Wednesday, June 27, 2012

४.५ किलो यार्सागुम्बा ल्याउन हेलिकप्टर चार्टर्ड

म्याग्दी (बाबियाचौर), असार १३ - लुटिने डर भएपछि म्याग्दीमा संकलित यार्सागुम्बा हेलिकप्टर चार्टर गरी बुधबार राजधानी पठाइएको छ। असुरक्षाका कारण व्यापारीले हेलिकोप्टर चार्टर गरेर यार्सागुम्बा ढुवानी गरेका हुन्। पैसा बोकेर गाउँमा पुग्दा लुटिने डरले दुई लाख तिरेर माउन्टेन एयरको हेलिकोप्टर चार्टर गरिएको व्यापारी दलमान पुनले बताए।
म्याग्दीको दुर्गम मुदी गाविसबाट यस वर्ष रु.४५ लाख बराबरको यार्सागुम्बा निकासी भएको छ। मुदी गाविसमा पर्ने हिमाली क्षेत्रमा पुगेर बहुमूल्यजडिबुटी यार्सागुम्बा सङ्कलन गरेका मुदीवासीले यार्सागुम्बाबाटै गाउँमा ४५ लाख रुपियाँ भित्र्याएका हुन्।
स्थानीयवासीले वैशाख, जेठ र असार महिनामा हिमाली क्षेत्रमा पुगेर यार्सागुम्बा सङ्कलन गरेका थिए।
व्यापारी पुनले गाउँमै १० लाख ३२ हजार रुपियाँ प्रतिकिलोका दरले यार्सागुम्बा खरिद गरेको जानकारी दिए। मुदीका दुई सय जनाभन्दा बढी यार्सागुम्बा टिप्न धौलागिरी हिमालको फेदीमा पुगेका थिए। एकपटक यार्सागुम्बा टिपेर फर्किएकाहरु यार्सागुम्बा भेटिएको जानकारी पाएपछि पुनः हिमालतिर गएका छन्।
दुई वर्षअघि यार्सागुम्बा किन्न मुदी जाने क्रममा यार्सागुम्बा व्यापारी आसमान गुरुङ ताकमको मच्छिममा लुटिएपछि गत वर्ष र यस वर्ष हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो।
जिल्ला सदरमुकाम बेनीबाट दुई दिन हिँड्नुपर्ने भएकाले र सुरक्षाको व्यवस्था नहुँदा व्यापारीलेमहँगोमा यार्सागुम्बा ढुवानी गर्नुपरेको बताएका छन्। गत वैशाखमा यार्सागुम्बा सङ्कलनको अनुमति लिएका उनीहरुले बुधबार छोडपूर्जी लिएर यार्सागुम्बा निकासी गरेका जिल्ला वन अधिकृत यमबहादुर रुम्बाले बताए।
अघिल्लो वर्ष मुदीमा सङ्कलन भएको ११ किलोग्रामसहित जिल्लाभरबाट १६ किलो ३ सय ५० ग्राम यार्सागुम्बा निकासी भएकोमा यस वर्ष कम निकासी भएको छ। प्रतिकुल मौसमका कारण यार्सागुम्बा नपाइएकाले निकासी घटेको हो। यस वर्ष हालसम्म ७ किलोग्राम यार्सागुम्बा निकासी भएको छ भने प्रतिकिलो रु. १० हजारका दरले राजस्व सङ्कलन भएको छ।- रासस

No comments:

Post a Comment