फलेवास (पर्वत), भाद्र १४ - पूर्व जलस्रोत राज्यमन्त्री नारायण शर्मा पौडेलका छोराले दुई स्थानबाट नागरिकता लिएको आशङ्कामा छानबिन सुरु गरिएको छ । पूर्व राज्यमन्त्री पौडेलका छोरा सागर शर्मा पौडेलले पर्वत र चितवनबाट नागरिकता लिएको आशङ्कामा छानबिन सुरु गरिएको हो ।
पर्वत कटुवाचौपारी–५ घर भई लामो समयदेखि चितवनमाबस्दै आउनुभएका पौडेलको नागरिकता चितवन जिल्लाकै छ । उहाँका ४७ वर्षीय छोराले अहिलेसम्म नागरिकता नलिएको विवरण पेस गरेर जिल्ला प्रशासन कार्यालय(जिप्रका) पर्वतबाट गत साउन ४ गते ५१–०१–६९–००९२१ नम्बरको नागरिकता सागर शर्मा पौडेलको नाममा लिएका हुन् ।
पूर्वराज्यमन्त्रीको परिवारका सबै सदस्यको चितवनबाटै नागरिकता बनेकाले सागरको समेत चितवनबाट यसअघि अरु नै नाममा नागरिकता लिइसकेको अनुमान गरिएको छ । सागरले चितवनबाट नागरिकता र राहदानी लिई विदेशसमेत गएर आएको बताइन्छ । ‘पहिलेको नागरिकता को नाममा उनी कुनै अपराधमा फसेकाले नयाँ नाममा पर्वतबाट नागरिकता लिएको हुनुपर्छ’ स्रोतले भन्यो । उक्त नागरिकता मा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको निर्देशनमा सहायक प्रजिअ तुलसी पौडेलले हस्ताक्षर गरेका हुन् ।
जिप्रकाले दोस्रो नागरिकता लिएको आशङ्का गरी उनलाई राहदानी नदिन परराष्ट्र मन्त्रालयमा सिफारिस गरेको छ । सागरले पर्वतबाट राहदानीका लागि सिफारिस नलिएको तर अन्यत्रबाट बसाइँसराइकाआधारमा सिफारिस गरेर लिन सक्ने आशङ्का गर्दै गत साउन २४ गते पत्र पठाइएको थियो भने साउन २९ गते नागरिकता आशङ्काको घेरामा परेको भन्दै अनुसन्धान पूरा नभएसम्म नागरिकता नदिन भनिएको छ । ‘अनुसन्धान जारी रहेसम्म निज(सागर) राहदानी लिन आएमा जिप्रका वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न पठाइदिनुहोला’ भनिएको छ । जिप्रका स्रोतले छानबिन भइरहेको र अहिलेसम्म यकिन नभएकाले आशङ्काकै घेरामा रहेको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी केसीले समस्या परेको भन्दै आएकाले विश्वासका आधारमा नागरिकता दिइएकोस्वीकार गर्नुभयो । “पहिले लिएका छैनन् भन्ने विश्वासका आधारमा दिइएको हो”–उहाँले भन्नुभयो— “गाविस सचिवले सिफारिस गर्न नमानेपछि आशङ्कामा छानबिन थालेका हौँ ।”
नागरिकता को प्रमाणपत्र लिनका लागि गाविस सचिवले सिफारिस गर्नुपर्छ । कटुवाचौपारी गाविसका सचिव शिवप्रसाद अधिकारीले नागरिकता को सिफारिस गर्नका लागि केही समय बुझ्नुपर्ने बताएपछि जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको सिफारिस छ । सापकोटाले स्थानीय विकास अधिकारी कृष्णप्रसाद लम्सालको निर्देशनमा सिफारिस गरेको बताइएको छ । स्थानीय विकास अधिकारी आफैंले सिफारिस नगरी योजना अनुगमन तथा प्रशासकीय अधिकृतमार्फत सिफारिस गराएकाले त्यो वैधानिक नहुने स्रोतको दाबी छ ।
नागरिकता लिनका लागि अस्थायी अभिलेखमा नाम हुनुपर्ने तथा शैक्षिक योग्यताका प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ तर उक्त नागरिकता मा कुनै प्रमाणपत्र पेस नगरिए पनि नागरिकता दिइएको छ । सर्वसाधारण जनताले नागरिकता माग्न आउँदा अनेक प्रमाण खोज्ने स्थानीय प्रशासनले ठूलाबडाको भनेगैरव्यक्तिको सिफारिसकै आधारमा नागरिकता बनाएको प्रशासनकै एक कर्मचारी बताउँछन् । गाविस सचिवलाई पछि सिफारिस गराउने गरी अधिकृत सापकोटालाई सिफारिस गराए पनि गाविस सचिव अधिकारीले सिफारिस गर्न मानेका छैनन् । नागरिकता को सिफारिस गर्ने अधिकार स्थानीय निकायबाहेक अरुलाई छैन ।
नागरिकता मा बाबु नारायण शर्मा पौडेल र र काका जिविस पर्वतका पूर्वउपसभापति राम शर्मा पौडेललेपहिले नागरिकता नलिएको भनी सनाखत गरेका छन् । उनी लामो समयसम्म भारतको आसाममा बसेका थिए । पूर्व राज्यमन्त्री शर्माको आर्थिक अवस्था सामान्य र राजनीतिक आन्दोलनमा लागेका कारण मावलीले नै सागरलाई पालनपोषण गरेको बताइएको छ । उनले अहिलेसम्म नागरिकता नलिएको र विवरण पनि झुटो नभएको काका राम शर्मा पौडेलले बताए ।
लामो समयसम्म आसाममा बसेकाले नेपाली नागरिकता नलिएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी केसीले भने दुई ठाउँबाट नागरिकता लिएको भेटिएमा छानबिन गरी रद्द गर्ने र कानुनी प्रक्रिया सुरु गरिने बताए । ‘अहिले नै दोहोरो हो भन्न सकिने अवस्था छैन’ उनले भने, ‘छानबिनका क्रममा त्यस्तो देखिएमा कानुनी कारबाही गर्छौं ।’
No comments:
Post a Comment