पूर्ण बस्नेत, हङकङ, असार १३ - चिनिया गैरसरकारी संस्थाले आयोजना गरेको पर्यावरण र स्वस्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीनको चेङ्दु पुगेका एमाले वरिष्ठ नेता माधव नेपालले बेइजिङ जाने कार्यक्रम नरहेको जनाएका छन्। राजधानी बेइजिङमा चिनिया नेताहरूसँग भेटवार्ता हुने सम्भावना नकार्दै उनले त्यस्तो कार्यक्रम नरहेको प्रष्ट्याएका हुन्।
बुधबार चेङ्दुबाट नागरिकलाई पठाएको इमेलमा नेपालले 'सम्मेलनपछि हङकङ भएर सोमबार नेपाल फर्कने कार्यक्रम रहेको' उल्लेख गर्दै राजनीतिक भेटवार्ताको सम्भावना अस्वीकार गरेका हुन्। 'बेइजिङ जाने र चिनिया नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छैन, अनौपचारिक रुपमा हङकङ आउनु हुन्छ', माधव नेपालका भाइ हङकङस्थित महावाणिज्यदूत विनोद नेपालले भने।
दक्षिण पश्चिम चीनको सिचुवानस्थित चेङ्दुमा आयोजित 'पर्यावरण सुरक्षा तथा वृद्धवृद्धाको स्वास्थ्य' सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई नेपालले बुधबार सम्बोधन गरे। सम्मेलनको प्रमुख आयोजक चिनिया संस्था इन्टरनेशनल इको-सेफ्टी कोअपरेसन अर्गनाइजेसन (इस्को) ले आफ्नै सहअध्यक्ष नेपाललाई प्रमुख अतिथिका रुपमा कार्यक्रममा निम्त्याएको हो।
पर्यावरण सुरक्षा विश्वव्यापी राजनीतिक एजेण्डाको हिस्सा बनेको उल्लेख गर्दै नेपालले मानव सभ्याता, बदलिँदो जीवन शैली र स्वास्थ्यबारे लिखित मन्तव्य दिए। 'मानव तथा प्रकृतीबीचको असन्तुलनले बालबालिका र वृद्धवृद्धाको जीवन झन् कठिन बनाउँछ,' प्रकृतिसँग सद्भाव राख्न आग्रह गर्दै नेपालले भने, 'परम्परागत ज्ञान र बुद्धिसँग जोडिएर पृथ्वीमा शान्ति र सद्भाव राख्दै भावी पुस्तालाई शान्तिका साथ बाँच्ने अवस्था सिर्जनागरौँ।'
योग र ध्यान मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहने विधि भएको बताउँदै नेपालले परम्परागत प्राकृतिक चिकित्सा पद्धती आयुर्भेदको महत्वबारे सम्मेलनमा व्याख्या गरे। 'म वेद, आयुर्भेद, ध्यान र योगको क्षेत्रबाट आएको हुँ', इमेलमा पठाएको मन्तव्यमा नेपालले भनेका छन्, 'प्राचीन ज्ञानको यो संयोजन स्वस्थ, शान्ति र प्रकृतिसँग सामन्जस्यपूर्ण तरिकाले जीउँने तरिका हो।'
आयोजकका अनुसार चिनिया धार्मिक दर्शन ताओ विचारमा आधारित भएर पर्यावरण सुरक्षा र सम्वृद्ध जीवनबारे छलफल गर्न केही विदेशी सहित करिब दुई सय मानिस चेङ्दुमा भेला भएका छन्। मंगलबार शुरु भएको सम्मेलन विश्व ताओवादी एसोसिएसनको नेतृत्व चयन गरी शुक्रबार सकिने छ। ताओ विचारमा केन्द्रित सम्मेलनले पर्यावरण सुरक्षा तथा जलवायु परिवर्तनका लागि हस्तक्षेप गर्न सन्देश दिनु पर्ने उल्लेख गर्दै नेपालले भने, 'मानव र प्रकृतिबीच सामन्जस्यका लागि अहिलेको असन्तुलन अन्त गरिनु पर्छ।'
पर्यावरण संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने उद्देश्य राखेर २००६ मा स्थापना भएको इस्को हङकङमा दर्ता भएको चिनिया संस्था हो। गतवर्ष चीनको सियानमा यस्तै सम्मेलन आयोजना गरी संस्थाले नेपाललाई चार वर्षका लागि सहअध्यक्ष मनोनित गरेको थियो। बेइजिङमा मुख्यालय रहेको इस्कोमा नेपाल सहित, बंगलादेश, मंगोलिया, काजकिस्तान, हंगेरीका पूर्व प्रधानमन्त्रीहरू सहअध्यक्ष छन्।
No comments:
Post a Comment