Sunday, April 22, 2012

५ दिनको थप समयावधि आज सकिँदै | मुख्य समाचार

५ दिनको थप समयावधि आज सकिँदै१० वैशाख, काठमाडौं । संविधान लेखनमा देखिएका विवादहरुको टुङ्गो लगाउनका लागि दलका नेताहरुले मागेको ५ दिनको थप समय आजदेखि सकिँदैछ ।
संवैधानिक समितिको आज ११ बजे बस्ने बैठकले सहमति जुटाउने प्रयास गर्नेछ भने सहमतिमा नजुटे विवाद समाधानका लागि अपनाउने प्रक्रियाबारे पनि बैठकमा छलफल गर्ने स्रोतले बताएको छ । बैठक सकारात्मक रह्यो, सहमतिको नजिक पुगियो भन्ने प्रतिक्रिया दिँदै भन्दै पटकपटक सहमति जुटाउने प्रयास गर्दै आएका दलहरुबीच अहिलेसम्म कुनै ठोस सहमति जुट्न सकिरहेको छैन । प्रमुख तीन दल र मधेसी मोर्चाबीच शनिबार बसेको बैठक आपसी आरोप प्रत्यारोपमा टुंगिएको थियो ।
दलहरुबीच शासकीय स्वरुप, राज्य पुनर्सरचना, न्यायप्रणाली लगायतका विषयमा सहमति हुन बाँकी नै छ । यसअघि वैशाख ५ गतेसम्म टुङ्गो नलागे ६ र ७ गते संविधान सभामा मतदानबाट निर्णय गरिने सहमति भएको थियो । त्यसको पूर्वसन्ध्यामा ललितपुरस्थित हात्तीवन रिसोर्टमा प्रमुख दलका शीर्षनेताहरुले सहमति जुटाउने भन्दै आवासीय वार्ता गरेका थिए । तर सहमति जुट्न नसकेपछि पुन सहमति खोज्न भन्दै पाँच दिनको समय थपिएको थियो।, थपिएको समय पनि आजदेखि सकिँदैछ ।
भोलिदेखि संविधान सभाको बैठक बस्ने गरी सम्पूर्ण तयारी भइसकेको छ । पछिल्लो कार्यतालिका अनुसार वैशाख १५ गते भित्र संविधानको पहिलो पूर्ण मस्यौदा तयार पारिसक्नु पर्नेछ ।

No comments:

Post a Comment