Saturday, August 11, 2012

दोषीलाई कडा कारबाही गरिने : मुख्यसचिव पौडेल

काठमाडौं, साउन २७- मुख्यसचिव लीलामणि पौडेलले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी व्यवसाय सञ्चालन गर्ने व्यापारीमाथि कारबाही गरिने बताएका छन्। उनले उपभोक्ताका अधिकारलाई सुनिश्चित गर्न अवाञ्छित गतिविधि गर्ने व्यापारीमाथि कारबाही थालिने बताए।
उपभोक्ता हित संरक्षण मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव पौडेलले प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुशासन र सुरक्षा प्रदान गर्नाका साथसाथै काला बजारियामाथि नियन्त्रण राख्‍न जरुरी रहेकोमा जोड दिँदै त्यसका लागि अर्धन्यायिक निकायका रुपमा काम गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गर्न गृहकार्य भइरहेको उल्लेख गरे।
उनले वाणिज्य विभाग, उपभोक्ताकर्मी लगायतका नियमन इकाइले राजमार्गका होटलमा पाइने खाद्य सामग्रीको तौल, स्तरीयता र मूल्यको मापदण्ड तयार गरी बजार अनुगमन गर्न सुझाव पनि दिए।
वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक जीवनप्रभा लामालगायतले खाद्य तथा उपभोग्य सामग्रीमा हुने ठगी रोक्न बजार अनुगमन प्रभावकारी ढङ्गले थालिएको बताए। रासस

No comments:

Post a Comment