Saturday, June 9, 2012

मुठभेडको मुड

बसन्त बस्नेत, काठमाडौं, जेठ २७ - काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले पोखरा पुगेर संविधानसभाको अर्को चुनाव घोषणा गरी मुठभेडबाट देशलाई जोगाएको अभिव्यक्ति दिएकै दिन शुक्रबार राजधानीमा आयोजित विरोध सभामा प्रमुख विपक्षी कांग्रेस, एमालेसहितको २७ दलीय 'राष्ट्रिय लोकतान्त्रिक अभियान'का नेताहरु भने मुठभेडकै मुडमा देखिए।
सभाका ३६ वक्ताले एउटै भनाइ रह्यो- संविधानसभा विघटन गराएर माओवादीले सत्ता कब्जा गर्न खोज्यो। नेताहरूको भाषण सुन्दा राजनीतिक बहसको वैधानिक थलो संसद नभएकाले अबको राजनीतिक घम्साघम्सी सडकमा हुने देखिएको छ।
खुलामञ्च सभाका वक्ताले शालीन ढंगमा विकल्पसहितबोेलेर परिपक्वता भने प्रदर्शन गरेकै हुन्। पहिलेका आमसभाहरूमा बग्रेल्ती सुनिने भद्दा गाली र लाञ्छना शुक्रबार सुनिएनन्।
३० डिग्रीको घाममा स्रोताको न्यून हाजिरीले जनता आन्दोलनको मनस्थितिमा नरहेको देखाउने सभाकै बुद्धिजीवीहरूले टिप्पणी गरे। मञ्चमा बसेका नेताहरूलाई पनि आन्दोलनको अपरिहार्यता बुझाउन हम्मे परेको देखियो।
सिपी मैनाली, साध्यबहादुर भण्डारी, देवेन्द्र मिश्रलगायतका नेता एकअर्काका अभिव्यक्तिसँग विमति जनाइरहेका थिए। कोही अहिलेको सरकार कामचलाउ भइसकेको भनिरहेका थिए भने कोही राजीनामा मागिरहेका।
संविधानसभा विघटनको दोष माओवादीलाई दिँदै सबै वक्ताको भाषण तुरिएको थियो। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले छोटा छोटा वाक्य बोल्दै सहमति अपरिहार्य रहेकामा जोड दिए। माओवादीलाई 'घोक्र्याएर भए पनि सहमतिमा ल्याइछाड्ने' उनको दाबी रोचक थियो।
शीर्ष नेताहरूका भाषणले खासै ताली पाएनन्। बरु एमाले नेता केपी ओली, कांग्रेसका पाका नेता भीमबहादुर तामाङ र सद्भावना आनन्दीदेवीका देवेन्द्र मिश्र जनताको ध्यान तान्न सफल देखिए। मिश्रले हिन्दीमा बोल्न सुरु गरेपछि हुटिङ गर्न थालेका सहभागीलाई कांग्रेसका पौडेलले थुम्थुम्याएका थिए। पछि त मिश्रले नै पटक पटक तिनै सहभागीको ताली पाए।
एउटै दलका एकभन्दा बढी वक्ताले भाषण गरे पनि कुनै महिला नेतालाई बोल्ने मौका पाएनन्। महिला कलाकारको गीतमात्रै प्रस्तुत गरिएको थियो। एमाले उपाध्यक्ष विद्या भण्डारी र कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य सुजाता कोइराला मञ्चमा बसेका थिए।
अत्यधिक गर्मी छल्न खुलामञ्चको बीच भागमा पाल टाँगिएको थियो। सहभागी त्यसमुनि ओत लागेका थिए। वरपरका रुखका छहारीमुनि र विश्वज्योति सिनेमा हल अघिल्तिरसमेत बसेर भाषण सुन्ने भेटिए।
कतिपय पूर्वसांसद भने अलि परका रुखमुनि सियाँल तापेर भाषण सुनिरहेका थिए। अधिकांश सहभागी कुनै न कुनै दलका कार्यकर्ता नै थिए। आआफ्नो दलको झन्डा बोकेका पाका कार्यकर्ता थुप्रै भए पनि युवा सहभागिता कम थियो।
सर्वसाधारण वीर अस्पताल अघिल्तिरको सडक कसका कारण ठप्प छ भन्ने अलमलमा थिए। एकातिर आमसभा चल्दैथियो, अर्कातिर राप्रपा नेपालले रत्नपार्कघुमीघुमी मोटरसाइकल र्‍याली गरिरहेको थियो। आकाशे पुलमा उभिएर दुईतिरकै रमिता हेरिरहेका एक सर्वसाधारण भन्दैथिए, 'पहिले कम्युनिस्टहरू जनवादी गीतका क्यासेट निकाल्थे, अहिले कमल थापाले पनि गीत निकालेछन्।'
राप्रपा नेपालको मोटरसाइकल र्‍याली हेर्न लायक थियो। यो गणतन्त्र स्थापना भएयता राजावादीले राजतन्त्र माग्दै निकालेको सम्भवतः पहिलो 'विशाल र्‍याली' हो। पार्टीको झण्डा र राष्ट्रिय झन्डासँगसँगै बोकेर पुराना राष्ट्रिय गीत बजाउँदै व्यवस्थित जुलुस निकालेका उनीहरू वान वे ट्राफिक रुल मिच्दै उल्टो दिशा घुमेका थिए। रमिता हेर्न आएका एक सर्वसाधारणले टिप्पणी गरे, 'कहिले सासूको पालो, कहिले बुहारीको।'
प्रतिक्रियाहरू

No comments:

Post a Comment