Saturday, September 15, 2012

ट्रकले यात्रु बोक्न नपाउने, बसमा मालबाहक सामान राखे कारबाही

३० भदौ, गुल्मी । गुल्मीमा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले ट्रकलाई यात्रु र बसलाई मालसामान ओसारपसार गर्न नदिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सवारी दुर्घटनालाई न्युनिकरण गर्न यस्तो निर्णय गरेको हो ।
प्रशासनले बाटोको अवस्था र सवारी चालकको लापरबाहीका कारण दुर्घटना बढेको निष्कर्ष निकाल्दै यातायात व्यवसायी र यातायात मजदुरलाई ट्राफिक प्रहरीसँगको सहकार्यमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
बैठकले सवारीचालक र यातायात व्यवसायीलाई तालिम प्रदान गर्ने, सडकमा ट्राफिक चिहृन राख्ने, सवारीका छतमा हुने ओभरलोड हटाउने, सवारीसाधन अनुसारका सेवामात्र प्रदान गर्न लगाउने, सडकमा राखिने निर्माण सामग्री तत्काल हटाउने, सवारीसाधनको सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने लगायतको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पछिल्लोपटक गुल्मीको हर्दिनेटामा भएको दुर्घटनामा १३ जनाको ज्यान गएपछि यो अभियान चलाउन लागिको प्रमुख जिल्ला अधिकारी कबीन्द्र नेपालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment