Sunday, April 22, 2012

कोरियाली भाषा परीक्षा यस वर्ष नहुने

काठमाडौं, वैशाख १० - दक्षिण कोरियामा काम गर्न जान चाहनेका लागि यस वर्ष भाषा परीक्षा नहुने भएको छ । गत वर्ष भाषा परीक्षा उत्तीर्ण भएकाले नै सन् २०१२ र २०१३ सम्मको कामदारको माग थेग्ने हुँदा यस वर्ष भाषा परीक्षा नहुने भएको हो । कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्णलाई नेपालबाट कामदारका रूपमा लगिरहेको छ ।
'यस वर्ष भाषा परीक्षा लिने कुनै पनि काम सुरु भएको छैन,' वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका महेश आचार्यले भने, 'गत वर्ष भएको भाषा परीक्षामा उत्तीर्ण भई रोस्टरमा रहेका कामदारले सन् २०१३ को माग पनि धान्ने भएकाले यस वर्ष भाषा परीक्षा नलिने भएको
हो ।' उनका अनुसार आगामी वर्ष मात्र नयाँ भाषा परीक्षा हुनेछ । सुरुमा यस वर्ष नै १५ हजार कामदार लाने भनिएको थियो । तर हाल आएर ७ हजारको मात्रै माग आएपछि गत वर्ष पास भएका ८ हजार कामदार सन् २०१२/१३ मा जानेछन् ।
गत साउनमा भएको भाषा परीक्षामा ५० हजार सहभागी भएका थिए । जसमध्ये झन्डै १५ हजार पास भएका थिए । यस वर्ष पनि भाषा परीक्षा लिएर छनोट गर्ने आशामा धेरै युवाहरूले कोरियाली भाषा पढिरहेका छन् ।
जसबाट झन्डै ७ हजार कामदार सन् २०१२ मा लाने योजना कोरिया सरकारको छ । 'कोरियाले सन् २०१२ मा ७ हजार नेपाली लैजाने गरी कोटा छुट्याएको छ,' उनले भने, 'त्यसैले बाँकी रहेका ८ हजार कामदार अर्को वर्ष २०१३ जानेछन् ।' कोरियाली भाषा परीक्षाको समय दुई वर्ष भएकाले गत वर्ष उत्तीर्ण भएकाहरू आगामी वर्ष पनि जान पाउनेछन् ।
कोरिया सरकारले प्रत्येक वर्षको सुरुमा मन्त्रिपरिषद्बाट विदेशबाट ल्याउने कामदार संख्या निक्र्योल गर्छ । त्यसबाट कुन कुन देशका लागि कति कोटा छुट्याइने निर्धारण हुन्छ । सन् २०१२ मा नेपालका लागि झन्डै ७ हजार कोटा छुट्याइएको छ । आचार्यले भाषा परीक्षा दिएका व्यक्तिहरू सन् २०१२ मा नगए जान नपाउने हल्ला सहीनभएको बताए । 'भाषा परीक्षा पास भई रोस्टरमा रहेका बाँकी कामदार सन् २०१३ मा जानेछन्,' उनले भने ।
गत वर्षको भाषा परीक्षाबाट तयार भएको रोस्टरमा रहेकामध्ये अहिलेसम्म २ हजार ५ सय कामदार कोरिया गएको उनले बताए । सन् २००७ मा सम्झौता भई कामदार पठाउन थालेपछि हालसम्म झन्डै ११ हजार ५ सय नेपालीकामदार कोरिया पुगेका छन् । अपि्रलपछि कोरियामा कामदार मागसमेत बढेको आचार्यले बताए । 'अहिले एक सातामा साढे तीन सय कामदारसमेत गएका छन्,' उनले भने, 'अप्रिल र मेमा यो संख्या अझै बढ्ने देखिन्छ ।'
थप तीन महिनाका लागि ईपीएस सम्झौता
काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार पठाउन नेपाल र कोरियाबीच भएको सम्झौताको म्याद तीन महिनाका लागि थप भएको छ । अप्रिल १८ (बुधबार) बाट तीन महिना म्याद थप्ने सम्झौता भएको हो ।
'अपि्रल १८ देखि तीन महिनाका लागि सम्झौता भएको छ,' ईपीएसका आचार्यले भने । कोरिया र नेपालबीच ईपीएस प्रणालीमार्फत कामदार पठाउने पहिलो सम्झौता सन्२००७ मा भएको थियो । त्यसपछि २०१० को जनवरी १८ मा पुन दुई वर्षका लागि सम्झौता भएको थियो ।
'त्यो सम्झौताको म्याद २०१२ जनवरी १२ मा सकिएको थियो,' उनले भने, 'जनवरीमा नेपालले नभ्याएकाले त्यसबेला पनि तीन महिना थपिएको थियो ।' अहिले कोरियाले नभ्याएकाले तीन महिनाका लागि थप गरिएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक र कोरियाका समकक्षीबीच म्याद थप सम्झौतामा हस्ताक्षर भएको हो । तीन महिनापछि दुई वर्षका लागि सम्झौता गर्ने योजना छ ।
प्रकाशित मिति: २०६९ वैशाख १० ०९:१७

No comments:

Post a Comment