Friday, May 25, 2012

प्रमुख दलका शीर्ष नेताहरुलाई राष्ट्रपतिले के भने?

काठमाडौँ, जेठ १२- सहमति जुटाउन सिंहदरबारमा बसेको निश्कर्षविहीन बैठक लगत्तै शितल निवास पुगेका शीर्ष नेताहरुलाई राष्ट्रपति रामवरण यादवले विवादित विषयलाई छिटो टुङ्ग्याएर जेठ १४ भित्रै संविधान जारी गर्न सुझाव दिएका छन्। संविधानसभाको समय बाँकी छँदै संविधान जारी गर्न राष्ट्रपतिले आग्रह गरेको नेकपा(एमाले)का अध्यक्ष झलनाथ खनालले जानकारी दिए।
राष्ट्रपति यादवसँग भएको कुराकानी उद्धृत गर्दैअध्यक्ष खनालले भने - 'उहाँले बाँकी अवधिमा संविधानका विवादित विषयहरूलाई टुङ्ग्याएर संविधान जारी गर्न र देशलाई निकास दिन प्रमुख पार्टीका नेताहरूलाई आग्रह गर्नुभयो, हामीले उहाँलाई समयभित्रै संविधान जारी गर्ने विश्वास दिलायौं।'
यसैगरी नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले दलहरूलाई मिलेर समयभित्रै संविधान निर्माण गर्न राष्ट्रपतिले सुझाव दिएको बताए।
राष्ट्रपति यादवलाई भेट्न एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा(एमाले)का अध्यक्ष झलनाथ खनाल, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार शीतलनिवास पुगेका थिए।
करिब ४० मिनेट लामो भेटमा नेताहरूले संविधान निर्माणमा आफूहरू प्रतिबद्ध भएर लागेको र विवादित विषयलाई रुपान्तरित व्यवस्थापिका-संसदमा लगेर हल गर्ने समेत बताएका थिए। रासस

No comments:

Post a Comment