१ बैशाख, काठमाण्डौं । आज नयाँ वर्ष २०७० को पहिलो दिन देश विदेशमा रहेका
नेपालीहरुले धुमधामका साथ मनाईरहेका छन् । वर्षको सुरुवाती दिन राम्रो भए
बर्षभरी नै राम्रो हुने विश्वासका साथ आज नेपालीहरु विहानैदेखि नुहाई
धुवाई गरी आफूलाई मनपर्ने परिकार बनाएर खाने तथा मनपर्ने स्थानमा घुम्न
जाने गर्दछन् । आज विहानै देखि स्थानीयस्तरका मठमन्दिर तथा पर्यटकीय
गन्तव्यमा ठूलो भिड लगोको छ । नयाँ बर्षलाई बिगत केहीबर्षदेखि भने एक
पर्वकै रुपमा मनाउने गरिएको छ भने सरकारले आज सार्वजनिक विदा दिएको छ ।
नयाँ बर्षमा राष्ट्रपतिसहित शीर्ष नेताको शुभकामना
नयाँ बर्षको अवसरमा राष्ट्रपति डा. रामबरण यादबसहित अन्तरिम चुनावी
परिषदका अध्यक्ष खिलराज रेग्मी तथा प्रमुख दलका शीर्ष नेताहरुले शुभकामना
प्रदान गुर्नभएको छ ।
राष्ट्रपति यादबले दिनुभएको शुभकामना सन्देशमा यो नयाँ बर्षले सबैमा
संविधानसभाको चुनावमा जुट्न प्रेरणा मिलोस भन्दै चुनावी वातावरण बनाउन
सबैलाई आग्रह गर्नुभएको छ । संधिवानसभा निर्वाचनबाट संविधान जारी
भएपछिमात्र देशमा अमनचयन र शान्तिस्थापना हुने भएकाले गम्भिर बन्न उहाँले
दलहरुलाई आग्रह गर्नुभएको हो ।
त्यस्तै उपराष्ट्रपति परमानन्द झाले शुभकामना दिँदै सम्पूर्ण नेपाली
दाजुभाइ तथा दिदीबहिनीमा नयाँवर्षले सुख, समृद्धि तथा उन्नति ल्याउने
कामना गर्नुभएको छ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्ष र आन्दोलनबाट
प्राप्त लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागत र सुदृढ गर्नु नै आजको
टड्कारो आवश्यकता हो भन्दै सन्देशमा उहाँले राष्ट्रिय सहमति र सम्वादबाट
सबै पक्षलाई चुनावी प्रक्रियामा ल्याई निर्धारित समयभित्रै संविधानसभाको
निर्वाचन सम्पन्न गर्न सकिएमा जनचाहनाबमोजिमको लोकतान्त्रिक संविधानको
निर्माण हुने उल्लेख गर्नुभएको छ ।
यसैगरी अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले
मन्त्रिपरिषद्का अध्यक्षका रूपमा नयाँवर्षको शुभकामना दिन पाउँदा आफूलाई
खुसी लागेको बताउनुभएको छ ।
नयाँवर्ष २०७० को अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले देशमा
सुशासन, शान्ति सुरक्षा र सेवाप्रवाहका लागि विधिको शासन र मानवअधिकारको
रक्षा गर्दै आर्थिक सामाजिक विकासतर्फ प्रत्येक नेपाली नागरिकलाई आधारभूत
आवश्यकताको सुनिश्चितता गर्नु आजको आवश्यकता र वर्तमान सरकारको लक्ष्य
भएको उल्लेख गर्नुभएको छ ।
यसै अवसरमा शुभकामना दिँदै नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले
प्रत्येक नयाँवर्षले हामी सबैलाई विगतका सबै कुरालाई केलाएर, तिनीहरूको
विश्लेषण गरेर आगामी दिनलाई देश र जनताको हितमा सबल पार्दै जाने प्रेरणा
दिने उल्लेख गर्नुभएको छ ।
यस्तै उपसभापति रामचन्द्र पौडेलले नयाँवर्ष २०७० को उपलक्ष्यमा देश
विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहीनीहरूमा सुख,
शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
मुलुक निर्वाचनतर्फ अग्रसर भएको अहिलेको अवस्थामा सबैको सहभागितामा
निर्वाचन सफल बनाउनु हामी सबैको जिम्मेवारी भएको र निर्वाचनकै माध्यमबाट
मुलुकमा लामो समयदेखि जारी सङ्क्रमणकालको अन्त भएर संविधानसभाबाट
लोकतान्त्रिक संविधान बनाउने काम नयाँ वर्षमा पूरा हुने विश्वास व्यक्त
गर्नुभएको छ ।
यसैगरी पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसरमा स्वदेश तथा
विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नयाँ वर्ष सुखद,
मङ्गलमय एवम् फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले नेपाली जनतामा लामो समयसम्म निराशा, वेदना र
भविष्यप्रतिको चिन्ता रही रहनु हँुदैन भन्नुभएको छ ।
यसैगरी नेपाली नयाँवर्षको अवसरमा अमेरिकी विदेशमन्त्री जोन केरीले
अमेरिकी राष्ट्रपति बाराकओबामा र अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई
नयाँवर्ष २०७० को हार्दिक शुभकामना दिनुभएको छ ।
सन्देशमा नेपालमा राष्ट्रिय एकता र सद्भावका रूपमा मनाइने तथा संसारभरिका
नेपाली पृष्ठभूमिका मानिसकालागि नयाँ सुरुवात र सम्भावनाहरूको चिन्तन
गर्ने यो अवसर भएको उल्लेख गरिएको छ । "नेपालको अटल मित्रको नाताले
अमेरिकाको अपेक्षा रहेको छ कि आउने वर्षमा चुनाव सफलताका साथ सम्पन्न
हुनेछ र नयाँ संविधान लेखनको कार्य पूरा हुनेछ, जसले तपाईंको देशलाई
सम्पन्नता र प्रगतिको मार्गमा राख्नेछ" सन्देशमा उल्लेख छ ।
No comments:
Post a Comment