Tuesday, August 21, 2012

विदेशमा गएका नेपाली मृत्यु हुने कारण हृदयाघात

५ भदौ, काठमाण्डौं । विदेशमा नेपाली कामदारको मृत्युको खबर दिन बिराएर आउँछन् । मृत्युका कारण धेरै छन् तर सबैभन्दा ठूलो कारण हो हृदयाघात । दिनभरि चर्का घाममा काम गरेर बेलुकी चिसो कोठामा बस्ने र मदिरा पिउने गर्दा हृदयाघात हुने गरेको एक अध्ययनले देखाएको हो । गत आर्थिक वर्ष रोजगारीमा गएकामध्ये विभिन्न मुलुकमा ६ सय ४३ जना नेपाली कामदारको मृत्यु भएको थियो । तीमध्ये एक सय ७१ जनालाई हृदयाघात भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । मृत्यु भएका कामदारको पोस्टमार्टम र अन्य अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको बोर्डका निर्देशक टीका भण्डारीले बताए ।
बोर्डले विदेशमा मर्नेको शव झिकाउने क्रममा पनि यो तथ्य खुलेको उनको भनाइ छ । निर्देशक भण्डारीले गत आवमा विदेशमा मर्ने कामदारमध्ये बढीजसोलाई हृदयाघात नै भएको भेटिएको बताए । ‘खाडी मुलुकको तापक्रम स्वाभाविक रूपमा नेपालको भन्दा बढी हुन्छ,’ उनले भने, ‘चर्को तापक्रममा काम गर्नुपर्ने, घरपरिवारको चिन्ता र आर्थिक स्रोत जुटाउने तनावमा उनीहरू रहने भएकाले अधिकांशको सोही कारण मृत्यु भएको हो ।’
चिकित्सक पनि तनावकै कारण हृदयाघात हुने गरेको बताउँछन् । नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले मानिसको रहनसहन र खानपानले गर्दा हृदयाघात हुने गरेको जानकारी दिए ।
बोर्डका अनुसार विदेशमा मर्नेको संख्यासमेत प्रतिवर्ष बढ्दै गएको छ । अघिल्लो आव ०६७/६८ मा ५ सय ५० नेपाली कामदारको विभिन्न कारणले विदेशमा मृत्यु भएकामा यस वर्ष यो संख्या ६ सय ४३ पुगेको छ । हृदयाघातपछि प्राकृतिक रूपमा १ सय २, सडक दुर्घटनाबाट १ सय १ जनाले ज्यान गुमाएका छन् । कार्यस्थलमा काम गर्दागर्दै ४१ जनाको मृत्यु भएको बोर्डको तथ्यांक छ भने ६५ जनाले आत्महत्या गरेको र दुईजनाको हत्या भएको पाइएको छ । यस्तै, १ सय ६१ जनाको भने मृत्युको कारण नखुलेको जनाइएको छ । मर्नेमध्ये ६ सय २९ जना पुरुष र १४ महिला कामदार छन् ।
बोर्डका अनुसार गत वर्ष ११ मुलुकमा नेपालीको मृत्यु भएको आजको सौर्य दैनिकले खबर छापेको छ ।
मलेसियामा मात्र एक वर्षमा २ सय ३७ जनाको मृत्यु भएको छ । यस्तै, साउदी अरबमा एक सय ७९, कतारमा एक सय २८, युएईमा ४९, कुवेतमा २२, बहराइनमा ८, ओमानमा ६, दक्षिण कोरियामा ६, लेबनान र इजरायलमा ३/३ जना र जापानमा २ जना कामदारको मृत्यु भएको छ । उनीहरूमध्ये कतिपय सवारी तथा मेसिनरी दुर्घटना परेको त केहीले आत्महत्या गरेको बोर्डले जनाएको छ ।
बोर्डले विभिन्न घटनामा परी मृत्यु भएका तथा अंगभंग भएकालाई सो आर्थिक वर्षमा मात्र सात करोड ६५ लाख ८० हजार रुपियाँ आर्थिक सहायता वितरण गरेको छ । बोर्डले कामदार कल्याणकारी कोषबाट मृतक तथा घाइतेका आफन्तलाई सो रकम वितरण गरेको हो ।

No comments:

Post a Comment