Tuesday, May 8, 2012

मन्त्रालय नपाए 'सपथ लिन मानेका थिएनन्'

काठमाडौं, वैशाख २६ (नागरिक)- आफ्ना मन्त्रालय नपाए सपथ नलिने भन्ने सर्त मधेसी मोर्चाका नेताहरूले राखेपछि बाध्य भएर हत्तपत्त कार्यविभाजन गर्नुपरेको एकीकृत माओवादीले एमालेलाई बताएको छ। सहमतिवेगर मन्त्रालय बाँडफाँट भएको गुनासो गर्ने एमाले नेताहरूलाई सोमबार माओवादी नेताहरूले आफ्नो 'बाध्यता' सुनाएका थिए।
'ती मन्त्रालय नपाए सपथ लिन्नौं भनेपछि बाध्य भएर मोर्चालाई दिएका हौं,' माओवादी नेताहरूलाई उदृत गर्दै एमाले महासचिव ईश्वर पोखरेलले नागरिकसँग भने, 'तपाईंहरूले बुझिदिनु पर्‍यो।'
सोमबार बिहान कांग्रेससहित र साँझ एमालेसँग मात्र माओवादी नेताहरूले भेटेका थिए।
माओवादी शीर्ष नेताहरूले मन्त्रालय पुनर्संरचनामा विचार गर्न सकिने आश्वासन दिएका छन्। मोर्चालाई दिइएका मन्त्रालय भने सच्याउन नसकिने समस्या पनि उनीहरूले अवगत गराएका छन्।
मन्त्रालय पुनर्संरचना र मधेसी मोर्चाका मन्त्रीहरूको कार्यविभाजन गर्नु कमजोरी रहेको स्वीकार गर्दै उपप्रधानमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'पाँचबुँदे सहमतिमा दुई दिनभित्र मन्त्रीको नाम पठाउने सहमति भएको हो, तपाईंहरूले नपठाउनु अर्को गल्ती हो भनेर एमालेसँग भन्यौं।'
एमालेले भने 'अहिलेकै परिस्थितिमा' सरकारमा सहभागी बन्न नसक्ने अडान माओवादीसँग दोहोर्‍याएको छ। 'पाँच बुँदेबाट विचलित हुँदैनौं, यसको मर्मअनुसार संविधान लेखनलाई उच्च प्राथमिकतामा राखेर सहयोग गर्छौं, सरकारलाई समर्थन छ भनेका छौं,' पोखरेलले भने।
बिहान र दिउँसो भएका भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईर एमालेका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी ओलीलगायत श्रेष्ठ र पोखरेल थिए।
माओवादीसँगको छलफलपछि एमालेले मंगलबार बिहान स्थायी कमिटी बैठक गर्दैछ।

No comments:

Post a Comment