चार वर्षअघि कुवेत पुगेकी थिइन्, निर्मला चौधरी। दुई वर्ष त्यहाँ काम गरिन्। कुवेतका ती दुई वर्ष सोचेजस्ता सहज र फलदायी नभए पनि सहनै नसक्ने दुःख उनले भोग्नुपरेको थिएन। तर, जब कुवेती घरमालिकले साउदी अरबको खुरायात भन्ने ठाउँ (रियाददेखि दुई सय किलोमिटर टाढा) रहेका आफन्तको सेवा गर्न निर्मलालाई पठाएपछि उनका दुःखका दिन सुरु भए। त्यस घरका सात जना बच्चाहरूको स्याहार गर्नु त थियो नै, अन्य घरायसी कामको बोझ यति धेरै थियो कि बिहान ५ बजेदेखि राती ३ बजेसम्म अविरल (२२ घण्टा) काममा खटिनुपर्थ्यो उनले। पेटभरि खान पनि नपाउने। तलब त माग्नै नहुने।
'मैले सबै पीडा सहेर पनि काम गरिरहेकी थिएँ। पैसाको निकै आवश्यकता परेपछि एक दिन तलब मागेँ,' उनी फोनमा भन्छिन्, 'घरमालिक्नीले पिठ्यूँमा चक्कु रोपिदिइन्। त्यो घाउको खत मेरो शरीरमा अझै पनि छ।' कुटपिट त उनीमाथि बेहिसाब चल्थ्यो। शारीरिक र मानसिक यातनाको त्यो झल्कोले अहिले पनि उनको मन बेलाबखत असन्तुलित हुन्छ।
साउदीको त्यो परिवारले उनलाई दमाम शहरमा किनमेल गरेर भारी बोकाउन सँगै ल्याएको थियो। त्यही मौकाको सदुपयोग गर्दै निर्मला भागिन्। उनी सम्झन्छिन्, 'यातना सहन नसकेर नै भागेकी थिएँ। एक्लै सडकमा भौँतारिंदै गर्दा एकजना पाकिस्तानीपरिवारको सम्पर्कमा पुगेँ। त्यही परिवारले मलाई१० महिना आश्रय दियो।' उनी पाकिस्तानी परिवारप्रति आभारी पनि छिन्, जसले साउदी अरबको रियादमा रहेको नेपाली दूतावासमा सम्पर्क गरेर निर्मलाको उद्दारका लागि मद्दत गर्यो।
गएको २६ जुलाईमा उनी साउदी अरबस्थित नेपाली दूतावसमा पुगेकी थिइन्। साउदीमा रहेको संरक्षण गृहमा छिन् उनी। उनलाई नेपाल फर्काउने तयारी भइरहेको छ। उनलाई एनआरएन साउदी इकाइले उद्दार गरेको थियो।
No comments:
Post a Comment