परिवारजन छटपटीमा-
मिथिलेश यादव, लहान, जेठ २८- तीन दिनदेखि हराइरहेका लहानस्थित एसियन लाइफ इन्सोरेन्सका कर्मचारी अपहरणमा परेको खुलेको छ। अपहरणकारी समूहले फोनमार्फत् फिरौती माग्दै २४ वर्षीय राधेश्याम यादव आफूहरुको कब्जामा रहेको बताएपछियादवका परिवार चिन्तित बनेका छन्।
लहान ४ घर भएका राधेश्याम शुक्रबार वडा प्रहरी कार्यालय पूर्व छेउमा रहेको एसियन लाइफ इन्सोरेन्स कार्यालयबाट अपराह्न घरतर्फ लागे। उनी घर नपुगी मलाई सप्तरीको रुपनी जानुपर्ने भयो भनी बाटैबाट घरमा फोन गरेदेखि बेपत्ता भएका थिए। कामले आउन सकेन होला भन्दै परिवारजनले त्यो दिन उनको खोजी गरेनन्। तर, शनिबार अचानक उनकै मोवाइलबाट फोन आयो। खुशी भएर फोन उठाएको त उताबाट धम्कीपूर्ण अवाजमा राधेश्याम अपहरणमा पर्यो, छुटाउनु छ भने १० लाख बुझाउनू भनेपछि आफूहरु तीनछक्क परेको अपहरितका काका हरिनारायण यादवले बताए।
पटकपटक अपहरितकै मोवाइल नम्बर ९८१४७०३८६३ बाट फोन गरेर छिटो फिरौतीको बन्दोवस्त गर, नभए सोची लेभनेर धम्काइरहेको हरिनारायणले भने। फिरौतीको फोन आउनेबित्तिकै वडा प्रहरी कार्यालय लहानमा जाहेरी दिएर खोजीका लागि आग्रह गरेको उनले सुनाए। कार्यालय समय सकिनेबित्तिकै घर फर्किने उनी त्यो दिन काम विशेषले रुपनी जानु छ भन्दै गएकोहरिनारायणले भने।
अपहरित परिवारका अनुसार राधेश्याम लहान क्षेत्रबाटै अपहरणमा परेका हुन। उनको कसैसँग रिसइवी नभएको र पहिला पनि कहिल्यै चन्दासन्दा माग नभएको अपहरित परिवारले भने। अचानक अपहरणमा पर्नु र १० लाख भारु फिरौती माग्नुले आफूहरुलाई आश्चर्यमा पारेको अपहरित परिवारको भनाई छ।
यता वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक वृजकिशोर चौधरीले भने- अपहरित परिवारको उजुरी आउनेबित्तिकै प्रहरी खोजीका लागि परिचालन गरिएको छ। अपहरितको खोजीमा जुटेको प्रहरी टोलीले शङ्कास्पद आधा दर्जन व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको चौधरीले बताए। उनले भने- फिरौती माग्न प्रयोग गरिरहेको अपहरितको मोवाइलको लोकेसन ट्रेस गरी खोजीमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ। फिरौतीको फोन एउटै लोकेशनबाट आइरहेको छ।
अपहरित छुटाउन माग गरिएको १० लाख भारतीय रुपियाँ बुझाउने हैसियत नभएका अपहरित परिवारमा छटपटी बढेको छ।
No comments:
Post a Comment