काठमाडौ, भाद्र १३ - बजार अनुगमन टोलीले राजधानीको कोटेश्वरस्थित त्रिपुरा खाद्य स्टोरका सञ्चालकलाई अत्यधिक नाफा खाएर चिनी बेचेको अभियोगमा मंगलबार पक्राउ गरेको छ । स्टोरको गोदाममा सोमबार भेटिएको ठूलो परिमाणको चिनीमध्ये २ सय बोरा रातारात गायब भएको पाइएको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नेतृत्वको वाणिज्य विभाग, प्रहरी, उपभोक्ता अधिकारवादीसहितको टोलीले स्टोरका सञ्चालक उमेश धौबन्जारलाई पक्राउ गरेकोहो । टोलीले उनको गोदाममा सिलबन्दीसमेत गरेको लामिछानेले जानकारी दिए । सिलबन्दी गरिएको गोदाममा ५० किलो तौलका १ सय ४० बोरा चिनी रहेको टोलीको दाबी छ ।
वाणिज्य विभागको टोलीले सोमबार गरेको अनुगमनमा उक्त स्टोरमा ३ सय ४० बोरा चिनी फेला परेको विभागका निर्देशक शंकर पौडेलले विज्ञप्तिमार्फत बताएका थिए । त्यस दिन ग्राहक बनेर गएको टोलीलाई सञ्चालकले चिनी नभएको बताएका थिए । टोलीले स्टोर खोल्दा त्यति ठूलो परिमाणमा चिनी फेला परेको
थियो । स्टोरमा उल्लेख्य मात्रामा चामललगायत खाद्य सामग्रीसमेत भेटिएको टोलीले जनाएको थियो ।
अनुगमन मात्र गरेर फर्केको टोलीले त्यसको जानकारी दिँदै कारबाहीका लागि जिल्ला प्रशासनमासिफारिस गरेको थियो । त्यसैका आधारमा सोमबार प्रशासनको टोली पुग्दा गोदामबाट २ सय बोरा चिनी गायब भएको थियो । 'विभागका अधिकारीसमेत अनुगमनमा जाँदा सोमबार देखिएको चिनीको परिमाण मंगलबार भेटिएन,' टोली प्रमुख लामिछानेले भने, 'त्यति धेरै चिनी कहाँ गयो भन्ने खोजीकै विषय छ ।' विभागले चिनी गायब भएकोबारे केही बताएको छैन । यसबारे विस्तृत जानकारी आफूलाई नआएको विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले बताए ।
टोलीले स्टोबाट ७८ रुपैयाँ किलोका दरले चिनी बेचेको पाएको थियो । उनले देखाएको सक्कली बिलमा भने ५६ रुपैयाँ किलोले खरिद गरेको देखिएको टोलीले जनाएको छ । स्टोर सञ्चालक धौबन्जारले बिक्री गर्दा बिल भने ५७ रुपैयाँको बनाउने गरेका थिए । टोलीले बिललगगायत कागजात नियन्त्रणमा लिएको लामिछानेले जानकारी दिए । चिनीको कालोबजारी गरेको आरोपमा अनुगमन टोलीले सोमबार बानेश्वर क्षेत्रबाट तीन जनालाई पक्राउ
गरेको थियो ।
बजारमा कृत्रिम मूल्यवृद्धि भएको जनगुनासो आएपछि सरकार सोमबारदेखि आक्रामक रूपमा बजार अनुगमनमा उत्रिएको छ । विभिन्न निकायका पदाधिकारीसहितका चार वटा टोलीले राजधानीका बालाजु, खुसिबु नयाँबजार, भक्तपुर, कालिमाटी, कोटेश्वरलगायत स्थानमा अनुगमन गरेको वाणिज्य विभागको टोलीले जनाएको छ ।
वाणिज्य विभागका महानिर्देशक बिडारी नेतृत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मासहितको टोलीले कालिमाटीस्थित साल्ट ट्रेडिङको गोदाम अनुगमन गरेको थियो । .टोलीले डिलर्सहरूलाई चिनी वितरण गरिएको खाता विवरण प्रस्तुत गर्न ट्रेडिङलाई निर्देशन दिएको छ । उसले चिनीको मूल्यवृद्धिको कारण प्रस्ट पार्नसमेत भनेको छ । अनुगमनका क्रममा ट्रेडिङमा पर्याप्त मात्रामा चिनी स्टक रहेको पाइएको छ । ट्रेडिङको गतिविधिबारे थप अनुसन्धान जारी रहेकोउल्लेख गर्दै विभागका महानिर्देशक बिडारीले यसबारे विस्तृत जानकारी बुधबार मात्र सार्वजनिकगर्ने बताए ।
अनुगमन टोलीले बालाजुको मौसम टे्रड कन्सर्नको मैदामा स्टिकर नभएको, गोदाम फोहोर भएको, चामलको खरिद बिल नदेखिएको, मूल्यसूची नदेखिएको जनाएको छ ।
यस्तै नयाँबजारको प्रधान स्टोर नवीकरण नभएको, मूल्यसूची अद्यावधिक नभएको, नापतौलको प्रमाण नवीकरण नभएकाले सम्पूर्ण प्रक्रिया पूरा गरी ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको जनाइएको छ । त्यहीँकै महानगर खाद्य किरानाले चिनीको खरिद बिक्री बिल देखाउन नसकेकाले सात दिनभित्र विभागमा बोलाइएको छ ।
No comments:
Post a Comment