ताप्लेजुङ, जेठ २७- आफ्नै बुहारीको हत्यापछि फरार भएका ताप्लेजुङ फूलबारीका गङ्गाप्रसाद सेन्दाङले तमोर खोलामा हाम फालेर आत्महत्या गरेका छन्। प्रहरी निरीक्षक लोकदर्शन थापाले बुहारीको हत्यापछि पश्चातापमा परेका शुक्रबार साँझ आत्महत्या गरेको बताए।
सोही दिन मध्याह्न उनले बुहारी इन्द्रमाया सेन्दाङको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। फुलवारी २ घर भएका ५८ वर्षिया गङ्गाप्रसादले प्रहार गरेको धारिलो हतियारबाट बुहारी इन्द्रमायाको घटनास्थलमै मृत्यु भएको थियो।
घटनालगत्तै फरार भएका गङ्गाप्रसादले आफ्ना एक छिमेकीकहाँ छोरालाई दिनू भनेर २६ हजार रुपियाँ नगद छाडेको तथा तमोर नदीमा पुगेर खोला तर्ने बहाना गर्दै आत्महत्या गरेको पनि प्रहरी निरीक्षक थापाले जानकारी दिए। 'हामीले तमोर नदीमा माछा मार्न पुगेका एक जना प्रत्यक्षदर्शीलाई भेट्यौं, त्यसपछि गङ्गाप्रसादले आत्महत्या गरेको पुष्टि भयो- थापाले भने।
उनका अनुसार सुरुमा गङ्गाप्रसादले नजिकैको ढुङ्गामा कपडा फुकाएर राखेको र खोलो तर्न सकिन्छ कि सकिँदैन भन्दै माछा मार्नेलाई सोधेर आफूले तरेर देखाइदिने भन्दै खोलामा हाम फालेको जानकारी प्रत्यक्षदर्शीले प्रहरीलाई गराएका छन्। गङ्गाप्रसादका दुवै छोरा भारतीय सेनामा जागिरे छन्।
No comments:
Post a Comment