Saturday, September 8, 2012

पाकेटमारीको जालो, २९ जना एक हप्तामा समातिए, सबै पटके

काठमाडौं, भाद्र २३ - राजधानीका खचाखच बस वा भीडमा हिंड्नै हुँदैन, खल्ती
काटिएको पत्तो पाइँदैन । जतिबेला पत्ता पाइन्छ त्यतिबेला पर्स र मोबाइल
दुवै आफ्नो साथ हुँदैन । चाबहिलका विजय न्यौपाने केही दिनअघि यही
समस्याबाट पीडित भए । चाबहिलबाट रत्नपार्क पुग्दा उनको खल्तीमा भाडा
तिर्ने पैसा पनि थिएन, मोबाइल पनि थिएन ।
हरेक दिन दुई-चार जना यस्तो समस्याबाट पीडित हुनेप्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले बस र माइक्रोमा पाकेट मार्ने १९ जनालाई
पक्राउ गरेको छ । अपराध महाशाखाका एसएसपी देवेन्द्र सुवेदीले पक्राउ
परेका सबै पाकेटमार पटके रहेको बताए । उनले जति पटक पक्राउ गरेर कारबाही
गरेर छाडे पनि नसुध्रिने बताए । 'एकपल्ट समातेर ल्यायो, केही दिनमा
छुट्छन्, फेरि त्यहीं पुगिहाल्छन् ।' पाकेटमारलाई सार्वजनिक मुद्दा
चलाइन्छ । सार्वजनिक मुद्दामा २४ दिनभन्दा बढी थुन्न पाइँदैन । उनीहरू
जिल्ला प्रशासनमा न्यूनतम रकम राखेर छुट्ने गर्छन् ।
चाबहिल, गौशाला र बानेश्वर रुटमा पाकेट मार्ने अमर लामा समातिएका छन् ।
मोरङ बयरवनका लामालाई महाशाखाको टोलीले पाकेटमारी गर्दागर्दै समात्यो । ४
वर्षदेखि सार्वजनिक सवारी साधनमा पाकेट मार्दै आएका थिए । त्यही रुटमा
पाकेटमारी गर्ने झापा दमकका सन्दीप तामाङ र नुवाकोटका अजय खड्का पनि
पक्राउ परेका छन् । उनी ३ वर्षदेखि पाकेटमार्दै आएका थिए ।
यस्तै सुनसरीको धरानका भुवन राई, सन्देश राई, काठमाडौं मूलपानीका निश्चल
तामाङ, पाल्पा भालेबासका गोपाल मगर, काभ्रे बन्सुुका रविन वाइबा र
दीपेन्द्र वाइबा छन् । वाइबाद्वय पहिले मेटल वर्कसपमा काम गर्थे । उनले
कलंकी, बालाजु, स्वयम्भू र नयाँ बसपार्क क्षेत्रमा पाकेटमार्नेकाम गर्थे
। त्यही रुटमा सिन्धुलीका श्याम तामाङ,नुवाकोटका विकास तामाङ समेत
पाकेटमारीको काम गर्ने गरेको महाशाखाले जनाएको छ । पेन्टिङको काम गर्दै
आएका उनी ८ महिनादेखि पाकेट मार्दै आएका छन् । विकास गाडीमा खलासीको काम
गर्दै आएका थिए । पक्राउ परेका सबै २५ वर्षभन्दा कम उमेर समूहका छन् ।
अपराध महाशाखाले पाकेटमारीबाट जोगिन सर्वसाधारणलाई विभिन्न उपाय सुझाएको
छ । गाडी वा भीड भएको स्थानमा धेरै पैसा बोेकेर नहिंड्न र हिंड्नैपर्ने
भए पैसा भए जस्तो भान नपार्न भनेको छ । 'भीडभाड हुने क्षेत्र वा किनमेल
गर्दा आफ्नो पर्स र खल्तीको विशेष ख्याल राखौं' अपराध महाशाखाको
वेबसाइटमा लेखिएको छ, 'भीडभाड भएको स्थान वा गाडीभित्र शंकास्पद व्यक्ति
तथा गाडीमा बढी हलचल गर्ने समूहमाथि आफै निगरानी गरौं ।'
खलासीको काम गर्दै आएका रमेश आचार्य कलंकी, बालाजु र नयाँ बसपार्कको
क्षेत्रमा पाकेटमारी गर्दै अएका थिए । काभ्रे कानपुरका कर्साङ तामाङ
कोटेश्वर, सातदोबाटो र ग्वार्को क्षेत्रमा २ वर्षदेखि चोरी र पाकेटमारीको
काम गर्दै आएको प्रहरीले जनाएको छ । यातायातको कर उठाउने काम गरिरहेका
मकवानपुरका गणेश लामा पनि समातिएका छन् ।
ट्याक्सी वा अन्य कुनै सवारी साधनमा चढेको व्यक्तिलाई फ्रुटी खुवाएर
बेहोस बनाउने गिरोहकानाइके धनबहादुर मोक्तान समातिएका छन् । सिन्धुली
सिरथलीका मोक्तानले गौशाला, गांङगबु र बालाजु क्षेत्रमा फ्रुटी खुवाएर
बेहोस बनाउँदै लुट्ने गरेका छन् । यस्तै रत्नबहादुर घिसिङ पनि फ्रुटी
खुवाएर बेहोस बनाउँदै लुट्नेका व्यक्ति हुन् । मोक्तानकै क्षेत्रमा उनी
पनि काम गर्छन् ।५ वर्षदेखि पाकेटमारी र चोरी गर्ने सिन्धुपाल्चोकका हरि
घले, सञ्जीव तामाङ, गोर्खा भीरकोटका राम लामा र तेह्रथुमका विष्णु लिम्बू
समातिएका छन् । प्रहरीका अनुसार पाकेटमारहरू एक्लै भन्दा समूहमा बसेर
लुट्ने गर्छन् । कसैले छेक्ने, धकेलाधकेल गर्ने गरेर लुट्ने प्रहरीले
जनाएको छ ।
पाकेटमारहरू पैसा चोरी गर्न लाग्दा यात्रुसँग पैसा भए-नभएको थाहा पाउन
अनेक जुक्ति लगाउने गरेको महाशाखाका एसएसपी सुवेदीले बताए । उनीहरूले
गाडीमा 'पैसा झरेछ कसको हो ? वा पाकेटमार छ कि क्या हो ? भन्ने गर्छन् ।
'यात्रुले पैसा कहाँ राखेका छन् भन्ने थाहा पाउनलाई ती वाक्यहरू बोल्ने
गर्छन्' सुवेदीले भने, 'पाकेटमारले अन्त सिट खाली हुदाँहँदै एक ठाउँमा
आएर भीड गर्ने, धक्का दिने गर्दै पाकेट मार्न सक्छन् ।' पाकेटमारको आफ्नै
भाषासमेत हुुन्छ । उनीहरूले पैसालाई दह, हजारको नोटलाई सेतो भनेर बोल्ने
गरेको प्रहरीले जनाएको छ ।
पाकेटमारका कोड भाषा
टिनुवा- पाकेटमार
खडी- लुटपाट
घोप्टे- खुकुरी
चिसो- छुरी / चक्कु
धुब्रदाइ- पैसावाला मानिस
कान- मोबाइल
दस्ती तोड- रुपैयाँ निकाल
दह- रुपैयाँ निकाल
थान- हजार रुपैयाँको नोट
गज- एक सयको नोट
सेतो आधा- पाँच सयको नोट
टिप्ली मास्टर- पाकेटमारको नाइके
ढेक- पाकेट मार्दा छेकछाक गर्ने मानिस
ठूला- सादा पोसाकको प्रहरी
लाटा- युनिर्फमको प्रहरी
मानबेचे- प्रहरी भ्यान
डे- अपराध महाशाखाको प्रहरी
टिप- पैसा खसाली टिप्न भनी अरूको खल्तीबाट निकाल्ने
नीलचरी- आर्मी र सशस्त्र प्रहरी
बिरालो- सेतो भ्यान

No comments:

Post a Comment