहरी तालिम केन्द्रनजिकै रहेको केसीको जिएमआरई ओभरसिज पुगेका थिए।
'तीन दिनअघि साढे ३ लाख रुपैयाँ बुझाएको थिएँ,' नवलपरासीको भुमहीका मुक्तिराम घिमिरेले भने, ‘एकाएक मोबाइल बन्द गरेछन्, कार्यालय पनि बन्द छ।'
पीडितले इलाका प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले केसीको बुटवल-१२ कालिकानगरस्थित जिएमआरइ ओभरसिज प्रालिमा छापा मारेकोछ। त्यहाँबाट ९९ थान पासपोर्ट, ओभरसिजको लेटरप्याड, स्टाम्प, संस्था दर्ताको प्रमाणपत्र, मेडिकल रिपोर्टको कागजात र कम्युटर एक थान बरामद गरेको छ। फरार हुनेमा केसीसहित शेरबहादुर राना र तुलबहादुर क्षेत्री छन्।
साइप्रसमा सेक्युरिटी गार्ड,स्टोरकिपर, ड्राइभर र केयरगिभरमा ८० हजारदेखि लाख रुपैयाँसम्म तलब हुने बताएकोपीडितहरुको भनाइ छ।
शुक्रबार साइप्रसका लागि उडान हुने भने पछि पैसा बुझाएका कतिपय घरबाट बिदा भएर काठमाडौं पुगिसकेका छन्।ठगिनेहरु रुपन्देही, नवलपरासी, अर्घाखा"ची, गुल्मी पाल्पा र स्याङजाका बेरोजगारयुवायुवती रहेको प्रहरीले जनाएको छ। तीमध्ये कतिपयले पैसा बुझाएको रसिद लिएका छन् भने कतिपयले रसिद लिएका छैनन्।
तीन दिनअघि साढे ३ लाख रुपैयाँ बुझाएका नवलपरासीका घिमिरेले साढे तीन वर्षअघि इराक जाने बेला पनि अनेक दुःख व्यहोरेको बताए। ‘बल्ल बल्ल इराक पुगेर अलि अलि पैसा कमाएर आएको,' उनले भने, 'यहाँ फेरि अर्को दलालले खाइदियो।'
प्रहरीले आवश्यक छानबिनको सिलसिलामा गुल्मीको चोरकाटे घर भई ओभरसिजमा कार्यरत कर्मचारी रुपा भुसाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी बुटवलका प्रहरी निरीक्षक रामेश्वर कार्कीले बताए।
युवायुवतीहरुले ठगिएको भन्दै उजुरी दिएपछि आवश्यक छानबिन र फरारको खोजी सुरु गरेको डिएसपी कृष्ण महतले बताए।
No comments:
Post a Comment