Saturday, June 30, 2012

पुल बनाउन ५ अर्ब ४० करोड ऋण

काठमाडौं, असार १६ (नागरिक) - विश्व बैंकले पुल निर्माण तथा मर्मत गर्न नेपाललाई ६ करोड अमेरिकी डलर (झण्डै ५ अर्ब ४० लाख रुपैयाँ) ऋण सहयोग दिने भएको छ। विश्व बैंकले बिहीबार उक्त सहयोग नेपाललाई उपलब्ध गराउने प्रस्ताव स्विकृत गरेकोहो।
नेपालको रणनीतिक सडक सञ्चालमा पर्ने पुल निर्माण तथा मर्मत गर्न उक्त सहयोग दिने निर्णय गरिएको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। राष्ट्रिय राजमार्ग, पक्की तथा अन्य कच्चि सडक गरी रणनीतिक सडक सञ्जालले राष्ट्रिय महत्वको १० हजार ८ सय किलोमिटर सडक समेट्ने उल्लेख गरिएको छ।
विश्व बैंकले पुल सुधार तथा पुनर्निमाण कार्यक्रम अन्तर्रगत उक्त रकम नेपाललाई उपलब्ध गराउन लागेको हो। 'नेपाल पुल नीतिले लिएका उदेश्यलाई सहयोग पुर्‍याउने उदेश्यले सुरक्षित,विश्वसनिय तथा प्रभावकारी सडक निर्माण गर्न सहयोग दिने निर्णय भएको हो,' विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार उक्त सहयोगमा ३ सय पुलको मर्मत तथा १ सय २१ वटा नयाँ पुल निर्माण गरिने छ।
'दुर्गम क्षेत्रका वासिन्दाको पहुँच बढाउन यस्ता सहयोगलाई हामी निरन्तरता दिने छौं,' विज्ञप्तिमा विश्व बैंककी नेपाल प्रबन्धक ताहशिन सैयदको भनाई उद्वृत गरिएको छ, 'सहयोगले दुर्गम क्षेत्रमा आर्थिक अवसर सृजना गर्न मद्दत पुग्ने आशा हामीले लिएका छौं।'

No comments:

Post a Comment