Thursday, June 28, 2012

प्रधानमन्त्रीले तत्‍काल राजीनामा दिनुपर्छ : गिरी

काठमाडौं, असार १४ (नागरिक)- नेपाल सद्‍भावना पार्टी (आनन्दी देवी)की अध्यक्ष सरिता गिरीले हालको सरकार पूर्णतः असंवैधानिक भएकाले यस्तो परिस्थितिमा अन्य राजनीतिक दलहरुले माग गरेजस्तो राष्ट्रपतिले अर्को प्रधानमन्त्री नियुक्ति गर्नु पनि संविधानसम्मत नहुने ठोकुवा गरेका छन्।
उनले प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल राजीनामा दिएर मुलुकको संकटकालीन अवस्थालाई निकास दिनुपर्ने धारणा राखिन्। उनले भनिन्- संविधान सभा विघटन भएको बेला यो असंवैधानिक कामचलाउ सरकार हो, असंवैधानिक सरकारले गरेको काम वैधानिक हुन सक्दैन।
रिपोर्टर्स क्लब नेपालमा पार्टीको कार्यसम्पादन समितिको गत १३ र १४ गते राजधानीमा बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अध्यक्ष गिरीले मुलुकको बिग्रदो अवस्थालाई समाधान गर्न राजनीतिक दलहरुबीचको सहमतिमा अन्तरिम संविधान २०६३ लाई पुनर्जिवित गरी वैधानिक सरकारको गठनका लागि अगाडि बढ्नुपर्ने भन्दै त्यसका लागि पनि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने जिकिर गरे।
आसार १५ गतेबाट देशव्यापी जनचेतना अभियान आरम्भ गर्ने, संविधान सभा पुनर्जिवित गर्ने ठोस आधार बाँकी रहेको निष्कर्ष रहेको र पार्टी सम्बन्धित पक्षसँग ध्यानार्षण गराउने, राजनीतिक सहमतिका आधारमा अन्तरिम संविधान २०६३ लाई पुनर्जिवित गरी संवैधानिक सरकारको गठनका लागि अग्रसर हुन आह्‍वान गर्नेजस्ता नेपाल सद्‍भावना पार्टी ( आनन्दी देवी) को कार्यसम्पादन समितिले पारित गरेका ६ बुँदे निर्णय सार्वजनिक गरेको थियो।

No comments:

Post a Comment