काठमाडौं, श्रावण २१ - राष्ट्रपति रामवरण यादवले संकट निकासका लागि आइतबार विघटित संविधानसभाका २७ दलसँग शीतल निवासमा छलफल गरेका छन् ।
संविधानसभा विघटन भएको दुई महिनामा पनि निकास ननिस्केपछि राष्ट्रपतिले दिवाभोजसहित नेताहरुलाई बोलाएका हुन् । राष्ट्रपतिले मुलुकप्रतिको दायित्वबोध गर्दै निकास निकाल्न आग्रह गरे पनि नेताहरुले आ-आफ्नै अडान छाडेनन् । यसपटकको भेट पनि राष्ट्रपतिले सहमतिका लागि आग्रह गर्ने, नेताहरुले दलगत धारणा राख्नेमै सीमित रहृयो ।
कतिपय नेताहरु आफ्नो भनाइ राखेरै बिचैमा निस्किए । शीतल निवासमा छलफल चलिरहँदा प्रधानमन्त्री बाबुराम भट्टराई आधा घण्टा निस्किएर फर्के भने कांग्रेस नेता शेरबहादुर देउवा, उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदार, कांग्रेस केन्द्रीय सदस्य रामशरण महत पनि बिचैमा बाहिरिए ।
शीतल निवासबाट बाहिरिएका नेताहरुको प्रतिक्रिया
विजयकुमार गच्छदार
नयाँ जनादेशको विकल्प छैन भन्ने धारणा मैले राखे । लोकतान्त्रिक मुलुकमा हरेक पाँच वर्षमा चुनाव हुन्छ । संविधानसभा चुनाव भएको पनि पाँच वर्ष भयो। मंसिर ७ मा चुनाव नहुने भएपछि कानुनी र संवैधानिक निकास खोजी राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ ।
रामशरण महत
एमाले र कांग्रेसले सहमति सरकारले मार्गप्रसस्तगरेपछि सहमतिको प्रक्रिया सुरु हुन्छ भनिरहेका छन् । माओवादी संविधानसभा विवादित विषयमा सँगसँगै सरकारमा सहमति जुटाऔं भनिरहेको छ । अविश्वास यहिँ छ । राष्ट्रपतिले संविधानसभा विघटन भएको दुई महिना बितिसक्यो, निर्वाचनको तयारी हुन सकेन, आर्थिक प्रशासनिक समस्या बढेका छन् । संवैधानिक रिक्तता हुने अवस्थामा चाँडै सहमतिमा पुग्नुपर्छ भन्नुभयो ।
शेरबहादुर देउवा
कोही संविधानको कुरा गर्दछन्, कोही सरकार भन्छन् । हामी (कांग्रेस) चाँही राष्ट्रपतिले अलिक कदम चाल्नुपर्छ भन्छौं ।
रामचन्द्र पौडेल
सहमति निकाल्न छलफल भइरहेको छ । विगतमा भएको सहमतिलाई आधार मानेर निकास निकाल्ने प्रयास भइरहेको छ । नयाँ सरकार बनेपछि के गर्ने भन्ने विषयमा पनि छलफल चलिरहेको छ । आजै सहमति निस्केलाजस्तो चाँही लाग्दैन ।
No comments:
Post a Comment