Tuesday, May 8, 2012

एमालेलाई सरकारमा ल्याउन माओवादी-कांग्रेसको सहमति

वैशाख २६- माओवादी र कांग्रेस जसरी भए पनि एमालेलाई सरकारमा सहभागी गराउन सहमत भएका छन्। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज भएको छलफलमा यस्तो छलफल भएको हो।
छलफलमा सरकार विस्तारका क्रममा सामान्य कमजोरी भएको स्वीकार्दै दुवै दल ती कमजोरी सच्याएर नेकपा (एमाले) र अरु राजनीतिक दललाई पनि सरकारमा सहभागी गराउने विषयमा वार्ता र छलफललाई सघनरुपमा अगाडि बढाउने निष्कर्षमा पुगेको बताइएको छ।
छलफलमा संविधान निर्माण प्रक्रियामा देखिएका विवादहरुलाई तत्काल हल गर्ने विषयमा पनि दुवै दल सहमत भएका अध्यक्ष दाहालका प्रेस संयोजक सन्तोष पौडेलले जानकारी दिए।
यसैगरी सुदूरपश्चिमलगायत देशका अन्य स्थानमा सङ्घीयताको पक्षमा भइरहेको आन्दोलनलाई कसरी हल गर्ने भन्ने विषयमा पनि छलफल भएको बताइएको छ।
संविधान निर्माणका क्रममा देखिएको शासकीय स्वरुप र राज्य पुनःसंरचनाको विषयमा पनि समान धारणा बनाएर अगाडि बढ्ने विषयमा दुई दल सहमत भएको बताइएको छ।
संविधान निर्माणको क्रममा देखिएका विवादहरु हल गर्न दुई दल सहमत भए अरु राजनीतिक दलहरुलाई पनि सहमतिमा ल्याउन सकिने भएकाले सोहीअनुरुप अगाडि बढ्ने निष्कर्ष निकालिएको छ।
छलफलमा एमाओवादीका अध्यक्ष दाहाल, उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई र नेपाली कांग्रेसका महामन्त्री एवम् उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए। रासस

No comments:

Post a Comment