Wednesday, May 2, 2012

१ सय ९७ ठाउँमा सीसीटीभीको निगरानी

- प्रहरीले राजधानीका मूख्य सहर र चोकमा सिसिटीभीबाट गर्ने निगरानी बढाएको छ । आपराधिक गतिविधि नियन्त्रण गर्न उपत्यकाका १ सय ९७ ठाउमा सिसि टिभी राखेर यस्तो निगरानी बढाएको हो । सिसि टिभीले सार्वजानिक स्थानमा हुने शंकास्पद गतिविधिमा संलग्न हुने र सडकका मुख्य चोकमा हुने सवारी दुर्घटना पहिचान हुने प्रहरीले जनाएको छ ।
उच्च प्रविधियुक्त सिसि टीभी चौबीसै घण्टा सञ्चालनमा रहने गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंका १ सय ९४ र ललितपुरमा ३ स्थानमा सिसि टीभी जडान गरिएको छ । प्रहरी प्रवक्ता डिआइजी विनोद सिंहले यसले प्रहरी जनशक्तिको ४० प्रतिशत काम गरेको बताए । उनले भने, 'प्रहरीले गर्नुपर्ने काम नयाँ प्रविधिले गरेपछि जनशक्तिलाई सिरियस काममा लगाउन सकिन्छ ।' यसले धेरै आपराधिक घटनामा फरार व्यक्तिलाई नियन्त्रणमा लिन सहयोग पुगेको उनले जनाए ।
पछिल्लो समयमा राजधानीमा हुने प्रदर्शन पनि सिसि टीभीबाट निगरानी हुने गरेको छ । सार्बजनिक स्थानमा भइरहेका गतिविधिबारे जानकारी लिन मद्दतगरेको प्रहरी अधिकारीहरुको भनाइ छ । सिंहका अनुसार, उपत्यका बाहेक देशभरका १ सय ३४ स्थानमा सिसिटीभी जडान गरिएको छ । 'मुलुकभरमा ३ सय ३१ स्थानमा सीसीटीभीबाट निगरानी बढाएका छौं', सिंहले भने । पूर्वको झापा, इलाम, पाँचथर, मोरङ र सुनसरीमा ४४ ठाउँमा, मध्य पश्चिमाञ्चलको धनुषा, पर्सा, चितवनमा ७० ठाउँमा, पश्चिमाञ्चलको कास्की,रुपन्देही, नवलपरासीमा १९ ठाउँमा र बाँकेमा एक ठाउँमा सीसीटीभी जडान गरिएको उनले बताए ।
सिंहका अनुसार, साइबर अपराध नियन्त्रणका लागि उपत्यकाका साइबर क्याफेमा आउने व्यक्तिको रेकर्ड राख्न थालिएको छ । इन्टरनेटमार्फत् प्राप्त आपराधिक सूचनाको अनुसन्धान, आपराधिक उद्देश्यले म्यासेज पठाउने साइटको अभिलेख राख्नलगाई अनुसन्धान गर्ने भएको छ । 'कम्प्युटरमार्फत् अस्लिल भिडियो, चित्र प्रदर्शन गर्न नपाइने तथा अरुको इमेल आइडी हयाक गर्न सक्ने सम्भावित स्थान र व्यक्तिमाथि निगरानी बढाइएको छ,' प्रवक्ता सिंहले भने ।
प्रहरीले एक बर्षमा साइबर अपराधसम्बन्धी १९ जनालाई मुद्दा चलाएको छ । त्यसमा ८ जना पक्राउ परेपनि अन्य फरार रहेको प्रहरीले जनाएको छ । त्यसमा उपत्यकामा मात्रै १५ वटा रहेको छ । त्यस्तै पूर्वमा ३ र मध्य क्षेत्रमा एक साइबर अपराध सम्बन्धि मुद्धा चलेको छ । १९ जनालाई नै विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्धा दर्ता भएको सिंहले बताए ।
नयाँ सञ्चार सेट आउँदै
प्रहरीले डिजिटल प्रविधिको सञ्चार सेट प्रयोगमाल्याउने तयारी गरेको छ । डिजिटल रेडियो, ट्रङकिङ प्रविधि सञ्चालनका लागि सेट पनि नयाँ प्रयोग हुनेछ । त्यसका लागि चीन सरकारले करिब ३० करोड सघाउने छ । यो प्रविधिले एउटै च्यानलबाट एकै पटक धेरै रेडियो प्रयोगकर्तासंग आपसमा सम्पर्क स्थापित गर्न सकिन्छ । रेडियो प्रयोगकर्तालाई टक र सब ग्रुपमा विभाजन गरी सिमित फ्रिक्वेन्सी प्रयोग गर्न सकिन्छ । यस्तो सेट पहिलो चरणमा काठमाडौ उपत्यका, सिन्धुपाल्चोक र पोखरामा उपलब्ध गराउने प्रहरी प्रवक्ता डीआजी विनोद सिंहले बताए ।
गोपनियता कायम रहने र अरु कसैले मनिटरिङ गर्न नसक्ने, भ्वाइस र डाटा तुरुन्त पठाउन सकिने, मोवाइल फोनमा जस्तै प्राइभेट कल र एसएमएस गर्न सकिने, पीएबीएसमा लिंक गरी रेडियो र अन्य टेलिफोनबीच सम्पर्क गर्न सकिन्छ । त्यस्तै रेडियो सेट हराएमा वा लुटिएमा सिस्टम कन्ट्रोलबाट नै उक्त सेटलाई हटाउन सकिन्छ । सेट प्रयोगकर्ताको लोकेसन समेत ट्रयाक गर्न सकिने तथा अटोमेटिक कल कनेक्सन र इमरजेन्सी कलको सुविधा हुने प्रहरीले जनाएको छ । रेडियो सिग्नल बलियो हुने प्रहरीको दाबी छ । 'यो प्रविधि दक्षिण एसियामा पहिलो हो,' उनले भने ।
यस्तै उक्त सेटबाट सीमा क्षेत्र राजमार्ग तथा नाकाहरुमा शंकास्पद व्यक्तिहरुको डाटा, फिङगरप्रिन्ट जस्ता अभिलेखलाई केन्द्रिय सिस्टम कन्ट्रोलबाट तुरुन्तै प्रमाणीकरण गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले अहिले कन्भेन्सनल रेडियो सेट प्रयोग गर्ने गरेको छ । नयाँ सेट प्रयोग भए पनि पुरानो बिस्तारै बिस्तापित गर्ने सिंहले बताए । 'एनलगबाट डिजिटल प्रविधिमा जान लागेको हो,' उनले भने । अहिले भएको सेट भन्दा चारगुण महंगो पर्ने प्रहरीले जनाएको छ । यो सेट घना बस्ती, पहाडी क्षेत्रमा बढी उपभोगी हुन्छ ।
नयाँ प्रविधि लागु गर्न गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भइसकेको सिंहले बताए । 'चिनिया दुतावाससंग पत्राचार मार्फत कार्य गर्ने चरणमा रहेकेा छ । पहिलो चरणमा १ हजार ८ सय रेडियोसेट आउने अनुमान गरिएको छ,' उनले भने ।
यस्तै प्रहरीले कर्पोरेट युजर ग्रुप मोबाइल प्रयोग बढाएको छ । शान्ति सुरक्षालगायत विभागिय काम कारबाही गर्न सहजका लागि कर्पोरेट सेवा सुरु गरेको प्रहरीले जनाएको छ । गत पुसदेखि सुरु भएको यो सेवामा प्रहरीमा ३ हजार संख्या ग्रुपमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 'बैशाख १ देखि १ सय ६० अक्षरसम्म ग्रुपभित्र दर्जागत छुट्टछुट्टै वा सबैलाई एकैपटक फ्रि ब्ल्क एसएमएस पठाउने सुविधा सञ्चालन भइसकेको छ,' प्रवक्ता सिंहले भने ।

No comments:

Post a Comment