Wednesday, July 25, 2012

राजस्व असुली लक्ष्यभन्दा दुई अर्ब बढी

काठमाडौं, साउन १० (नागरिक)- आर्थिक वर्ष २०६८/६९ मा तोकिएको लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व असुली भएको छ। गत वर्षको बजेटमा २ खर्ब ४१ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। यो लक्ष्यभन्दा बढी २ खर्ब ४४ अर्ब १४ करोड राजस्व असुली भएको छ। 'कडा परिश्रम, उच्च मनोबल, कार्ययोजनासहितको प्रयासबाट राजस्व असुली बढेको हो,' अर्थसचिव कृष्णहरि बास्कोटाले भने। जेठमा लक्ष्यअनुरुप राजस्व संकलन नभएपछि बास्कोटा देशभरका राजस्व कार्यालय अनुगमन गर्न गएका थिए।
आव २०६७/०६८ को तुलनामा गत वर्ष २२ दशमलव २ प्रतिशतले राजस्व संकलन वृद्धि भएको छ। अघिल्लो वर्ष राजस्वको वृद्धिदर ११ दशमलव ६ प्रतिशत थियो। दुई खर्ब १६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य भएपनि अघिल्लो वर्ष दुई खर्बमात्रै राजस्व असुली भएको थियो।
गत वर्ष बक्यौता राजस्व असुलीमा प्राथमिकता दिएको, घर बहाल करबाट राजस्व बढाएको, मूल्य अभिवृद्धि कर(भ्याट) को नक्कली बिल छानबिन प्रकरणबाट राजस्व बढेको हो। भन्सारमा सूचना प्रविधिको प्रयोगले पनि राजस्व असुली बढाएको बास्कोटाले बताए। राजस्व वृद्धिमा बढ्दो आयात र अमेरिकी डलर बलियो हुँदै जानुको प्रभाव पनि उच्च छ।
भ्याटको ७१ अर्ब ९७ करोड असुली भएको प्रारम्भिक अनुमान छ। राजस्व असुलीको आकारका दृष्टिकोणले दोस्रोमा रहेको आयकर ५२ अर्ब ५५ करोड असुली भएको छ। यो कुल राजस्व असुलीको २२ दशमलव ७ प्रतिशत हिस्सा हो। आयकर असुली वृद्धि हुँदै जानुमा आयकरमा दर्तावालाको संख्या वृद्धि हुँदै जानु, व्यावसायिक कारोबार वृद्धि हुनु र कर प्रशासन प्रभावकारी हुँदै जानु नै आधारभूत पक्ष रहेको बास्कोटाले बताए।
राजस्वमा तेस्रो स्थान भन्सार महसुलको छ। गत आवमा यो महसुल असुली ४३ अर्ब ४१ करोड संकलन गरिएकोछ। यो कुल राजस्व असुलीको १८ प्रतिशत हो। भन्सार महसुल वृद्धि हुनुमा वैदेशिक व्यापारमा भएको वृद्धि, अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धि, भन्सार मूल्यांकनमा गरिएको सुधार, वस्तु वर्गीकरणमा अपनाइएको सतर्कता, भारतीय अन्तःशुल्क फिर्ता प्रणालीमा गरिएको सुधार र सीमावर्ती क्षेत्रमा गरिएको तस्करी नियन्त्रण नै महत्वपूर्ण रहेको वास्कोटाले बताए।
राजस्वका शीर्षकका दृष्टिकोणले चौथो स्थानमा रहेको अन्तःशुल्क ३० अर्ब ३७ करोड असुली भएको छ। बास्कोटाका अनुसार अन्तःशुल्कको दायरा विस्तार गरिएको, केही वस्तुमा अन्तःशुल्कको दरलाई परिमार्जन गरिएको, चुहावट नियन्त्रणमा विशेष प्रयास भएको अवैध कारोबारमा नियन्त्रण गरिएकोलेअन्तःशुल्क राजस्वको असुली वृद्धिदर १३ दशमलव ५ प्रतिशत पुगेको छ।
विश्व व्यापार संगठनको पद्धतिअनुसार आन्तरिक उत्पादनको अतिरिक्त पैठारीमा पनि यो कर असुली गर्न सकिन्छ। नेपालमा एन्टी डम्पिङ र काउन्टरभेलिङ ड्युटी नभएकाले विश्व व्यापार संगठन लगायतमा मुलुकले गरेको प्रतिबद्धताअनुरुप भन्सार दर घटाउँदै लैजान अन्तःशुल्कका नयाँ क्षेत्र पहिचान गर्नुपर्ने अर्थमन्त्रालयले जनाएको छ। विशेषगरी अन्तःशुल्क कर स्वास्थ्यलाई प्रत्यक्ष हानी पुर्‍याउने मदिरा, बियर र चुरोटमा लाग्दै आएको छ।
रजिस्ट्रेसन दस्तुर र सवारी साधन कर आव २०६८/६९ मा ७ अर्ब ९६ करोड असुली भएको छ। घरजग्गाको कारोवारमा केही सुधार भएको र सवारी साधन कर वर्षेनी तिर्नुपर्नेमा कडाइ गरिएका कारण राजस्वअसुलीमा सुधार आएको हो।
अन्य करझै गैरकर राजस्व असुली पनि बढ्दै गएको छ। यो शीर्षकमा आव २०६८/६९ मा ३७ अर्ब ८८ करोड असुली भएको छ। गैरकरमा गरिएको समसामयिक सुधार, बक्यौता असुली गरिएको कडाइ र अर्थले गरेको विशेष समन्वयका कारण यो कर बढी असुली हुन सकेको बास्कोटाले बताए।
दोस्रो जनआन्दोलनपछि आव २०६७/६८ मा बाहेक सबै वर्षमा राजस्वको तोकिएको लक्ष्यभन्दा बढी नै असुली भएको छ। राजस्व असुलीका लागि प्रत्येक विभाग र कार्यालयको कार्ययोजना नै बनाई काम गरिएको अर्थले बताएको छ। राजस्व चुहावटतर्फ चौबीसै घन्टा खुला रहने नियन्त्रण कक्षको व्यवस्था, राजमार्ग गस्ती र सीमा सुरक्षा बलको व्यवस्थाले तस्करी नियन्त्रण भएको दाबी अर्थले गरेको छ।
कुल गार्हस्थ्य उत्पादनको अनुदानमा पनि राजस्व वृद्धिदर सन्तोषजनक छ। आब २०६३/६४ मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा राजस्व असुली १२दशमलव ०५ प्रतिशत थियो। आब २०६८/६९ मा राजस्व असुली उत्कृष्ट रहेकाले जिडिपीको अनुपातमा राजस्व असुली १५ दशमलव ५ प्रतिशतमा पुगेको छ।

No comments:

Post a Comment