Monday, September 17, 2012

तीज मनाउन सात दिनदेखि विद्यालय बन्द

चितवन । पछिल्लो समय बढेको तीज पर्वको तड्कभडकलाई पछ्याउँदै भरतपुरका निजी विद्यालयले तीज मनाउन भन्दै एकहप्ता लामो छुट्टी गरेका छन् ।
तेस्रो त्रैमासिक परीक्षा सुरु हुन दुई हप्ता बाँकी रहँदा एकहप्ता लामो बिदा गरिएपछि अभिभावक रुष्ट बनेका छन् भने विद्यार्थी पूर्णरुपमा प्रभावित बनेका छन् । भरतपुरको निजी विद्यालयको साझा संस्था बेसले सोमबारदेखि आउँदो शुक्रबारसम्म बिदा आहृवान गरेको हो । आइतबारदेखि नियमित पठनपाठन हुने बताइएको छ ।
लामो छुट्टी दिनु न्यायोचित नभएको संस्थागत विद्यालय अभिभावक सङ्घ चितवनका अध्यक्ष राजेन्द्र न्यौपानेले बताउनुभयो । यसरी बिदा दिँदा विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्ने उहाँले बताउनुभयो । बेसअन्तर्गतका ४१ विद्यालयमा १२ हजार विद्यार्थी छन् ।
बेसका अध्यक्ष मोहन लामाले तीजको समयमा विद्यार्थी नआउने र महिला शिक्षक धेरै भएकाले सट्टा बिदामा मिलान हुने गरी बिदा दिइएको बताउनुभयो । त्यस्तै प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले सट्टा बिदाबाट मिलान गरी बिदा गरेको होला भन्दै अनविज्ञता प्रकट गर्नुभयो ।
यता जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले भने यसरी लामो बिदा दिनु गलत प्रक्रिया भएको बताउनुभयो । यस विषयमा आफूले बुझ्ने उहाँले बताउनुभयो । पछिल्लो समय एकातर्फ निजी विद्यालयले मनोमानी ढङ्गले शुल्क बढाएको भन्दै आरोप खेपिरहेका छन् भने आफूखुसी तवरले गरिने यस्ता बन्दले विद्यार्थीको पठनपाठन नराम्रोसँग प्रभावित भएको छ ।
गतहप्ता मात्रै शिक्षकको अधिवेशनको उद्घाटन गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल चितवन आउँदा यहाँका सबै विद्यालय बन्द गरिएका थिए भने त्यसैहप्ता नेकपा- माओवादीको नेपाल बन्दका कारण अर्कोदिन पनि विद्यालय बन्द भएका थिए । रासस

No comments:

Post a Comment