Tuesday, July 17, 2012

मालपोत कार्यालयका हाकिम कुटिए

जनक केसी, जाजरकोट, साउन २- घरभाडाको विवादलाई लिएर मालपोत कार्यालय जाजरकोटका प्रमुख तिलकरामरिजाल कुटिएका छन्। कार्यालय रहेको घरमा बसिरहेका बेला उनलाई केही स्थानीय युवाले कुटपिट गरेका हुन्। सोमबार साझँ ७ बजे रिजाललाई मदिरा सेवन गरेका युवाहरुले कुटपिट गरी घाइते बनाएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए।
घरभाडाको विषयलाई लिएर युवाहरुले आफूमाथि हातपात गरेको मालपोत कार्यालयका प्रमुख रिजाललेबताए। उनले आफूलाई अमानवीय तरिकाले लखेटेर कुटपिट गरेको बताए। आफूलाई बचाउन गएका कार्यालय सहयोगी किशोर केसीलाई पनि उनीहरुले कुटेका थिए।
घाइते दुवै जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको भए पनि प्रमुख रिजालको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि नेपालगन्ज लाने तयारी भइरहेको बताइएको छ।
घटनापछि प्रहरीले अनुसन्धानका लागि चार जनालाई हिरासतमा लिएको छ। घटनामा संलग्न भनिएका दुई युवा फरार रहेको प्रहरीले जनाएको छ। उता स्थानीयले सोमबार राति प्रहरीले निर्दोष व्यक्तिलाई कुटपिट गरी हिरासतमा राखेको आरोप लगाएका छन्। प्रहरीले मालपोत कार्यालय रहेको घरका घरधनी लक्ष्मणबहादुर शाह तथा उनका छोरा सुशीलबहादुर शाह र अन्य दुई प्रेमबहादुर केसी र प्रयासजंग शाहलाई घटना घटाउन सहयोग गरेको भन्दै पक्राउ गरेको उनीहरुले बताए।
मालपोत कार्यालय सदरमुकाम खलंगाको गणेश टोलदेखिमाथि थाप्लेमा सर्न लागेकाले त्यसलाइ रोक्न घटना भएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment