Friday, June 8, 2012

२२ दलको सभामा सबैभन्दा आक्रामक एमाले नेता नेपाल

काठमाडौँ, जेठ २६ (नागरिक)- सहमति बिना निर्वाचन घोषणा गर्ने सरकारी घोषणाको विरोधमा खुलामञ्चमाभएको विरोध सभामा पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सबैभन्दा बढी आक्रामक देखिए। २२ दलका शीर्ष नेताहरु सहभागी सभामा बोल्ने सबै नेताले सरकारको विरोध गरे पनि नेपालले माओवादीलाई निकै कडा भाषामा आलोचना गरे।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका नेता नेपालले माओवादीले जन्मेदेखि देशलाई दुःखमात्र दिएको बताउँदै भने- 'माओवादी नेपाली आमाको धुन्धुकारी सन्तान हो।'
पैसा र शक्ति भयो भने जेसुकै गर्न तयार हुने माओवादीले यसका लागि देश बेच्नसमेत तयार हुने उनले बताए। माओवादी भएकै कारण जे अपराध गरे पनि सजाय भोग्नु नपर्ने अवस्था र उसलाई चाहिने भन्दा धेरै ठाउँ दिइएकाले त्यसको नतिजा अहिले देशले यसरी भोग्नु परिरहेको भनाई पनि नेता नेपालको थियो।
चर्का भाषण गर्ने अर्का एमाले नेता केपी ओलीलाई समेत नेपालले पछि पारेका थिए। मञ्चमा उक्लने बित्तिकै अरु नेताभन्दा बढी ताली पाएका ओलीले उखानटुक्का मिसाउँदै ठट्यौली पारामा मात्रै माओवादीको आलोचना गरे। उनले माओवादीलाई नक्कली मयुर भएर धोका दिएको बताए। उनका केही ठट्यौली पाराका आलोचनाहरु यस्ता थिए- धेरै डल्ला साबुन खर्च भयो, धेरै बाल्टी पानी खर्च भयो, माओवादीलाई धुन सकिएन। माओवादीको सत्ता कब्जाको हौवा सपनामा खाएको चक्लेट जस्तो, ब्युझिँदा मुख पनि मिठो नहुने, माओवादीको धेरै पटक थुतुनो डढिसक्यो, तर सच्चिँदैन।
पार्टी अध्यक्ष झलनाथ खनाल पनि माओवादीको आलोचनामा कम थिएनन्। उनले मंसिरमा चुनाव नहुने घोषणा गर्दै प्रधानमन्त्रीलाई भने- ' बाबुरामजी बालुवाटार छाडेर सहमतिको बाटोमा आउनोस्, जनताले तानेर सडकमा ल्याउनु नपरोस्।'
अस्पष्ट र लर्बराउने बोलीका कारण आलोचित कङ्ग्रेस नेता शेरबहादुर देउवाले भने संयमित रुपमा प्रष्ट भाषामा सम्बोधन गर्दै वर्तमान संकटलाई समाधान गर्ने विकल्प पनि सुझाए। माओवादीका अध्यक्ष प्रचण्डले आफूमात्र जनजातिको शुभेच्छुक र एमाले कङ्ग्रेसचाहिँ विरोधी भन्ने भ्रम छरेको भन्दै देउवाले उदाहरण पनि दिए किन माओवादीले नेवा, ताम्सालिङ राज्यको इन्चार्ज बाहुन बनाएको त ?। देउवाभन्दा आक्रामक विघटित संविधान सभामा कङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल थिए। उनले गल्ती स्वीकारेर सरकार सहमतिमा नआए उनीहरुलाई घोक्र्याएर पनि ल्याउने वातावरण बनाउने उद्‍घोषगरे।
गठबन्धनमा सहभागी सदभावना आनन्दीदेवीका देवेन्द्र मिश्रले हिन्दीमा बोल्दा कार्यकर्ताहरुले हुटिङ गरी विरोध जनाएका थिए। योसँगै नेता रामचन्द्र पौडेलले हस्तक्षेप गरी माइक खोसेर 'उहाँलाई जे भाषामा बोल्न सहज हुन्छ, त्यही भाषामा बोल्न पाउनु पर्छ' भने। उनले तपाईँहरु हल्ला नगरी बस्नुस् भनी सहभागी कार्यकर्ताहरुलाई निर्देशन पनि दिए। त्यसपछि उनले हिन्दीमै भाषण अघि बढाए।
मौसम विभागका अनुसार ३४.२ डिग्री सेल्सियसको तापक्रममा काठमाडौँ तातिएको थियो। २२ दलको सभा भए पनि पाल लगाएको मञ्च अगाडिको भागमा मात्र कार्यकर्ताहरु थिए। त्यसबाहेक खुलामञ्चका धेरै स्थान रित्तो देखिन्थ्यो।
प्रायः सबै नेताको सम्बोधनको सार माओवादीले सत्ता कब्जा गर्न षड्यन्त्रपूर्ण रुपमा संविधानसभा भंग गरेको भन्ने नै थियो। राष्ट्रपतिले पत्र लेखी प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारलाई कार्यकारी नभई कामचलाउ भएको भनी गरेको घोषणा माओवादीका लागि धक्का भएको पनि उनीहरुले बताए।

No comments:

Post a Comment