विनोद ढकाल- सिरहाका जितेन्द्र झा यसै वर्ष रोजगारीका लागि कतार गएका छन्। दुई वर्षको सम्झौता गरेर उनी निर्माण मजदुरका रूपमा कतार गएका हुन्। घरको आर्थिक अवस्था सुधार्नु उनको मुख्य उद्देश्य हो। भन्छन्, 'पढेर पनि नेपालमा रोजगारीका लागि भौँतारिनुपर्ने अवस्था भएपछि वैदेशिक रोजगारीका लागि जान लागेको हुँ।' बिहीवार उनले दुई वर्षका लागि मुलुक छाडेका छन्। तर, काम राम्रो भए र भनेजस्तो पारिश्रमिक पाए पाँचवर्षभन्दा ज्यादा कतारमै काम गर्ने उनको योजना छ। 'यहाँ अझ पाँच वर्षसम्म पनि केही नहुने देखियो,' उनी भन्छन्, 'त्यसकारण राम्रो आम्दानी हुने काम पाए पाँच वर्षसम्म कतारमा बस्ने योजना छ।' करिब एकलाख ५० हजार रुपैयाँ खर्चेर उनी कतार हिँडेका हुन्।
नेपाल सरकारले वैदेशिक रोजगारीका लागि एक सय आठ मुलुक खुला गरेको छ। श्रम स्वीकृति लिएर विश्वका विभिन्न मुलुकमा कामदार जानसक्ने भए पनि हालसम्म १२ वटा मुलुकमा मात्र उच्च संख्यामा कामदार जाने गरेका छन्। झाजस्तै नवलपरासीका कृष्णप्रसाद पोखरेल पनि यसै वर्ष दुबई उडेका छन्। 'दुबईमा राम्रो पैसा पाइन्छ भन्ने सुनेर त्यता लागेको हुँ,' उनी भन्छन्, 'नेपालमा अवसरको कमी भएपछि विदेश जानैपर्यो।'
कम लगानी र धेरै आम्दानीका कारण खाडी मुलुक तथा जापान, दक्षिण कोरिया, मलेसिया, इजरायल आदिलाई नेपाली युवाले श्रम गन्तव्य बनाउने गरेका छन्। पछिल्लो समयमा कोरिया, इजरायल र जापानमा पनि नेपाली कामदारको संख्या बढ्न थालेको छ। खाडी राष्ट्रहरू कतार, साउदी अरब र युएईलाई त त्यहाँ कार्यरत नेपाली कामदारहरूले 'मिनी नेपाल' भनेर नामकरणसमेत गरेका छन्। ग्रामीण क्षेत्रका युवा वैदेशिक रोजगारीमा साह्रै आकर्षित छन्।
वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या प्रत्येक वर्ष बढिरहेको छ। वैदेशिक रोजगार विभागमा श्रम स्वीकृति लिएर जानेहरूको प्रत्येकवर्षको बढ्दो तथ्यांक यसको प्रमाण बनिरहेको छ। आर्थिक वर्ष ०६८/६९ को तथ्यांकअनुसार तीन लाख ८४ हजार छ सय ६५ जना नेपाली श्रमशक्तिले मुलुक छाडेका छन्। यी सबै कामदार युवा उमेर समूहमा पर्ने वैदेशिक रोजगार विभागले जनाएको छ। आर्थिक वर्ष ०६७/०६८ मा तीन लाख ५४ हजार सात सय १६ जनाले मुलुक छाडेका थिए। अघिल्लो वर्षको तुलनामा यस वर्ष २९ हजार नौ सय ४९ जना बढी यस आर्थिक वर्षमा रोजगारीका लागि विदेश पलायन भएका छन्। आव. ०६७/०६८ मा मलेसियामा मात्र एक लाख पाँच हजार नौ सय छ जना पुगेका थिए। त्यस आर्थिक वर्षमा नेपालीलाई सबैभन्दा बढी रोजगारीको अवसर दिने मुलुक मलेसिया थियो। तर, ०६८/०६९ मा कतारमा ठूलो संख्यामा पुगेका नेपाली पुगेका छन्। 'सन् २०२२ को विश्वकपको आयोजनाको कामका लागि पनि कतारमा कामदारको उच्च माग छ,' विभागका अधिकारीहरू भन्छन्।
आर्थिक वर्ष ०६८/६९ मा मात्र नौ सय ९६ महिला तथा एकलाख चार हजार छ सय ८५ जना पुरुष गरी एक लाख पाँच हजार छ सय ८१ जना कतार, ८० हजार दुई सय १८ पुरुष तथा दुई सय ३७ जना महिला गरी ९८ हजार तीन सय ६७ जना साउदी अरब, ४९ हजार ९ सय ५९ पुरुष तथा चार हजार पाँचसय २३ महिला गरी ५४ हजार चार सय ८२ युएई गएका छन्। अन्य खाडी मुलुकको तुलनामा यी तीन मुलुक नेपाली युवाको प्रिय श्रम गन्तव्य भएका छन्। तीनै मुलुकमा निर्माण कम्पनीमा पुरुष तथा घरेलु कामदारका लागि महिलाको माग बढेको हो। खाडीकै कुवेतमा यसै आर्थिक वर्षमा १२ हजार ८० जना पुरुष तथा १२ हजार चार सय ९५ जना महिला पुगेका छन्। यहाँ हाउसमेडको कामका लागि महिलाको संख्या उच्च रहेको देखिन्छ। बहराइनमा पाँच हजार तीन सय ३३ पुरुष तथा पाँच सय ३२ महिला, ओमानमा दुई हजार आठ सय ६८ पुरुष तथा दुई सय ९५ महिला, लेबनानमा ३८ पुरुष र चार सय ७२ महिला गरी पाँच सय ७४ जना पुगेका छन्।
खाडीबाहेकका देशमा पनि रोजगारीका लागि जानेको संख्या कम छैन। मलेसियामा आव. २०६८/६९ मा मात्र ९६ हजार एक सय ५७ जना पुरुष, दुई हजार दुई सय १० जना महिला गरी ९८ हजार तीन सय ६७ जना नेपाली कामदार पुगेका छन्। केही वर्षयता कतार पनि राम्रो श्रम गन्तव्य भएको छ। यीबाहेक दक्षिण कोरियामा इपिएसमार्फत पाँच हजार तीन सय १५ जना पुरुष तथा तीन सय १२ जना महिला यसै वर्ष पुगेका छन्। इजरायलमा कमैमात्र डिमान्ड आउने भएका कारण यस वर्ष एक सय दुई जना पुरुष तथा चार सय ७२ जना महिला गरी पाँच सय ७४ जना नेपाली पुगेका छन्। पछिल्लो पटक अफगानिस्तानमा पनि श्रम स्वीकृति लिएर नेपाली कामदार जाने क्रम बढेको देखिन्छ। यसअघि युद्धका कारण रोक गरिएको अफगानिस्तानमा पछिल्लावर्षहरूमा रोजगारी खुला गरिएको छ। आव. २०६८/६९ मा आठ सय २२ जना पुरुष तथा एक जना महिला गरी आठ सय २३ जना अफगानिस्तान पुगेका छन् भने जापानमा एक हजार ३६ पुरुष र एक सय आठ महिला गरी एक हजार एक सय ४४ जना पुगेका छन्।
वैदेशिक रोजगार विभागसँग श्रम स्वीकृति लिएर जानेको आधिकारिक तथ्यांक हो यो। यसबाहेक भारतको मुम्बई तथा दिल्लीको बाटो प्रयोग गरेर जाने महिला तथा पुरुषको संख्या पनि उच्च हुने गरेको छ। झन्डै चार लाख नेपाली श्रमशक्ति प्रत्येक वर्ष विदेश पलायन भइरहेको अनुमान गरिन्छ।
वैदेशिक रोजगारीमा जानेका पीडालाई समेटेर गाइएको गीत 'आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा' अचेल रेडियोतिर त्यति बज्दैन। तर, यस देशका असंख्य छोराहरू 'रुँदै' विदेश गइरहेका छन्।
No comments:
Post a Comment