जेष्ठ १० - सरकारसंग ९ बुँदे सहमतिपछि आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आमहड्तालको कार्यक्रम फिर्ता लिएपछि बुधबारदेखि राजधानी काठमाडौंको जनजीवन सामान्य बन्दै गएको छ । बिहानदेखि सडकमा सवारी साधनको चापदेखिन थालेको छ । सर्वसाधारणले सहजता महशुश गरेका छन् ।
मंगलबार सरकार र सहमतिबीच जातीय पहिचान सहितको संघीयता,समानुपातिक र समावेशी निर्वाचन प्रणालीलगायतका विषयमा सहमति भएपछि बन्द फिर्ता भएको हो ।
तराई क्षेत्रमा बन्द कायमै
वृहत मधेशी मोर्चा तथा थरुहट संघर्ष समितिले छुट्टा-छुट्टै आह्वान गरेको अनिश्चितकालिन बन्दका कारण सम्पूर्ण तराईको जनजीवन अझ पनि ठप्प छ । सुदूरपश्चिम ठप्प भएको झण्डै महिना दिन पुग्नथालेको छ । अखण्ड सुदूरपश्चिम माग गर्नेले सरकारसंग सहमति पछि बन्द फिर्ता लिएपनि त्यहाँ थारुहरुको बन्द कायम छ । थारुले जेठ १ गतेबाट तथा मोर्चाले जेठ ५ गतेबाट अनिश्चित बन्द आव्हान गरेको छ । त्यसअघि ब्राम्हण,क्षेत्री,दशनामी लगायतको संयुक्त संघर्ष समितिको बन्द थियो । लगातार लामो बन्दले तराईको जनजीवन थप कष्टकर भएको छ ।
थारुको बन्द यथावत
दुर्गालाल केसी
दाङ । आदिवासी जनजाती महासंघले बन्द फिर्ता लिएपनि थारु संघर्ष समितिले भने तराईका जिल्लामा बन्द यथावत राखेको छ ।
थारु जातिका मागहरु सम्बोधन नभएकाले बन्द यथावत रहेको समितिका संयोजक तथा माओवादी सभासद् इन्द्रजित थारुले जानकारी दिएका छन् । बन्दका कारण तराइका २२ जिल्लाको जनजीवन प्रभावित भैरहेको छ । तराइका बासिन्दाले दुई सातादेखि बन्दको मार खेपिरहेका छन् ।
बन्द जारी रहँदा तराइको जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण यातायात, बजार, शिक्षण संस्था र कलकारखाना सञ्चालन हुन पाएका छैनन् । जिल्लाका मुख्य बजार र बिभिन्न चोक चोकमा थारु संघर्ष समितिका कार्यकर्ताहरु लाठी लिएर बसिरहेका छन् ।
थप बन्दको घोषणा
कमल पन्थी
गुलरिया ।थारु संयुक्त संर्घष समितिले आफ्ना माग प्रति सरकारले वेवास्ता गरेको भन्दै थप संर्घषका कार्यक्रम आज सार्वजनिक गरेको छ । समितिले जेठ १२ गते सम्म थरुहट तराईका जिल्लामा बन्दको कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ ।
जेठ १ गते देखि थारु संर्घष समितिले निरन्तरत बन्द गर्दे आएको छ । समितिका संयोजक गोविन्द प्रसाद थारुले नेपाल सरकार समक्ष चार बुँदे शर्तहरु औपचारिक रुपमा पठाउँदा सरकारको तर्फबाटऔपचारिक धारण नआएकोले थप बन्दको कार्यक्रम ल्याएको बताए ।
१४ दिनको लगातारको बन्दले बर्दियाको जनजिवन थप कष्टकर बन्दै गएको छ । जिल्लामा लगातारको बन्दले खाना पकाउने ग्याँस,पेट्रोलियम पदार्थ र खाद्यान्य अभाव भएको छ । कालो बजारियाले दोब्बर मुल्यमा ग्याँस लगायत खाद्यान्य बिक्री गर्न थालेको उपभोक्ताहरु बताउँछन् । यसै गरि अखण्ड मध्यपश्चिमको माग गर्दे संर्घष समितिले बैशाख २८ देखि बन्द गर्दे आएको छ । बन्दका कारण यातयात, शिक्षण संस्थान, कलकारखाना, बजार ठप्प छन् ।
No comments:
Post a Comment