Sunday, August 5, 2012

भारतलाई चिठी लेखेर प्रचण्ड र बाबरामले गद्दारी गरेः बैद्य

२१ साउन, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले युद्धकालमा भारतलाई चिठी लेखेर प्रचण्ड र बाबुराम भट्टराईले ठूलो गद्दारी गरेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय स्वाधीनताका विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा वैद्यले एकातिर भारतसंग आत्मसमर्पण गर्ने र अर्कोतिर भारत विरुद्ध सुरुङ्ग युद्धको घोषणा गर्ने चरित्र चिन्न नसकेर आफूले पनि कमजोरी गरेको बताउनुभयो ।
भारतीय हस्तक्षेप बढेको भन्दै उहाँले प्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्ता टिकाउन र कांग्रेस र एमाले सत्तामा पुग्नकै लागि भारतको अघि लम्पसार परेको बताउनु भयो ।
भारतको हितमा काम गरेर प्रधानमन्त्री डा. भट्टराईले ठूलो राष्ट्रघात गरेको र भट्टराईलाई भारतले कठपूतलीका रुपमा प्रयोग गरेको वैद्यले आरोप लगाउनुभयो ।
लोकतन्त्रको ढोकाबाट छिरेर राष्ट्रिय स्वाधीनताविरुद्ध गम्भिर चलखेल भइरहेको दावी गर्दै बैद्यले अव सशक्त आन्दोलन गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो-लोकतन्त्रकोढोकाबाट परेर राष्ट्रिय स्वाधिनताको पक्षमा गम्भीर अवरोध र आघात पुर्‍याउने काम भइरहेको छ ।’
नेकपा-माओवादीका अध्यक्ष बैद्यले संविधानसभाको चुनाव गर्न वा संविधानसभा ब्युताउन असम्भव भएको भन्दै गोलमेच सभा मार्फत निकास खोज्नुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment