भानुभक्त निरौला, सोलुखुम्बु, जेठ २७- सोलुखुम्बुको नेचामा निर्माणधीन बरडाँडा तुइनटार सडक निर्माणको विषयमा गए राति दुई पक्षबीच झडप हुँदा प्रहरीसहित एक दर्जनभन्दा बढी स्थानीय अगुवा घाइते भएका छन्। बाटो कताबाट लाने भन्ने विषयमा कुरा नमिलेपछि कुटाकुट भएको थियो।
कुटाकुटमा ग्रामीण सडक नेचाका संयोजक जसकुमार राई गम्भीर घाइते भएका छन् भने दुई जना प्रहरी र अन्य स्थानीय पनि सख्त घाइते भएका छन्। घटनामा गम्भीर घाइते भएका राईको उपचारका लागि शनिबार मध्याह्न हेलिकोप्टरबाट काठमाडौं लगिएको छ।
घटनालाई नियन्त्रणमा लिने क्रममा नेचा इलाका प्रहरी कार्यलयका प्रहरी जवान प्रभु बास्तोला र अर्का एक जना जवान पनि घाइते भएका छन्। गाविसको निर्णय विपरीत बाटो खन्ने कार्य गरेका भन्दै नेचा बेतघारीका ललित ढुङ्गेल र ग्रामीण सडक संयोजक जसकुमार राईबीचको सामान्य भनाभनमा उपस्थित स्थानीयबीच झडाप भएको हो।
गाविसको निर्णयअनुसार हिमाल दर्शन हुँदै जाने सडक ललित ढुङ्गेलले आफूखुसी अन्तैबाट लान लागेको विषयलाई लिएर झडपको स्थिति उत्पन्न भएको बताइएको छ। ढुङ्गेल समूहतर्फका देशमान राईलगायतका घाइते भएका छन्। अन्य घाइतेको नेचा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
No comments:
Post a Comment