Wednesday, June 5, 2013

पत्‍नीको छुरा प्रहारले पति गम्भीर

उदयपुर - यहाँका एक युवा पत्नीको छुरा प्रहारबाट गम्भीर घाइते भएका छन्।
त्रियुगा नगरपालिका १ बोक्से घर भई त्रिनपा २ को नयाँ बसपार्कमा डेरा गरी
बसेका खिले राई बुधबार विहान आफ्नै पत्‍नी मीनाको छुरा प्रहारबाट घाइते
भएका हुन्।
ढाडमा गहिरो चोट लागेका उनको जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक
उपचारपछि थप उपचारका लागि वीपी मेमोरिएल स्वास्थ्य विज्ञान प्रतिष्ठान
धरान रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। अघिल्लो दिन
घरबाट निस्केका राई राति अवेरसम्म नफर्केपछि उनलाई खोज्दै विहान मीना उनी
काम गर्ने ठाउँसमम पुगेपछि दुवैबीच भएको सामान्य भनाभन झगडामा परिणत भएको
स्थानीयले बताए।
प्रहरी नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठका अनुसार घट्नास्थलबाटै पक्राउ
परी प्रहरी नियन्त्रणमा रहेकी मीनाले काम गर्ने ठाउँमा सामान्य विवादमै
पतिले थप्पड हानेपछि आवेशमा आएर आफूले पनि छुरा हानेको स्वीकारेकी छिन्।
'घर नआएका पतिको चिन्ता लागेर खोज्दै गएकी थिएँ,' मीनालाई उद्धृत गर्दै
श्रेष्ठले भने, 'किन घर नआउनुभा'को भनेर सोध्दा निहु खोजेर उल्टै दुई
थप्पड लगाएपछि मैले पनि नजिकै छुरी भेटेर रोपिदिएँ।'
छ महिनाअघि अन्तरजातीय प्रेम विवाह गरेका उनीहरु घर छाडेर डेरा लिइ बसेको
बताइएको छ। राई बसपार्ककै एक वर्कसपमा कार्यरत मजदुर रहेको प्रहरीले
जनाएको छ। प्रहरीले राईको स्थिति सामान्य नभएसम्म मीनालाई नियन्त्रणमा
राखेर अनुसन्धान अघि बढाउने जनाएको छ।

No comments:

Post a Comment