टेकनारायण भट्टराई, पाल्पा, भदौ ४- जुवाडेबाट असुलेको जरिवाना रकम सरकारी अस्पतालका सुत्केरीमहिलाको स्वास्थ्य कोषमा जम्मा गरिएको छ। पाल्पाको दोस्रो ठूलो सहर रामपुरका दर्जन बढी होटलबाट जुवाडेलाई नियन्त्रणमा लिएर प्रहरीले कारवाही चलाएको छ।
जुवाका खालबाट छोपिनेहरुलाई एकरात हिरासतमा राखेर दुई हजार जरिवानासहित सर्वपक्षीय भेलामा माफी मगाएर छाड्ने गरिएको छ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख इन्स्पेक्टर चुराबहादुर कार्कीले आइतबार राति १० जनालाई नियन्त्रणमा लिएको बताए। 'एकैदिनमा अस्पतालको कोषमा २० हजार जम्मा गरिदियौं,' कार्कीले भने, 'सर्वपक्षीय निर्णय गरेर असाहय र न्यून आय भएका सुत्केरी महिलाको उपचार र स्वास्थ्यका लागि कोष खडा गरेका छौं।' जुवाडे, दुर्व्यसनी र यौन विकृतिमा संलग्नहरुलाई नियन्त्रणमा लिएर कारवाही थालिएको बताए।
शहरीकरण बढ्दै जाँदा जुवातास, दुर्व्यसन र यौन विकृतिहरु बढेका भन्दै प्रहरीले नियन्त्रण अभियान थालेको हो। रात्रि र दिवा गस्तीमा निस्कने प्रहरीले यहाँका शंकास्पद होटलहरुमा छापा मार्ने गरेको छ।
No comments:
Post a Comment