११ वैशाख , सप्तरी । मागे जतिको दाइजो नल्याएको झोकमा सप्तरीमा एक युवकले गएराति आफ्नी कान्छी श्रीमतीसहित साली , सालो , सासू र ससुराको जीउमा पेट्रोल खन्याएर आगो लगाई हत्याको प्रयास गरेको छ ।
सप्तरीको राजविराज नगरपालिका – २ चनौरा पडरियास्थित ससुराली आएका भारतको सहरसा जिल्ला मोहनपुरा गाउँ निवासी ३५ वर्षीय मो इलयासले मागे जतिको दाइजो नदिएको भन्दै आफ्नी श्रीमती ३० वर्षीया हसिना खातुनसहित छ जनामाथि पेट्रोल खन्याएर हत्याको प्रयास गरेका हुन् ।
उक्त घटनामा परेर हसिनासँगै उनकी १४ वर्षीया बहिनी समिना खातुन , अर्की बहिनी १० वर्षीया मोमिना खातुन , उनका आठ वर्षीय भाइ मो अफजल , हसिनाका बुबा ६० वर्षीय मो अलाउदिन र आमा ५४ वर्षीया कुलसुम खातुन गम्भीर घाइते भएका छन् ।
आगोले पोलेर घाइते भएका सबैजनाको राजविराजस्थितसगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
राति ११ः०० बजेतिर सबैजना एउटै घरमा सुतिरहेका बेला इलयासले सबैजनालाई हत्या गर्ने उद्देश्यलेघर अगाडि र उनीहरुको शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए ।
आगो जिउभरि लागेर पोल्न थालेपछि रोए कराए लगत्तै भेला भएका गाउँलेले तत्काल आगो निभाएर आफूहरुको उद्धार गरेको घाइते हसिनाले बताइन् ।
उनका अनुसार जेठी श्रीमतीको इसारामा श्रीमान्लेआफूलाई पटकपटक दाइजो नल्याएको भन्दै शारीरिक यातना दिँदै आएका थिए । उनी श्रीमान्को यातना सहननसकी माइतीमै बस्दै आएकी थिइन् ।
आगो लगाएर फरार भएका मो इलयासलाई गएराति नै प्रहरीले भारतीय सीमावर्ती गाउँ सप्तरीको तिलाठीबाट पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए ।
Comments - Post Now
No comments:
Post a Comment