Wednesday, November 13, 2013

कुन अञ्चलमा कुन पार्टी अगाडि ?

२७ कात्तिक, काठमाडौं । पहिलो संविधानसभा चुनावमा नेपाली कांग्रेस र
एमालेले १४ अञ्चलमध्ये कुनैमा पनि बहुमत ल्याउन सकेनन् । एमाओवादीले
राप्ती र कर्णाली अञ्चलमा शतप्रतिशत विजय हासिल गरेको थियो भने
धौलागिरीमा एमाले र कांग्रेससँग बराबर बनेको थियो । मेची अञ्चलमा ०६४
सालमा एमाले र एमाओवादी बराबर बनेका थिए ।
कांग्रेस र एमालेले एउटै अञ्चलमा पनि बहुमत हासिल गर्न नसके पनि ३ वटा
अञ्चलमा मधेसवादी दलले बहुमत पाएका थिए । मधेसी जनअधिकार फोरम, सद्भावना
र तमलोपा समेतका मधेसवादी दलले ०६४ सालको चुनावमा सगरमाथा, जनकपुर र
लुम्बिनी अञ्चलमा प्रमुख तीन दललाई जित्न सफल भएका थिए ।
अञ्चलगत आधारमा पहिलो संविधानसभाको चुनावको विश्लेषण गर्दा कांग्रेस एउटा
अञ्चलमा एमाओवादीसँग बराबर भएको थियो भने एमाले एक स्थानमा बराबरीमा आएको
थियो । बाँकी ९ अञ्चलमा एमाओवादी बहुमतमा आएको थियो ।
दोस्रो संविधानसभा चुनावमा एमाओवादीले राप्ती र कर्णालीमा पहिले जितेको
शत प्रतिशत नतिजा कायम राख्नुपर्ने चुनौती छ । तर, राप्तीको दाङमा यसपालि
केही सीट गुम्न सक्ने र प्युठानमा वामदेव गौतम लगायतको उम्मेद्वारी
परेकाले यसपालि एमाओवादीले राप्तीमा आफ्नो वर्चश्व बचाइराख्न निकै
मुस्किल पर्ने देखिन्छ ।
त्यसैगरी कर्णालीमा पनि विगतको शतप्रतिशत नतिजा कायम हुनेमा शंका
उब्जाउने ठाउँ रहेको विश्लेषकहरु बताउँछन् । त्यस्तै सेती र महाकालीमा
अत्यधिक बहुमत ल्याएको एमाओवादीले आफ्नो साख जोगाउनुुनपर्ने चुनौती छ ।
अखण्ड सुदुर पश्चिमको प्रभावका कारण महाकाली र सेतीको सीट घट्न सक्ने
स्वयं एमाओवादीकै नेताहरुले स्वीकार्दै आएका छन् ।
कुल २६ सीट रहेको लुम्बिनी अञ्चलमा ९ सीट जितेर मधेसवादीले बहुमत हासिल
गरेका थिए भने ७ सीट जितेर एमाओवादी दोस्रो शक्ति बनेको थियो ।
लुम्बिनीमा एमाले र कांग्रेसले पनि ५/५ सीटको उपस्थिति जनाएर झण्डै
एमाओवादीकै हाराहारीमा आफूलाई उभ्याउने प्रयास गरेका थिए । यसपालि
एमाओवादीले डा. बाबुराम भट्टराईलाई रुपन्देहीमा उम्मेद्वार बनाएर समग्र
लुम्बिनीमा प्रभाव विस्तार गर्ने रणनीति बनाएको छ ।
जम्माजम्मी ७ सीटमात्रै रहेको धौलागिरीमा यसअघि एमाओवादीले राम्रो नतिजा
हासिल गर्न सकेको थिएन । यो अञ्चलमा एमाओवादी, कांग्रेस र एमालेको
दुई/दुई सीट आएको थियो भने राष्ट्रिय जनमोर्चाले १ सीट जितेको थियो ।
गण्डकी, वागमती र नारायणीमा एमाओवादीको बहुमत आएको थियो । कोशीमा
एमाओवादीकै बहुमत आए पनि जनकपुर र सगरमाथामा मधेसी दलले एमाओवादीलाई
जित्न सफल भएका थिए । यसपालि सिरहाबाट प्रचण्ड र मोरङबाट वर्षमान पुन
अनन्तले उम्मेद्वारी दिएर कोशी र सगरमाथाको साख जोगाउने र सीट समेत
बढाउने रणनीति बनाएको देखिन्छ । तर, एमाले, कांग्रेसका नेताहरुले भने
कोशी, सगरमाथा र जनकपुरमा पनि एमाओवादीको अग्रता तोडिने बताउँदै आएका छन्
। यद्यपि मधेसवादी दलमा आएको विखण्डनको फाइदा उठाउँदै यी अञ्चलहरुमा
पहिलेको भन्दा बढी सीट ल्याउने दाबी एमाओवादी नेताहरुको छ ।
जम्मा १४ सीट रहेको मेचीमा पहिलो संविधानसमा एमालेसँग बराबरी बनेको
एमाओवादी यसपालि ठूलो दल हुन्छ या दोस्रोमा र्झछ, अहिल्यै बताइहाल्न
सकिँदैन । १४ मध्ये ५/५ सीट एमाले र एमाओवादी लगेकेा मेची अञ्चलमा ४ सीट
हात पारेर नेपाली कांग्रेस पनि त्रिपक्षीय प्रतिस्पर्धामै तर, यसपालिको
चुनावमा मेची अञ्चलको यस्तो सन्तुलन फेरिने धेरैले अनुमान गरेका छन् ।

No comments:

Post a Comment