काठमाडौं, जेठ १० (नागरिक)- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान सभाको म्याद थपका लागि प्रधान मन्त्री बाबुराम भट्टराईले राजिनामा दिनुपर्ने सर्त अगाडि सारेका छन्। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल षडयन्त्रकारी भएको दाबी पनि गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा पूर्व प्रधान मन्त्रीसमेत रहेका नेता नेपालले दुई दिनभित्रमा संविधानका सबै विवादित विषयमा सहमति गरेर प्रधान मन्त्रीले राजिनामा गरे संविधान लेखेर जारी गर्न बढीमा एक महिनासम्म संविधान सभाको म्याद थप्न सकिने स्पष्ट पारे।
उनले भने- दुई दिनमा संविधानका सबै विवादित विषयमा सहमति गरेर फेरि नउल्टिने गरी लक गर्नुपर्छ, प्रधान मन्त्रीले राजिनामा दिएर अर्को सरकार बन्ने भयो भने संविधान जारी गर्न आवश्यक बढीमा एक महिनासम्म संविधान सभाको म्याद थप्न सकिन्छ। माओवादीलाई यथास्थितिमा विश्वास गर्न सकिँदैन, प्रधान मन्त्रीले राजिनामा नगरे म्याद थप्न सकिँदैन।
नेपालले प्रधान मन्त्री भट्टराई र माओवादीप्रतिदलहरुको विश्वास हराएकाले अब प्रधान मन्त्रीले राजिनामा दिएमात्रै विश्वासको आधार तयार हुने स्पष्ट पारे।
उनले पाँच बुँदे सहमति गर्नुअघि नै जेठको छिटोमा ७ र ढिलोमा १० गते प्रधान मन्त्रीले राजिनमा दिएर सहमतिको अर्को सरकार गठन गर्ने सहमति भएको लिखित कागज आफूहरुसँग सुरक्षित भएको खुलासा गर्दै अलिकति पनि नैतिकता भए प्रधान मन्त्रीलाई राजिनामा दिएर सहमतिको सरकार निर्माणको मार्ग प्रशस्त गर्न आह्वान गरे।
एमाले सरकारबाट बाहिरिन्छ कि बाहिरिँदैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा वरिष्ठ नेता नेपालले भने- अहिले अप्ठ्यारो अवस्था छ, स्थायी समितिको बैठक बसेर सो विषयमा निर्णय गर्छौ। अहिले नै सरकारबाट बाहिरिने अवस्थामा पुगेका छैनौं।
माओवादीले षडयन्त्रमूलक ढङ्गले हिँजो साँझ पाँचबजे खाए खा नआए घिच भन्ने गरी अन्तिम बेलामा आफूहरुले धारणा बनाउन नपाउँदै म्याद थपको प्रस्ताव ल्याएको आरोप लगाउँदै नेता नेपालले भने– हामी जसरी पनि जेठ १४ गतेभित्रै संविधान ल्याउने तयारीमा थियौं तर माओवादी संविधान निर्माणलाई टार्दै टार्दै आएको थियो। कारण संविधान सभाको म्याद थप्ने षडयन्त्र पो रहेछ। म्याद थप्ने भए पहिला नै छलफल गर्नु पर्दथ्यो। यसले माओवादी नाङ्गिएको छ।
मङ्गलबार साँझको बैठकमा आफूले संविधानका विवादित विषयमा सहमति बनेपछि जारी गर्न आवश्यक समयका लागि राष्ट्रपतिकोमा गएर संविधानको बाधा अड्काउ फुकाएर एक महिना म्याद थप गर्न सकिन्छ, नभएपाँच बुँदे सहमतिअनुसार दुई दिनभित्रमा विवादितविषयमा सहमति कायम गरेर प्रधान मन्त्रीले राजिनामा गरेपछि आवश्यक समय थप्न सकिने प्रस्ताव गरेको तर प्रधान मन्त्रीले नमानेर म्याद थपको प्रस्ताव गरेको उनले खुलासा गरे।
माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई षडयन्त्र र जालझेलको अर्को नाम भएको आरोप लगाउँदै नेता नेपालले वचन र सहमतिको पालना गर्न रक्तपात भए पनि आफ्नो स्वार्थका लागि जुनसुकै काम गर्न तयार रहेको दावी गरे। उनले भने– प्रचण्ड जस्तो जीवन साथी रोजिएछ खोई के भन्नु। जसले जोसँग पनि स्वार्थका लागि साँठगाँठ गर्न सक्छन्। अहिले सबै पछुताइरहेका छन्। मुलुक चर्को द्वन्द्व र जातीय क्षेत्रीय कलहमा फसेपछि बाँकी पनि पछुताउँछन्। प्रचण्डलाई राष्ट्रपतिको माया छैन। प्रचण्ड नेपालको इतिहासकै सबैभन्दा ठूला षडयन्त्रकारीको रुपमा देखिए।
उनले प्रचण्डलाई हिटलर, पोलपोट र इदिअमिनको जस्तो मनोवृत्ति त्याग्नसमेत साक्षात्कारमा आग्रह गरे। उनले माओवादी एमाले र कङ्ग्रेस फुटाएर आफ्नो स्वार्थ पूरा गर्ने दाउमा रहेको दावी गर्दै माओवादीलाई सो योजनमा फेल र पङ्चर बनाइदिने चेतावनी दिए। नेता नेपालले भने– माओवादी अहिले बहुमतबाट पेलेर अगाडि बढ्ने र सहमति गरेर अन्तिम समयमा धोका दिने योजनामा छ तर हामी त्यसलाई असफल बनाइदिन्छौं।
सर्वोच्च अदालतको सम्मान र संविधान निर्माणका लागि विश्वासको वातावरण निर्माणमा एमालेको प्रयास भएको भन्दै बाँकी विषयमा सहमति बनिसकेको र ११ प्रदेशको पनि नाम खोज्न सकिने उनले स्पष्ट पारे। उनले भने– अदालतको फैसला नटेरेर माओवादी संवैधानिक अङ्गलाई तहसनहस पार्ने योजनामा छ, त्यसलाई हामी सफल हुन दिँदैनौ। उनले थपे– अदालतको चाहना संविधान नबनोस् भन्ने होइन। विवादित विषयमा सहमति भए संविधान जारी गर्न थप समय अदालतले नै दिन सक्छ। म्याद थप्न अदालतले रोक्दैन।
यद्यपि उनले एकल जातीय प्रदेश नभई सबैको पहिचान कायम रहने गरी कसैको पहिचान नगुम्ने गरी सङ्घीयता निर्माण गरिने बताए। जेठ १४ भित्रमै फिनिसिङ नभएको मस्यौदा ल्याउन सकिने अवथा रहेको भन्दै शासकीय स्वरुपमा सहमति भइसकेपछि प्रदेशलाई अनुच्छेदमा राखेर मस्यौदा लेख्न सकिनेसमेत स्पष्ट पारे।
मुलुकको अवस्थामा तत्काल परिवर्तन हुन नसके नेपाल असफल राष्ट्र हुने चेतावनी पनि साक्षात्कारमा दिए।
No comments:
Post a Comment