काठमाडौं, जेठ २७ (नागरिक) - राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आज हुने प्रदर्शनबाट मुलुकमा नयाँ राजनीतिक शक्तिको उदयहुने दावी गरेका छन्। २६ दलको प्रदर्शनको भोलिपल्ट खुलामञ्चमा थापाले राजतन्त्रको पक्षमा शक्ति देखाउन लागेका हुन्।
टेलिभिजन विज्ञापनदेखि राजधानीका प्रमुख स्थलहरुमा होडिङ बोर्डसहितको व्यापक प्रचारसहित गर्न लागिएको प्रदर्शन र सभाबाट उनले नयाँ शक्तिको उदय हुने दावी गरे। 'मानिसहरुको मुड चेन्ज भइसकेको छ,' सभाको पूर्व तयारीमा रहेका थापाले नागरिकन्युज सँग भने, 'अहिलेका नेताहरुलाई हेर्ने जनताको मानसिकतामा परिवर्तन आइसकेको छ। यसलाई प्रमुख दलका भनिने नेताले बुझ्न सकेका छैनन्।'
थापासँग गरिएको कुराकानीको सार :
२६ दलको शक्ति प्रदर्शनसँग शक्ति देखाउन लाग्नुभएको छ। के उनीहरुको शक्ति उछिन्छु भन्ने लाग्छ ?
प्रतिस्पर्धा नै नभनौं तर हिजो २६ दलको सभाभन्दा धेरै मानिस उपस्थित हुनेछन्। संख्यामा नजाउँ अथवा यति नै भनेर नतोकौं तर मानिसहरुको उपस्थिति ठूलो हुनेछ। विभिन्न नाकाबाट जुलस निस्केर खुलामञ्चमा आउनेछ।
जे भनेपनि हिजो २६ दलले बाबुराम विरोधी सभा गरेको थियो। तपाँईको पनि त्यस्तै विरोध सभा त होला?
कसैको विरोधका लागि सभा गर्न लागिएको होइन। यो नयाँ शक्तिको उदय हुने सभा हो। मान्नुस् आजबाट नयाँ शक्तिको निर्माण हुनेछ। नेपाली राजनीतिमा नयाँ शक्तिको स्थापना गर्नु नै सभाको उद्देश्य हो।
के हो नयाँ शक्ति भनेको ?
नेपाली पहिचानसहितको शक्ति नै नयाँ शक्ति हो। यसभित्र हिन्दु राज्यदेखि नेपाली पहिचान जोडिएका सबै पक्ष र विचारधार समेटिन्छन्।
भनेको राजतन्त्र फर्काउने दाउ ? हिजो मोटरसाइकल र्यालीमा राजतन्त्र जिन्दावादको नारा लागेको थियो नि ?
र्यालीमा नारा लाग्नु अनौठो होइन। सबै विचारधारा राख्नेहरु समेटिएको प्रदर्शनमा यस्ता कुरा आउनु स्वभाविक हो। नेपाली पहिचान जोडिने सबैकुरा समेटिँदा यो पनि समेटिन सक्छ।
तपाँईको सभामा मानिस आउँछन् नै भन्ने आधार के ?
४ वर्षअघि मुलुकमा संविधान सभा बन्दा सहमतिका आधारहरु तयार थिए। ४ वर्षपछि त्यो सभा भंग भइसकेपछि अब कसैको वैद्यता बाँकी छैन। चार दलका नेताले अब सबै कुरा निर्णय गर्न सक्दैनन्। सडकमा उठेका सबै कुरा सुनिनुपर्छ अब। हामीमात्र होइन, जनजाति, ब्राह्मण क्षेत्रीलगायत सबैको कुरा सुनिनुपर्छ। तर, दलहरु सुन्ने पक्षमा छैनन् त्यसकारण पनि यो सभामा भव्य सहभागिता हुन्छ।
भनेपछि प्रधान मन्त्री बाबुरामको चुनावी पक्षमातपाँई उभिनुभयो ?
बाबुरामजी चाहीँ हाम्रो चुनावी मागमा आउनुभयो। हामीले दुई वर्षदेखि उठाएको कुरा हो त्यो। अब कङ्ग्रेस र एमाले पनि चुनावमै आउनेछन्।
सित्तैमा मानिसहरु त आउन्नन, शक्ति देखाउन कति खर्च गर्नुभएको छ ?
हामीलाई स्वस्फुर्त सहयोग भइरहेको छ। स्थानीयस्तरमा चन्दा उठाएर मानिसहरु आएका छन्। आउनेसँगै प्रतिव्यक्ति सय रुपियाँ उठाएका छौं। अमेरिकी राष्ट्रपति बाराक ओवामाले जस्तै ठूलो चन्दाभन्दा सानो रकम उठाउन ठूलो सञ्जाल तयार गरेका छौं। मानिसहरु स्वस्फुर्त आएका छन्।
No comments:
Post a Comment