Saturday, June 23, 2012

पार्टीको नाममा व्यक्तिगत सम्पत्ती जोड्नेलाई कारबाही गरिने

पाल्पा, असार ९ - पार्टीको नामबाट व्यक्तिगत सम्पत्ति कमाउनेमाथि नवगठित नेकपा-माओवादीले छानबिन गरी कारबाहीको दायरामा ल्याउने भएको छ । शनिबार तानसेनमा सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा त्यसका लागि शक्तिशाली छानबिन समिति गठन गर्ने जनाएइको छ ।
'पाल्पामा पनि पार्टीको नामबाट अकुत सम्पत्ती कमाएको भन्ने जनताको गुनासो आएको छ' इन्चार्ज तुलाराम घर्तीमगर (वसन्त) ले भने, 'पार्टीको नाममा कुनै पनि व्यक्तिले सम्पत्ती प्रयोग गरेको भए पनि सार्वजनिक हुनेछ ।' जिल्लामा एकीकृत नेकपा माओवादीका केही नेताले त्यस्तो दुरुपयोग गरेको भए एथेष्ट प्रमाण जुटाएर र वस्तुवादी भएर छानबिन प्रक्रिया अगाडि बढाउने उनले बताए ।
पत्रकार सम्मेलनमा पार्टीको भावी रणनीतिबारे जानकारी गराउँदै राष्ट्रिय भेलाको कार्यदिशा र केन्द्रीय समितिको नीति, निर्णयअनुसार वैचारिक राजनीति संगठनिक र संघर्षसम्बन्धी प्रशिक्षण चलाउने बताए । सञ्चारकर्मीको जिज्ञासामा मूल पार्टी भवन अहिले व्यक्तिको नाममा भए पनि त्यसैमा पहिलो बैठक बसेकाले त्यही बोर्ड झुण्डिने सेक्रेटरी गिरबहादुर थापाले बताए । विगतमा राज्यसमिति र अहिले जिल्ला समितिले सञ्चालन गर्दै आएको रेडियो पश्चिमाञ्चललाई साउन१ गतेदेखि जगतबहादुर पोखरेलको स्वामित्वमै हस्तान्तरण गरिने उनले बताए ।
जिल्लाबाट ५ वर्षदेखि प्रकाशन हुँदै आएको नवसंवाद साप्ताहिक नवगठित माओवादीले नै सञ्चालनगर्नेछ । यस्तै, पाल्पा दैनिकको विषयमा समेत व्यापक छलफल गरिने र टुंगो लगाइने उनले बताए । जिल्ला सहइन्चार्ज धनबहादुर रानाले एकीकृत नेकपा माओवादीको ९२ सदस्यीय जिल्ला कार्यसमिति मध्ये बहुमत नवगठित माओवादीमा रहेको बताए । उनले मगरात राज्य समिति अन्तर्गत २४ जना सदस्य मध्ये १२ जना, २७ वटा भ्रातृसंगठन मध्ये १९, १४ जना सचिवालय सदस्य मध्ये ९ जना नवगठित माओवादीमा रहेको जानकारी गराए ।
तस्बिर नवगठित माओवादीले पत्रकार सम्मेलन गर्दै।

No comments:

Post a Comment