काठमाडौ, भाद्र १३ - औद्योगिक वातावरण नभएकाले आयातमा परनिर्भर बनेको मुलुकको चीनतर्फको व्यापार खाडलमा पनि ठूलो अन्तर देखिएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०६८/२०६९ मा चीनबाट ५२ अर्ब ९२ करोड ४९ लाख रुपैयाँको आयात भयो भने ९७ करोड ९४ लाख ४६ रुपैयाँको मात्र निर्यात हुन सक्यो । आयातको तुलनामा निर्यात हिस्सा २ प्रतिशत पनि होइन ।
आफ्ना उत्पादनले विश्व बजार पिटिरहेको चिनियाँ सामग्रीको आयात पनि बर्सेनि बढ्दो छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष झन्डै १६ प्रतिशत बढीले आयात भएको थियो ।
आर्थिक वर्ष २०६७/६८ मा ४५ अर्ब ६३ करोड ५९ लाखको सामान आयात भएको थियो । त्यसभन्दा अघिको वर्ष ३९ अर्ब २१ करोड ८२ लाख रुपैयाँको आयात भयो ।
आयात बर्सेनि बढ्नुको प्रमुख कारण मुलुकमा औद्योगिक वातावरण नभएर आन्तरिक उत्पादन नहुनु रहेको उद्योगीहरूको भनाइ छ । यता भन्सार अधिकारीहरू भने अवैध आयातलाई नियन्त्रण गरिएकाले वैधानिक आयात बढेको देखिएको बताउँछन् । 'अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि र भन्सारमा भएको कडाइले आयात बढेको देखिएको हो,' नेपाल हिमालय सीमापार वाणिज्य संघकामहासचिव ओमप्रसाद उप्रेतीले भने । उनले डलरको मूल्य वृद्धिले प्रत्येक सामग्रीमा २५ देखि ५० रुपैयाँले बढेको बताए ।
चीनबाट विशेषगरी इमर्जेन्सी लाइट, राइस कुकर, पेल्ट, अदुवा, सर्ट, टिसर्ट, जर्सी, बच्चाका तयारी पोसाक, छाता, बोतल, पंखा, एयर कन्डिसनरलगायत सामग्री आयात भएको देखिन्छ । यताबाट चाहिँ कृषिजन्यवस्तु नगण्य मात्रामा निर्यात भएको देखिन्छ ।
संघका अनुसार बितेको वर्ष चामल र गहुँको निर्यातभएको थियो । चीनमा जिरा, मैदा, गलैंचा, कफी, बाँसबाटबनेका मुडा, खुसार्नी धुप, अचारलगायत समग्रीको माग निकै छ । तर व्यवसायीले निर्यात गर्न सकिरहेका छैनन् ।
व्यापारीका अनुसार तातो पानी भन्सारमा भाषाका कारण धेरै समस्या भएकाले सरकारले सूचना केन्द्र स्थापना गरे निर्यातमा सुधार हुन सक्ने उप्रेतीले बताए । 'वाणिज्य तथा आपूर्ति मन्त्रालयले टेन्डर निकालेपछि बल्ल गहुँ र चामलको निर्यात भएको छ,' उनले भने, 'जति पठाउन सके देशलाई फाइदा
हुन्छ ।' संघसँग ३ हजार व्यापारी आबद्ध छन् ।
No comments:
Post a Comment