Friday, May 18, 2012

प्रदर्शन र बन्दको होडबाजी *. सबैभन्दा बढी प्रदर्शन बानेश्वरमा *. तीन दिनमा १६ वटा प्रदर्शन *. वर्षमा ९ सय ५९

काठमाडौं, जेष्ठ ५ - संविधानसभाको म्याद सकिने समय नजिकिँदै जाँदा नयाँ संविधानमा आफनो माग समावेश हुनुपर्ने भन्दै राजधानीमा प्रदर्शन र बन्द गर्ने क्रम बढेको छ । जेठ १ गतेपछिको तीन दिनमा मात्रै उपत्यकामा १६ वटा विरोधका कार्यक्रम भएका छन् । पछिल्लो एक महिनामा मात्रै १ सय ५३ वटा प्रदर्शन राजधानीले थेगेको छ ।
दल, तिनका भ्रातृ संगठन, जातीय तथा क्षेत्रीय संगठनहरूले प्रदर्शन गरेका हुन् । अधिकांश प्रदर्शनले राजधानीको सवारी आवागमनमा सबैभन्दा बढी प्रभाव पारेको छ । बन्दसहितका प्रदर्शनले भने शैक्षिक संस्था, कलकारखाना, पसल तथा सवारी आवागमन ठप्प हुने गरेको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता एसएसपी रविराज श्रेष्ठका अनुसार पछिल्लो एक वर्षमा उपत्यकामा कुल ९ सय ५९ वटा विरोधका कार्यक्रम भएका छन । यसमा बन्द र हडताल पनि पर्छ । एक वर्षमा धर्ना र घेराउ सबैभन्दा बढी २ सय १९ पटक भएको छ । दबाबमूलक कार्यक्रम १ सय ४४ वटा भएको श्रेष्ठले बताए ।
यस हिसाबले राजधानीमा दैनिक ३ वटा प्रदर्शन हुने गरेको देखिन्छ । जेठमा भएको १६ वटा विरोध कार्यक्रममा अनशन/आमरण अनशन १, तालाबन्दी २, विरोध कार्यक्रम २, बाटो अवरुद्ध/चक्काजाम ७, ज्ञापनपत्र बुझाउने १ र र्‍याली ३ वटा छन् । संविधानमा आफनो हक सुनिश्चित गर्नुपर्ने माग राखेर विरोधको कार्यक्रम गर्ने बढी रहेकाले प्रहरीको सुरक्षा रणनीति जेठ १४ केन्दि्रत भएको छ ।
उपत्यकामा विशेषगरी विरोध गर्नेहरूको मूल रोजाइबानेश्वर क्षेत्र बनेको छ । निषेधित क्षेत्र घोषणा गरे पनि संविधानसभा स्थल रहेकाले प्रदर्शनकारीले यसलाई बढी रोज्ने गरेका छन् । 'प्रदर्शनका कारण अपि्रय घटना नहोस् भनेर प्रहरीले सुरक्षा बढाएको छ,' प्रवक्ता श्रेष्ठले भने, 'पिकेटिङ, रिजर्भ टोली, स्टाइकिङ, एरिया किल्लेरेन्स टोली परिचालन गरेर जुलुस, कोणसभा व्यवस्थित गरिएको छ ।' प्रदर्शनकारी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समेत संयमता अपनाउन निर्देशन दिइएको उनले सुनाए ।
राजनीतिकशास्त्री लोकराज बरालले बन्द, हडताल र प्रदर्शन गरेर माग पूरा गराउन खोज्ने गलत प्रवृत्ति बढेको बताए । बन्द, हडतालको संस्कार दलहरूले नै सिकाएको उल्लेख गर्दै उनले भने, 'यस्ता कार्यले दलका नेता र सरकारलाई दबाबमा परेरनिर्णय त गर्ला, तर त्यस्ता निर्णय दिगो हुँदैन, क्षणिक हुन्छ । पहिले देश रहनुपर्छ । देश नरहे कोही रहँदैन भन्ने हेक्का बन्द, हडताल गर्नेले बिर्सिनुहुन्न ।'
उपत्यकामा ७ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं- जेठ १४ लाई लक्षित गरी विरोधका कार्यक्रम बढ्न थालेपछि उपत्यकामा थप टोलीसहित ७ हजार ३ सय ५० प्रहरी परिचालन गरिएको छ । 'संविधानसभा भवन वरिपरि विगतको भन्दा निषेधिष क्षेत्र बढाएर सुरक्षा बढाएका छौं,' एसएसपी रविराज श्रेष्ठले भने, 'बन्द, हडतालसँगै अन्य समूहको घुसपैठ रोक्न २४ सै घन्टा सुरक्षाको व्यवस्था मिलाएका छौं ।' राजधानी भित्रने नाकामा चेकजाँचमा कडाइ गरेको उनले बताए ।
संविधानसभा भवनलाई तीन घेराको सुरक्षा व्यवस्थामिलाएको आयुक्तले जनाएको छ । यसमा सभाको भित्री परिसरमा एसपीको कमान्डमा विशेष सुरक्षा फौज तैनाथ गरिएको, भवन प्रवेश गर्ने गेटमा वाक थ्रु गेटबाट आवतजावत व्यवस्था मिलाएको, प्रत्येक दिन तालिमप्राप्त कुकुरद्वारा चेकजाँचको व्यवस्था गरिएको उनले जनाए । 'सीसीक्यामराले संविधानसभा भवनलगायत स्थानको निगरानी बढाएको छ, सादा पोसाकका प्रहरी परिचालित छन्,' उनले भने । उपत्यको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, क्षेत्रीय प्रश्ाासन कार्यालय, राष्ट्रिय अनुसन्धान विभागको 'संयुक्त अपरेसन कोडिनेसन सेल' बनाइएको छ ।
नेतृत्वविहीन बन्द
ब्राहमण, क्षत्री, ठकुरी, दसनामी समाजसहितको संयुक्त संघर्ष समितिले गरेको बिहीबारको बन्द नेतृत्वविहीन देखिएको छ । बन्दका कारण उपत्यकामा सवारी, कलकारखाना तथा शैक्षिक संस्था ठप्प भएका छन् । बिहान सवारी चले पनि ८ बजेपछि ठप्प हुँदै गएको थियो । नेतृत्वविहीन बन्दका कारण सडकमा जथाभावी प्रदर्शन तथा सर्वसाधारणमाथि दुव्र्यवहार भएको थियो ।
बन्दको प्रभाव चक्रपथ क्षेत्रमा परेको छ । सवारी नचले पनि भित्री सहरमा भने बन्दको खासै प्रभाव परेन । मोटरसाइकल तथा केही निजी सवारी चलेका थिए । बन्द गराउने समूहले कलंकीमा तीन वटा बस र दुई एउटा ट्याक्सी तोडफोड गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक धीरजप्रताप सिंहले बताए । तोडफोडमा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । एउटा यात्री बसलाई भने प्रहरीले सुरक्षा दिएर नयाँ बसपार्क पुर्‍याएको थियो ।
ब्राह्मण, क्षेत्री लगायतलाई अन्य जातिबाट हटाएर आदिवासीमा समावेश नभएसम्म अनिश्चितकालीन आमहडताल आह्वान गरेको समितिका अध्यक्ष दिलबहादुर क्षेत्रीले बताए । बन्दकर्ताले बिहीबार काठमाडौंका ४०, ललितपुरमा ८ र भक्तपुरमा १० स्थानमा कोणसभा गरेका छन् । बन्दकर्ताले सामाखुसी चोकमा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दा प्रहरी जवान राजकुमार भट्टराई घाइते भएका छन् । ढुंगा हान्ने महेन्द्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एक वर्षमा भएका विरोधको कार्यक्रमहरू
उपत्यका बन्द ७
अञ्चल बन्द -१
नेपाल बन्द-५
यातायात सेवा बन्द ५
जिल्ला बन्द २
अनशन/आमरण अनशन २५
तालबन्दी-८१
विरोध कार्यक्रम-१३७
मसाल जुलुस-३३
धर्ना घेराउ-२१९
बाटो अवरुद्ध/चक्काजाम-१०५
कोणसभा/आमसभा-९९
ज्ञापनपत्र बुझाएको ६२
र्‍याली-१४४
विरोध जुलुस-१०
पुत्ला दहन-२
जिल्ला सम्मेलन ३
दबाबमूलक कार्यक्रम ५
सिटी जुलुस २
विचार गोष्ठी २
स्रोतः प्रहरी आयुक्तको कार्यालय
प्रकाशित मिति: २०६९ जेष्ठ ५ १२:५६

No comments:

Post a Comment