Friday, August 10, 2012

३० बर्षको बन्देज घरेलु कामदारका लागि मात्र

२६ साउन, काठमाण्डौ । खाडी क्षेत्रमा कामका लागि नेपाली महिलाको उमेर ३० बर्ष कटेको हुनुपर्ने नियम केवल घरेलु महिला कामदारका लागि मात्र लागू हुने भएको छ ।
‘संस्थागत तथा औद्योगिक क्षेत्रमा काम गर्ने महिलाका लागि यो नियम लागू हुँदैन’- बैदेशिक रोजगार बिभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भन्नुभयो । म्यानपावर कम्पनीमार्फत सेवा तथा उत्पादन क्षेत्रमा जाने महिला कामदारलाई पुरुष कामदारसरह खाडी क्षेत्रमा जान दिइने श्रम मन्त्रालयका उच्च अधिकारीहरुले जनाएका छन् ।
खाडी क्षेत्रमा जाने घरेलु महिला कामदारको अबस्था अत्यन्तै दयनीय पाइएको र नियन्त्रण तथा अनुमगनमा समस्या देखिएपछि नयाँ कदम चालिएको भट्टराईले बताउनुभयो । रोजगारदाताले समयमा तलव नदिने, आराम र छुट्टी र खाना नदिने तथा यौन दुब्र्यबहार गर्ने समस्या खाडी मुलुकमा देखिएकाछन् । गत बर्ष करिव २० हजार नेपाली महिला घरेलु महिला कामदारका रुपमा खाडी क्षेत्र गएको बताइएको छ । यसरी जानेमध्ये अधिकांश ब्यक्तिगत सम्र्पकका आधारमा जाने हुनाले अनुगमन र नियन्त्रणमा समस्या परेको भट्टराईले बताउनुभयो ।
यही समस्यालाई समाधान गर्न सरकारले खाडी क्षेत्रमा जाँदा अनिवार्यरुपमा म्यानपावर कम्पनीमार्फत जानुपर्ने ब्यबस्था गर्न लागिएको भट्राइले बताउनुभयो । साथै श्रम मन्त्रालयले बिदेशमा कार्यरत सवै नेपाली कामदारलाई त्यहाँस्थित नेपाली दूतावास तथा मिसनको मातहतमाल्याउने गरि संयन्त्र बनाउने तयारी गरेको बताइएको छ ।

No comments:

Post a Comment